युरोप र अमेरिकाको अफर त्यागेर साउदी आएको हुँ : रोनाल्डो



काठमाडौँ। क्रिष्टियानो रोनाल्डोले युरोप र अमेरिकाले गरेको अफर त्यागेर आफू साउदी आएको बताएका छन् । साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुको प्रस्तावलाई त्यागेर आफू साउदी आएको बताए ।

एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो। पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो।

‘म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु। अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो।’

अल नासरबाट रोनाल्डोले इतिहासमै सबैभन्दा धेरै पारिश्रमिक पाउनेछन्। सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन्।

रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्, ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु। मलाई युरोपमै धेरै अवसर थियो। ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए।’

५ पल्ट बेलोन डी’ओर अवार्ड जितेका रोनाल्डोलाई तालीको गडगडाहटका साथ उनकै परिचित ‘सिउउ..’ सेलिब्रेसनद्वारा स्वागत गरिएको कार्यक्रममा पत्रकारहरुले प्रश्न गर्ने अवसर पाएनन् । उनले क्लबकै एक अधिकारसँग सार्वजनिक बातचित गरे।

प्रतिक्रिया दिनुहोस्