उतारचढावबीच १७.२४ अंकले बढ्यो नेप्से



काठमाडौँ। कारोबार अवधिभर तीव्र उतारचढाव देखिएको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुरुवाती समयमा उच्च वृद्धि भएपनि त्यसपछि लगातार उतारचढाव देखिएको नेप्से १७.२४ अंक (०.८५ प्रतिशत)ले वृद्धि भएर २०४६.२६ अंकमा बन्द भएको हो।

नेप्सेमा तीव्र उतारचढाव देखिँदा कारोबार रकम पनि बढेको छ। नयाँ सरकार गठनसँगै गत साता र आइतबार पनि सुरुवती समयमा बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम पनि ४ अर्ब नाघेको छ। गत बिहीबार नै चार महिना याताकै उच्च बिन्दुमा पुगेको नेप्से आइतबारको ‘इन्ट्रा-डे’ मा ५४ अंकको वृद्धि हुँदा २०८३.१९ अंकसम्म पुगेको थियो।

७ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से गत साता र आइतबारको ‘इन्ट्रा–डे’ को उच्च बिन्दुमा पुग्दा करिब २१६ अंकले वृद्धि भएको थियो। छोटा अवधिमा नै नेप्सेमा उच्च वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्न खोजेपछि आइतबार ५४ अंकभन्दा माथिले वृद्धि भएको नेप्से अन्तिममा करेक्सन भएर १७ अंकको वृद्धि सहित बन्द भएको छ। जसले आइतबार कारोबार रकम पनि उच्च भएको छ। आइतबार सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ८० हजारको कारोबार भएको छ।

नेप्से दोहोरो अंकले बढेपनि वित्त कम्पनी र विकास बैंक उपसूचकमा भने गिरावट भएको छ। जीवन बीमा उपसूचक २.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.०४ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.२० प्रतिशतले गिरावट भएको हो।

आइतबार ४ अर्ब माथिको कारोबार हुँदा नबिल बैंकको २३२ करोड ५७ लाख ४९ हजारको कारोबार भएको छ। त्यस्तै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८८ लाख १ हजार र हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजारको कारोबार भएको छ।

नेप्सेमा आइतबार कुल २१२ कम्पनीको सेयर कारोबार हुँदा १२१ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ। त्यस्तै ८७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ।

आइतबार कारोबार भएकोमध्ये श्रृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा खप्तड र धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। त्यस्तै अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ।

यता एनआएन इन्फ्रास्ट्रचर एण्ड डेभलमेन्ट लिमिटेडको सेयरमूल्य ३.८४ प्रतिशतले गिरावट हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ३.८४ प्रतिशत र रिभर फल्स पावरको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट भएको छ।

यस्तै सिद्धार्थ इक्वीटी फण्डको इकाइमूल्य ५.५७ प्रतिशत र साये ८ प्रतिशत ब्याजदरको नेपाल बैंक् डिवेञ्चरको मूल्य ३.९२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्