मकै सुपरजोन दाङमा बढ्यो यान्त्रिकीकरण



काठमाडौँ । दाङ कृषि उत्पादनका लागि राम्रो जिल्लाका रुपमा परिचित छ। खासगरी उपल्लो दाङमा धानबाली र तल्लो देउखुरीमा मकै उत्पादन राम्रो हुन्छ। यस क्षेत्रको हावापानी र माटो मकै खेतीका लागि उपयुक्त भन्दै सरकारले कृषि उत्पादनमध्ये देउखुरीलाई मकै उत्पादन हुने पकेट क्षेत्र भनेर घोषणासमेत गरिसकेको छ।

परियोजनाले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था गरेको छ भने बाली र वस्तु उत्पादनमा यान्त्रिकीकरण, तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको पनि व्यवस्था गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन दाङले ७ वर्षदेखि यान्त्रिकीकरणको प्रयोग बढाएको हो।

कार्यालयले यहाँका किसानको आर्थिकस्तर उकास्न, परम्परागत कृषि प्रणालीलाई परिमार्जित गर्दै आधुनिक प्रणालीमा लैजानका लागि सुपरजोन सञ्चालक समितिको गठनसमेत गरेको छ। साथै, कृषक समूह सहकारी र उद्यमीलाई एक ढिक्का बनाइ परियोजनाले मकै खेतीमा यन्त्रिकीकरणको प्रयोग बढाएको छ।

सुरुमा कूल २८ वटा कृषक समूह, सहकारी र संस्थाका १९ हजार २ जना कृषकलाई आबद्ध गराई ९ सय ७२ हेक्टर जमिनमा यो कार्यक्रम सुरु भएको थियो। यद्यपि हाल एक सय २६ वटा कृषक संस्थाका करिब ६ हजार ५ सय कृषकले ३ हजार एक सय हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन दाङका कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिए।

प्रविधिले ल्याएको सहजता तथा लागत न्यूनीकरण

आधुनिक प्रविधि, निरन्तर कृषकलाई तालिम र कृषकको क्षमता अभिवृद्धिले मकै रोप्नेदेखि भण्डारणसम्मको काम यान्त्रिकीकरणमार्फत् हुँदै आएको छ। देउखुरी क्षेत्रमा मकै रोप्ने, खोल्साउने र छोडाउने काम ७० प्रतिशतसम्म मेसिनबाट हुने गरेको छ। मकै गोड्ने काममा पनि कतिपय किसानले मेसिनबाट गर्दै आएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ।

मकैमा यन्त्रिकरणको विकास र खर्च

कुटो, कोदाली, हलो र गोरु क्रमिकरुपमा बिस्तापित गर्दै समय र कृषकको क्षमता अनुरुप मकै लगाउने मेसिनहरु भित्रिन थालेपछि कृषकस्तरमा आधुनिक खेतीको लहर बढेको छ। किसानले मकै गोड्न ‘इन्टरकल्टी भेटर’ मेसिन प्रयोग गर्दै आएका छन् भने र मकै छोडाउन र खोल्साउन ‘डिहस्कर थ्रेसर’को प्रयोग गर्छन्। मेसिनको प्रयोगले १ महिनाभन्दा बढी लाग्ने काम एक दिनमै पूरा गर्न सकिएको किसानहरुको भनाइ छ।

एक हेक्टर जमिनमा मकै उत्पादन गर्न १ लाखदेखि १ लाख २५ हजारसम्म खर्च हुन्थ्यो तर मकै सुपर जोन कार्यक्रम लागू भएपछि मेसिनबाट खेती गर्दा ४५ हजारदेखि ६० हजार मात्रै खर्च लाग्ने गरेको दाङ राजपुर–६ का किसान रामप्रसाद चौधरीले बताए। “पहिले एक केजी मकै उत्पादन गर्न २२ देखि ३५ सम्म खर्च हुन्थ्यो भने अहिले १० देखि १८ मात्रै खर्च हुन्छ”, उनले भने, “यन्त्रिकरणले मकै खेती निकै सहज भएको छ।”

वसन्ते मकैको क्षेत्र बिस्तार र उत्पादन

देउखुरीमा करिब ६ हजार हेक्टर जमिनमा हिउँदे, वसन्ते र वर्षे मकै खेती भइरहेको छ। नेपालबाट प्रत्येक वर्ष अर्बौ रकम कुखुराको दाना बनाउनका मकै आयात भइरहेको हुन्छ। नेपालमा अझै पनि वार्षिक करिब ६ लाख टन मकै दाना उद्योगलाई अभाव भइरहेको तथ्याङ्क छ।

परियोजना सुरु हुँदा लमही नगरपालिका र राप्ती गाउँपालिकाको केरुनिया, सिसहनिया क्षेत्रका तीन सय हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाइए पनि हाल देउखुरीका ४ वटै पालिकामा बिस्तार भइसकेको छ। साथै कुखुराको दाना उद्योगका लागि पनि मकैको आपुर्ति बढेको राप्ती फिड इन्डस्ट्रिज प्रालिका अध्यक्ष लीलाराम खनालले बताए।

स्वदेशी बिउ उत्पादन र क्षेत्र बिस्तार

मकैको उत्पादन, उत्पादकत्व र क्षेत्रफल बिस्तारका साथै स्वदेशी हाइब्रिड मकैको बिउ उत्पादनमा पनि देउखुरी क्षेत्रमा सफल भएको छ। भविष्यमा देउखुरी क्षेत्रलाई स्वदेशी हाइब्रिड मकैको केन्द्रका रूपमा विकास गर्दै लैजाने उद्देश्यले पछिल्लो समय कृषक स्वदेशी मकै लगाउन सुरु गरेका छन्। विगत ३ वर्षयता ४ हेक्टर क्षेत्रफलमा स्वदेशी हाइब्रिड मकैको बिउ क्षेत्रफल विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस्