प्रभु साह : अस्थिर कि गतिशिल ?



काठमाडौं । रौतहट– ३ बाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा जितेका प्रभु साहले बिहीबार आम जनमत पार्टी खोलेको घोषणा गरेका छन्। नेकापा एमालेबाट राजनीतिक यात्रा सुरु गरेका साह अस्थिर नेताका रूपमा मानिन्छन्।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट रौतहटको पतौरा गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएयता साहले निरन्तर निर्वाचन जित्दै आएका छन्। उनको राजनीतिक यात्रा कहिले यता त कहिले उता भइहन्छ।

करिब ३ दशकयता एमालेबाट सुरु गरेको उनको राजनीतिक यात्रा अहिले आम जनमतसम्म पुगेको छ। सशत्र द्वन्द्व मच्चिएका बेला २०५७ सालमा मौलापुर चिरचिराको खाली प्रहरी चौकीमा आगजानी गरेर फरार भएका साह त्यसलगत्तै माओवादीमा प्रवेश गरे।

त्यसबेला चौकी आगजनी माओवादीकै सहयोगमा गरेको साहलाई नजिकबाट जान्नेले भन्ने गरेका छन्। त्यही आगजनीपश्चात् सम्पर्क गरेर साहलाई माओवादी प्रवेश गराएको थियो। माओवादीमा साह मधेसी मुक्ति मोर्चाको सङ्गठनमा तराईमा खटिए । तराईमा खटिएसँगै उनी तराईमा सङ्गठन विस्तारमा लागे।

माओवादीमा हुँदा माओवादीका मधेस केन्द्रित नेता मात्रिकाप्रसाद यादवसँग उनको टकराब चल्यो। त्यो टकराबमा यादव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमामा थिए भने साह डा. बाबुराम भट्टराई खेमामा थिए।

२०६२/०६३ सालको जनआन्दोलनपश्चात् साह मधेसका परिचित माओवादीका नेताका रूपमा उदाए। माओवादीबाट २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा रौतहटबाट पहिलो पटक सांसद बने साह। पहिलो संविधानसभाले निर्वाचनले संविधान जारी हुन नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन भयो– २०७० सालमा।

पहिलो संविधानसभामा माओवादीले २२९ सिटका साथ पहिलो पार्टी भएको थियो। तर, दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी ६३ सिटसहित तेस्रो पार्टी बन्यो। माओवादीको जनलहर खस्किँदा पनि साहले भने रौतहटबाट जित निकालेका थिए। २०७० सालको निर्वाचनमा माओवादीले प्रत्यक्षमा ३६ सिट मात्र जित्दा पनि साह निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचन अगाडि माओवादी र एमाले एकता भयो। त्यो एकतापश्चात् नेकपा बन्यो। २०७४ सालको आमनिर्वाचनमा पनि माओवादीका तर्फबाट साह रौतहट– ३ बाट निर्वाचित भए। आमनिर्वाचनपश्चात् वाम एकता भएर बनेको नेकपा २०७७ फागुनमा सर्वोच्चको फैसलापछि २ चिरा भयो।

नेकपा फुटेसँगै एमाले र माओवादी अलगअलग भए। त्यसरी अलग हुँदा माओवादीबाट निर्वाचित भएका साहसहित आफ्नो खेमाका ज्वालाकुमारी साहसहित एमालेमै बसे। एमालेमै रहेका साहले गत आमनिर्वाचनमा आफ्नो पक्षलाई टिकट नदिएको भनेर एमालेले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवारी दिए।

स्वतन्त्र उम्मेदवारी दिएका साह २३ हजार ४३७ मतसहित विजयी भए। उनी विजयी भएको केही समयपश्चात् आम जनता पार्टी खोलेको घोषणा गरेका छन्। प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति पनि गठन भएको छ । ७ वटै प्रदेशका अध्यक्ष र इन्चार्ज तोकिएको छ ।

पार्टी घोषणाकै दिन अरू दलसँग एकताका लागि वार्ता टोली बनाइएको छ, जसमा उपेन्द्र साह, रामप्रीत राम र इस्लाम हावारी छन्। मधेसको नेता बन्ने महत्वाकाङ्क्षा बोकेका साह नयाँ पार्टी बनाएर माओवादीसँग एकता गर्ने तयारीमा रहेको चर्चा पनि राजनीतिक वृत्तमा छ।

उनलाई आमनिर्वाचनका बेला बनेको वाम लोकतान्त्रिक गठबन्धनले पनि सहयोग गरेको थियो। त्यही सहयोगमा उनले निर्वाचन जितेको भन्ने गरेका थिए।

उनी निर्वाचनपश्चात् पनि माओवादीमा आउन चाहेका माओवादी नेताहरूले बताउँदै आएका छन्  तर, साह मात्र पार्टी प्रवेश गर्दा उनीसँग लाग्ने नेता तथा कार्यकर्ता व्यवस्थापन गर्न नसकिने भएकाले उनले पार्टी खोलेर आउन चाहेको चर्चा छ।

भोलिको दिनमा कसरी पार्टी अगाडि बढाउँछन् वा उनको राजनीतिक यात्रा पुनः कता मोडिन्छ ? त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्