सरकारलाई समर्थन गरेका प्रभु र अमरेशकुमार प्रतिपक्ष बेञ्चमा बस्ने



काठमाडौँ। रौतहट-३ बाट निर्वाचित प्रभु साह र सर्लाही-४ बाट निर्वाचित अमरेशकुमार सिंहले संसद्मा प्रतिपक्ष बेञ्चको माग गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार निर्माणमा साथ दिने भएपनि उनीहरुले संसद्मा प्रतिपक्षको बेञ्च माग गरेका छन् ।

पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवलायलाई आफूहरु प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन्। संघीय संसद सचिवालयका अनुसार सांसदहरुलाई सोधेर सिट व्यवस्थापन गरिएको छ। सचिवालयका अधिकारीहरुलाई सांसदद्वय सिंह र साहले प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका हुन्।

उनीहरु दुबै जना प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुस १० गतेसँगै शीतलनिवास गएका थिए । उनीहरुले समेत समर्थन गर्ने भएपछि प्रधानमन्त्री दाबी गरिएको पत्रमा दुवैको नाम अन्तिममा हातैले लेखिएको थियो ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका प्रभु साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। रौतहट ३ बाट उनको यो लगातार चौथो जित हो। २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्।

साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए। संविधानसभामा २०६४ र २०७० मा निर्वाचित भए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए। तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहले मनोनयन दर्ताको दिन एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । हाल उनले आम जनता पार्टी खोलिसकेका छन् ।

अर्का स्वतन्त्र सांसद अमरेशकुमार सिंह बागी उठेर चुनाव जितेका सांसद हुन्। पार्टीले टिकट नदिएपछि सर्लाही क्षेत्र ४ बाट स्वतन्त्र चुनाव लडेका कांग्रेसका बागी उम्मेदवार सिंहले कांग्रेसकै उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन्।

यस्तै, स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन्। मोरङ क्षेत्र ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार मण्डल विजयी भएका थिए।

योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्