विमान दुर्घटना : ६९ जनाको शव भेटियाे, ३ बेपत्ता (सूचीसहित)



काठमाडौँ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।

तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ। ३ जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको शाहीले जानकारी दिए। रात पर्दै गएका कारण आजै सबै शव खोज्न समस्या हुन सक्ने उनले बताए ।

प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभए शाहीले बताए ।

‘खोंचमा ३ जनाको शव देखिएको छ। तर निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्‍यौं। तर त्यसबाट पनि सम्भव भएन।’

यस्तै ३ जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको पनि खोजी भइरहेको छ। घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको शाहीले बताए ।

आइतबार बिहान साढे १० बजे काठमाडौँबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेकामध्ये ५ जनाको सनाखत भएको छ। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ।

प्रतिक्रिया दिनुहोस्