अपराध नियन्त्रणका लागि प्रहरी-स्थानीय तह सहकार्य



विराटनगर : विराटनगर महानगरपालिका र प्रदेश नं. १ प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि सहयोग आदानप्रदान गर्ने भएको छ । महानगरका मेयर भीम पराजुली र प्रदेश नं. १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत सो सम्बन्धी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । 

समझदारी पत्रमा सबै खाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । एकअर्काको सहयोग र सहकार्यले नै अपराध रहित समाजको निर्माण गरेर अघि बढ्न सकिने दुवै निकायको निष्कर्ष छ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै डीआईजी रिजालले शान्ति सुरक्षा र अमन चयन कायम राख्न सुरक्षा निकाय, स्थानीय तह र सरोकारवालाबीच सहकार्यको खाँचो औँल्याए । प्रदेश भरका स्थानीय तह र सम्बन्धित जिल्ला प्रहरी कार्यालयबीच सहयोग आदान प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको उनको भनाइ छ । 

‘स्थानीय तह र समुदायको पनि सहभागिता र सक्रियताबिना समाजमा हुने अपराध प्रहरी एक्लैले नियन्त्रण गर्न सम्भव हुँदैन,’ उनले भने, ‘त्यसैले स्थानीय तहसँग समझदारी गरेर अघि बढ्ने गरी प्रयास गरेका हौँ ।’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रहरीले अपराध नियन्त्रणका लागि समुदायसँग साझेदारी गर्न ल्याएका विभिन्न कार्यक्रमहरू सान्दर्भिक रहेको उल्लेख गरे । 

‘प्रविधिको विकाससँगै अपराधका प्रकृति पनि फेरिँदै गएका छन्,’ उनले भने, ‘यस्ता कार्यक्रममार्फत सबै खाले अपराध नियन्त्रणका लागि प्रहरीलाई गर्ने सहयोगमा स्थानीय तहबाट कुनै कन्जुस्याई हुने छैन ।’ 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले स्थानीय तह र समुदायसँगको सहकार्यमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गराउने काममा ठूलो सहयोग पुगेको बताए । 

अनुसन्धान तथा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सहज बनाउने उद्देश्यले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको आयोजनामा कात्तिक ११ गते देशव्यापी रुपमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सुरु गरिएको थियो । यसले शान्त र सभ्य समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्