सुरक्षित हवाई सेवा सुनिश्चित गर



काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (गत १७ पुस) पोखरेली बासिन्दा र आमनेपालीका लागि स्मरणीय रह्यो । देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनसँगै पोखराबाट सोझै अन्तर्राष्ट्रिय उडान हुनुपर्ने पोखरेली नागरिकको ५ दशकअघिको सपना पूरा हुँदै गर्दा खुसी छचल्किनु स्वाभाविक थियो।

नयाँ विमानस्थल उद्घाटन भएको १५ दिनमा पोखरेली मात्रै होइन, आमनेपाली स्तब्ध हुने हवाई दुर्घटना भएको छ। काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर विमानमा सवार ७२ जनाको मृत्यु भएको छ । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ रुसी, २ कोरियाली, १ अर्जेन्टिनी, १ अस्टेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक थिए।

बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन एएनसी कलसाइन भएको जहाज आइतबार बिहान १०ः५० बजे अवतरण गर्ने क्रममा सेती खोँचबाट अन्तिम पटक पोखरा विमानस्थलको टावरसँग सम्पर्क भएको थियो । हवाई दुर्घटना विमानको प्राविधिक गडबडी र विमानस्थलको भू–बनोटले पनि हुने गर्छ । तर आइतबार यतीको जहाज सबै मापदण्ड पूरा गरेर उडेकाले मौसम र विमानस्थलको प्राविधिक पक्षलाई दोष दिनुपर्ने कारण नरहेको पोखरा विमानस्थलका अधिकारीहरू बताउँछन् । यतीकै यही एटीआर जहाजले गत १७ पुसमा पोखरा विमानस्थलमा डेमो उडान गरेको थियो ।

जहाज उडान र अवतरणका क्रममा रनवेबाट बाहिरिने, चरा र अन्य जीवजन्तुसँग ठोक्किने जस्ता सानातिना दुर्घटना विगतमा पनि अन्य क्षेत्रमा हुने गरेका थिए । तर, आन्तरिक उडानमा सबैभन्दा ठुलो ७२ सिटको जहाज दुर्घटना भएको यो पहिलो घटना हो । आन्तरिक उडानतर्फ पोखरामा भएको दुर्घटना नेपाली हवाई इतिहासमा ५०औँ हो । नेपालमा हवाई सेवा सुरु भएयता अहिलेसम्म १०४ वटा दुर्घटना भएका छन् । यो सङ्ख्या आन्तरिक र अन्तर्राष्ट्रिय उडानसहित हेलिकोप्टरसमेतको हो । यसअघि गत १६ जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो । दुर्घटनाको कारण पहिचान गर्न, आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने वा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार गर्न आयोगलाई ४५ दिनको समय तोकिएको छ । साथै मन्त्रिपरिषद्ले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण तथा अनुगमन गर्न नागरिक उड्डययन प्राधिकरणलाई जिम्मेवारी तोकेको छ ।

हरेक पटकका हवाई दुर्घटनापछि सरकारले जाँचबुझ आयोग बनाउने गरेको छ। तर आयोगले गर्ने अध्ययन र तयार गर्ने प्रतिवेदनको कार्यान्वयनका उदाहरण छैनन् भन्दा फरक पर्दैन। त्यसैले समिति तत्कालको जनगुनासो सम्बोधन गर्न नियमित औपचारिकतामा सीमित हुनु हुँदैन। विगतमा झैँ चालक दलका सदस्यलाई दोष दिने र समितिले औँल्याएका कमीकमजोरी कार्यान्वयन नगर्ने नियति दोहोरिनु हुँदैन।

हवाई सेवालाई सुरक्षित, व्यवस्थित, गुणस्तरीय बनाउन सरकार र नियामक निकायहरू गम्भीर बन्नुपर्छ। सबै विमानस्थललाई चुस्त सूचना प्रविधिमैत्री बनाउँदै वर्षौं पुराना विमान नियमित उडान योग्य भए÷नभएको प्राविधिक पाटो जाँचबुझ गर्न ढिलो भइसकेको छ। यसतर्फ अबिलम्ब सम्बन्धित सरोकारवालको ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस्