प्रदेश १ मा सभामुख चयन आज



विराटनगर । १ नम्बर प्रदेशको सभामुखको निर्वाचन बिहीबार हुँदैछ। सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको छ। प्रदेशसभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि बिहीबार बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ।

बैठकले गौतम निर्वाचित भएको घोषणा गर्नेछ। प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

माओवादी उम्मेदवार गौतमलाई सत्तापक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। प्रदेश सभाको पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए।

दोस्रो कार्यकालमा गौतम सभामुख बन्नेछन्। प्रदेशको उपसभामुखको निर्वाचन पुस ३० गतेका लागि तोकिएको छ। सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा प्रदेशको मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ।

बिहीबारै गौतमले शपथ लिनेछन्। संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम हुनेछ। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन्।

प्रतिक्रिया दिनुहोस्