सर्वाेच्चलाई गृहमन्त्री लामिछानेको जवाफ : म नेपाली नागरिक नै हुँ, नेपाली नागरिकता त्यागेको छैन



काठमाडौं । गृहमन्त्री रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

लामिछानेले बुझाएको लिखित जवाफमा उक्त रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दावी गरेका छन् ।

उनले लिखित जवाफमा भनेका छन्, नागरिकता ऐन, २०६३ को दफा ११ ले “कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछू भनी उल्लेख गरेको तथा उक्त दफा ११ बमोजिम नेपाली नागरिकता कायम गर्ने कार्यविधिको बारेमा नियमावलीको नियम ११ मा उल्लेख गर्दा ऐनको दफा १० को उपदफा (१) अनुसारको कायम नरहेको नागरिकता बारे कुनै पनि कार्यविधि उल्लेख नगरी….नागरिकता त्यागी विदेश गएको कुनै ब्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा….भन्ने उल्लेख गर्दै नागरिकता त्यागेको निस्सा सहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको पाईन्छ । म लिखित जवाफवालाले नेपाली नागरिकता त्यागी विदेश अमेरीका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधि अनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउदैन ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षबाट पनि सर्वोच्चमा लिखित जवाफ दिइएको छ । जवाफमा भनिएको छ, अहिले यस पार्टीको लोकप्रियता बढ्दै गएको बेला पार्टिका अध्यक्षको नागकिताको बिषय उठाई, पार्टिको लोकप्रियतालाई निवेदकहरुले विषयान्तर गर्न खोजेएको मात्र हो । अतः माथिका उल्लेखित आधार प्रमाण, सम्मानित श्री सर्वोच्च अदालतबाट प्रतिपादीत नजिर सिद्धान्त तथा प्रचलित कानुन समेतको मुल्याँकन गरि राजनैतिक उद्देश्यबाट प्रेरित रहेको विपक्षी निवेदकको निवेदन पत्र खारेज गरी न्याय दिलाई पाउँ ।

प्रतिक्रिया दिनुहोस्