यो गठबन्धन टिकाउनै पर्ने बाध्यता छ : एमाले उपमहासचिव ज्ञवाली



काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराए ।

उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको मागसमेत गरे । नभए निर्वाचनअघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उनले टिप्पणी गरे । उनले राजनीतिक स्थायित्वका लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको बताए ।

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाइन्सहरू टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्