२०२२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको चुनौति बढ्यो



काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको पत्रकार महासंघले जनाएको छ । पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा सन् २०२२ अन्य वर्षभन्दा निकै चुनौतिपूर्ण रहेको उल्लेख गरेका छन् ।

नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ नयाँ तरिका अपनाइएको पाइएको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको छ। यसले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ चुनौती भित्रिएको छ।’ विज्ञप्तिमा भनिएको छ ।

अघिल्लो वर्षमा भन्दा फरक यो वर्ष डिजिटलमाध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको छ। अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हनन्का ५३ वटा घटना घटेका छन् । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए। ६२ वटा घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए।

सरकारले ल्याएका र ल्याउन प्रयास गरिएका सञ्चार कानून सुधारमा महासंघको निरन्तर खबरदारी हुँदा पनि ५ वर्षे प्रतिनिधिसभाको कार्यकाल सकिएको छ। सन् २०२२ मा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्धका कानून ल्याइएको छ।

संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका छन् । त्यस्ता कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ।

प्रतिक्रिया दिनुहोस्