प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनबारे छलफल गरेका छन्। हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ।

साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको बताइएको छ। तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ।

गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारेमा संक्षिप्त रिपोर्ट प्रधानमन्त्री प्रचण्डलाई बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्