प्रदेश–१ सरकारमा माओवादी सहभागी नहुने



विराटनगर । प्रदेश नं १ सरकार गठनमा समर्थन गरेको नेकपा (माओवादी केन्द्र) सरकारमा भने सामेल नहुने भएको छ । केन्द्रमा मुख्यमन्त्रीको आलोपालो सहमति नभएपछि माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हो।

आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा आलोपालो नेतृत्व गर्ने सहमति गरेर आएको तर त्यो लागू हुने अवस्था नदेखिएकोले आफूहरु सरकारमा नजाने निर्णय लिएको बताए । “आलोपालो गर्ने सहमति नभएसम्म हामी सरकारमा जादैनौँ,” उनले भने।

आङ्बोले काठमाडौंमा प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुने सहमति गरेको आइतबार विराटनगरमा बताएका थिए। तर, त्यस विपरित केन्द्रीय नेताहरुको बैठकले प्रदेश–१ सरकारको नेतृत्व पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको छ।

आङबोले प्रदेशको नेतृत्वको विषयमा निर्णय उल्ट्याइएको विषयमा आफूहरुको समर्थन नरहेको सुनाए। प्रदेश–१ मा केन्द्रीय भागबण्डाअनुसार मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई दिने निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्