बिहेमा बढ्दो विकृति



  • मञ्जु भट्ट

काठमाडौं । दिन, महिना, साइत हेरेर बिहे गर्नेहरूका लागि माघ महिना सुरु भइसकेको छ। कतिपय बिहे दसैँको टीकाको साइतमा समेत सम्पन्न गरिन्छन्। बिहेका लागि भन्दै कतिपयले लामो समयदेखि तयारी गरिरहेका हुन्छन् । गएको वैशाख महिनामा मलाई पनि धेरै वर्षपछि गाउँको बिहेमा सामेल हुने अवसर जुर्‍यो।

१० वर्षअघि हुने गरेको बिहे र अहिलेको बिहेमा आकाश–पातालको फरक देख्न पाइयो। पहिलेपहिले गाउँघरमा हुने गरेका बिहेहरू पैदल हिँडेर गन्तव्यमा पुग्नुपर्ने भएकाले २ दिने हुने गर्थे। तैपनि अहिलेको जस्तो खर्च हुँदैनथ्यो । छोराको बिहे हो भने जन्ती जानेलाई मात्रै त्यो दिन दालभात खुवाएर पठाइन्थ्यो । रत्यौली खेल्नेहरू पनि घरमै खाएर जान्थे । प्रसादका रूपमा केही मिष्ठान्न बाँडिन्थ्यो।

बेहुली लिएर फर्किने अर्को दिन जन्ती जानेहरूसहित गाउँभरिका सबैलाई पेटभरि दालभात, माछामासु वा पुरी–तरकारी, हलुवा जसलाई जे खान मन लाग्छ, त्यही खुवाइन्थ्यो। बिहेमा जान नसक्ने बूढापाका, बिरामी, सुत्केरी, महिनावारी वा छुतक (कसैको घरमा मान्छे मरेको) भए उनीहरूको घरमा एक–एक गरी बिहेको खाना पुर्‍याइन्थ्यो। बाँकी सबै जन्ती भएको घरमा नै गएर खानपिन गर्थे। बिहे गर्नेहरूलाई ऋण काढेर धेरै खर्च गर्नुपर्ने बाध्यता हुँदैनथ्यो।

हुन त यति गर्न पनि सबै गाउँले सक्षम भने हुँदैनथ्ये। जेनतेन खेतमा फलेका अन्नले दुई छाक गुजारा गर्ने गाउँलेलाई बिहेमा गाउँभरिकालाई बोलाएर खुवाउँदा सकस हुने गथ्र्यो र कतिपयलाई अहिले पनि हुन्छ । यसैले त बिहेका लागि निकालेको ऋण वर्षौंसम्म तिरिरहन्थे र अहिले पनि तिरिरहन्छन् । गाईभैँसी पालेर बेचेको दूध, घिउबाट कमाएको पैसाले लत्ताकपडा, साबुन, चिनी, छोराछोरीलाई स्कुल पढाउनै मुस्किल हुन्थ्यो । यस्तोमा लाखौँ खर्च गरेर बिहे सम्पन्न गर्न ऋण नै निकाल्नुपथ्र्यो र अहिले पनि परिरहेको छ नै ।

यसैले त ऋण गरी ४–५ वटा सन्तानको बिहे गर्दासम्म ब्याजको स्याजले नउम्कने गरी आमाबुबालाई बाँचुन्जेलसम्म पिरोल्ने गर्छ। बिहेमा निम्तो मान्न आउनेहरूबीच पनि गरगहना, लत्ताकपडा देखाउने होड नै चल्छ । उनीहरूका बीच गरगहना नहुनेहरू मन अमिलो पार्दै बसेका हुन्छन्। यसपालि कारणवश वैशाखमा घर जाँदा एकजना भाइको बिहेको रमझम चलिरहेको थियो। बिहे त एकदिने नै थियो तर बिहेको भोज भने ४ दिनसम्म चलेको देख्दा अचम्म लाग्यो।

