सरकारलाई डा.केसीको प्रश्न : अपराधीको स्थान संसद् हो कि जेल ?



काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ । आइतबार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लोकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए । विरोध कार्यक्रममा बोल्दै डा.गोविन्द केसीले अपराधीलाई कारवाही गर्ने भनेको १ वर्ष बितिसक्दा समेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताए ।

उनले सरकारले अपराधीलाई कारवाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताए । उनले देशमा अपराधीको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गरे । डा.केसीले राजनीति शुद्धीकरण हुनुपर्नेमा भ्रष्टीकरण र अपराधिकरण भइरहेको बताए । उनले राजनीतिक अपराधीहरुले चलाउने ठाउँ भएको बताए ।

उनले भने, ‘कारवाही गर्ने भनेको १ वर्ष भइसक्यो तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत लगिएको छैन । उल्टो टिकट दिएर सांसद बनाइएको छ । अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टीकरण र अपराधीकरण अरु के हुन्छ । राजनीति शुद्धिकरण हुनुपर्छ । राजनीति भ्रष्टीकरण र अपराधीकरण गर्नेहरुको छ । चरमसीमामा गरिएको छ । राजनीति भनेको अपराधीहरुले चलाउने भएको छ ।’

विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् । उनले अपराधीलाई तत्काल कारवाहीको दायरामा ल्याउन आग्रह गरिन् । उनले भनिन्, ‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ । जसकारण पीडकले सजाय पाउन सकेको छैन, पीडित मर्नु परिरहेको छ । अनुसन्धानमा प्रहरीले समेत प्रभाव पारेको छ ।’

आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले आज (आइतबार) माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजी गरेका थिए । अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्व बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्