मितव्ययी बन्न र स्रोतसाधनको दुरुपयोग नगर्न कर्मचारीलाई भौतिक मन्त्रीको निर्देशन



काठमाडौैं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीलाई मितव्ययी बन्न र स्रोतसाधनको दुरुपयोग हुन नदिन निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथ लिएको करिब एक सातापछि मन्त्रालय पुगेका मन्त्री श्रेष्ठले समयको पालना गर्दै कार्यालयमा समयमै उपस्थित हुन कर्मचारीलाई निर्देशन दिएका छन् ।

गत सोमबार मन्त्रालयमा पुगेर पदबहालीपछि मन्त्रालय गएका थिएनन् । अस्वस्थ भएको भन्दै मन्त्री श्रेष्ठ घर बसिरहेका थिए । आइतबार मन्त्रालय पुगेका उनले समग्र मन्त्रालय भवनको अनुगमन गरेका छन् । शौचालय, विभिन्न शाखामा राखिएका प्रिन्टर र कम्प्युटरको अनुगमन गर्दै फोहोर र धुलो देखेपछि सफा गर्न निर्देशन समेत दिएका छन् । त्यस्तै मन्त्रालयका सचिव, विभिन्न महाशाखा प्रमुखहरूसँग मन्त्रालयको योजनाबारे जानकारी लिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव पुरन केसीले बताए ।

यातायात व्यवस्था विभाग, रेल विभागका महानिर्देशकले विभाग अन्तर्गत भइरहेका कामहरुका सम्बन्धमा जानकारी गराएका छन् । केही दिनभित्रैमा यातायात व्यवस्था विभाग र रेल विभागमा रहेका समस्या समाधानका उपायको प्रस्ताव ल्याउन मन्त्री श्रेष्ठले निर्देशन दिएको केसीले बताए । कुनैपनि कर्मचारीले कार्यालय छोड्दा वा नआउँदा त्यसको रेकर्ड राख्नुपर्ने, कुनै पनि कामको फाइल कहाँ, कहिले कस्तो अवस्थामा छ रेकर्ड राख्ने र त्यसको काम हुनेरनहुने तुरुन्त निर्णय गर्न, गराउन मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । कर्मचारीलाई अनावश्यक दवावमा परेर कुनै पनि काम नगर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले अप्ठ्यारो परे आफूलाई सिधै जानकारी गराउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्