कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिंदै



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको बिहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीको सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी रहेको छ । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली काँग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै काँग्रेसले बहिष्कार गर्ने बताएको हो ।

कोशीमा नेपाली काँग्रेस प्रदेश संसदीय दलको बैठक सोमबार बिहान ८ बजे बस्दै छ । दलको बैठकले प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप निर्णय गर्ने जनाइएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।

२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक९एक नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्