दैनिक १५ हजार अन्डा उत्पादन, अन्डा लिन व्यापारी फार्ममै



तनहुँ । नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयर्स’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गरिरहेका छन्। जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेवस्थित उनको पोल्टी फार्ममा हाल १९ हजार कुखुरा छन्।

दिनमा १५ हजार अन्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताए। उनका अनुसार हालसम्म फार्ममा रु ६ करोडभन्दा बढी रुपैयाँ लगानी भएको छ।

उनले भने, ‘फर्ममा नौ जनाको परिवारले रोजगारी पाएका छन्’, व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने गरेको छ। उन्नाइस हजार कुखुरालाई दैनिक करिब रु एक लाख २० हजार खर्च हुन्छ। आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौँ’, उनले भने। करिब त्रिपन्न रोपनी क्षेत्रफलमा छवटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गरिरहेको उनले बताए।

फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ। म्याग्दे गाउँपालिकाका अध्यक्षलगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताए।

चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउन ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ। ‘अन्डा निर्यात पोखरा, काठमाडौं र चितवनमा गर्दै आएका छौँ’, उनले भने, ‘स्थानीय बजारले हाम्रो अन्डाको उत्पादनलाई थेग्न सक्दैनन्।’

‘चितवनको अबिनास हाइलाइन नेपालबाट चल्ला ल्याउँदै आएका छौँ। चल्ला हुर्काउन अत्यन्त जोखिम छ, निश्चित तापक्रम दिनुपर्दछ, यसका लागि खट्नुपर्छ, अथक मेहेनत र परिश्रम भए पनि यस व्यवसायबाट खुसी छौँ’, उनले भने। फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अन्डा दिने गरेको छ।

लामो समयदेखि आवद्ध हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए। ‘व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै त्यो भन्दा बढी मलाई आत्मसन्तुष्टि मिलेको छ’, सञ्चालक थापाले भने।

प्रतिक्रिया दिनुहोस्