६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुग्यो नेप्से



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ। निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ।

बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। यो ३.१५ प्रतिशतको वृद्धि हो। बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ। यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ। बुधबार सबै उपसूचकमा हरियाली छायो। सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए। यो उपसूचकमा ९.७४ प्रतिशतको उछाल आयो।

बुधबार ८ वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लाग्यो। यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन्। कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो।

उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए। सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो। बुधबार हिमलयन डिष्ट्रिलरी, सानिमा माइ हाइड्रो, नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीको सर्वाधिक कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्