पीएसजीको जितमा मेस्सीको गोल



काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। खेलको ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० गोलको जित दिलाए।

जितसँगै पीएसजीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । लिगमा १८ खेल खेलेको पीएसजीको ४७ अङ्क छ । दोस्रो स्थानको लेन्सको ४१ अङ्क छ । पराजित एन्जर्स ८ अङ्क जोडेर तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्