यो हिसाबले एक छाक खानका लागि अरूको खेतमा काम गर्नेहरूले कसरी छोराछारीको बिहे गर्न सक्छन् होला जस्तो लाग्यो । २ दिनमा सम्पन्न हुने बिहे एक दिनमै सम्पन्न हुँदा खर्च पनि आधा घट्नुपर्ने हो । तर खर्च भने त्यसको २ गुणाभन्दा पनि बढी हुँदोरहेछ अचेल। गाउँले भाषामा रतेडी (रत्यौली) को दिनमा बेलुकी ३० जनाभन्दा बढीलाई सेलरोटी, पुरी–तरकारी पकाएर खुवाएपछि रातको १–२ बजेसम्म नाचगान चल्दोरहेछ । अर्को दिन १५ जना केटीहरूलगायत ५० जनाभन्दा बढी जन्ती जानेहरूलाई दालभात, तरकारी, अचारलगायत खुवाएर पठाएको देखेँ ।

बेलुकीतिर बेहुली लिएर जन्ती फर्किंदा जन्ती जाने सबैलगायत ८–१० जना भान्सेहरूलाई समेत गरी झन्डै १०० जनालाई दालभात, तरकारी नै खुवाइँदो रहेछ । बेहुली भित्र्याउँदा शुभसाइतको रूपमा सगुन, फाग गाउने महिलाहरूलाई छुट्टै चोखो खानपिनलगायत लुगाफाटा, मिठाई वा पैसाको व्यवस्था गर्नुपर्ने रहेछ। बिहे भोज यतिमै सीमित नहुँदो रहेछ अचेल । यतिसम्मका कार्यक्रम त पहिला पनि हुने गर्थे नै।

अहिले मान्छेहरू आधुनिक हुँदै जाँदा शहरको सिको गर्नाले झनै विकृति बढेको देखियो। यतिले नपुगेर आजभोलि त बिहेको लगत्तै अर्को दिन पार्टीसमेत दिने चलन पो चलेको रहेछ। पार्टीमा फलफूल, मिठाई, जुस एकातिर राखिन्छ भने अर्कातिर मासु, दालभात, तरकारी, अचार राखिएको हुन्छ। त्यसमा पनि भात नखानेहरूका लागि सेलरोटी, पुरी–तरकारी, हलुवा छुट्टै चुलोमा पकाइन्छ। मासु नखानेहरूका लागि चोखो पारेर छुट्टै पकाइन्छ।

यतिले मात्रै युवा, लोग्ने मानिसहरूलाई पार्टीको मजा आउँदैन। रत्यौलीको बेलुकीदेखि पार्टीको रातिसम्म ब्रान्डेड बियरका बोतल नखोली पार्टी हुँदैन, नाचगान चल्दैन। रगत पसिना बगाई जम्मा गरेको पैसा पानीमा मिसिएको देख्दा आमाबुबाको मन कुँडिन्छ। बिहेमा सामेल भई नाचगान गर्न नसक्ने तर रक्सीमा मात्तिनेहरू घरमै बोत्तल मगाउँछन्। बिहेको दिनमा म दिन्नँ है भन्न गाह्रो हुने हुँदा सबैले आ–आफ्नो ठाउँबाट फाइदा लिइरहेका हुन्छन् । कतिपय महिलाहरू पार्टीमा पेटभरि खाएर पनि अझै खाना पोको पार्दै घरतिर हिँडेका देखिन्छन् । केही महिलाले ‘मैले खान सकिनँ, घरमा बाख्राले खान्छ’ भन्दै पोको पारेर सेलरोटी, हलुवा लगेको यही बिहेमा देख्न पाएँ । यद्यपि बिहेको घरमा पनि गाईबस्तु छँदै थिए । जुठो खाना घरसम्म बोक्नै पर्दैनथ्यो।

खर्च यतिमा मात्रै सीमित हुँदैन । मनोरञ्जनका लागि बोलाइएका दमाई, छलियाहरूको ४०, ५० हजारको छुट्टै प्याकेज हुन्छ। बिहेको सिजनको बेला भिडियो खिच्नेहरू नेपालमा नपाइएपछि भारतको झुलाघाटबाट समेत बोलाइएका हुन्छन्। २ जनालाई कम्तीमा ३ दिनसम्म खुवाई, पियाई उनीहरूलाई पनि हिँड्ने बेला महँगो शुल्क तिर्नुपर्छ। अझै पनि बिहे सकिएको हुँदैन। अन्तमा सबैकुरा राम्रोसँग सम्पन्न भएकाले बिहेको घरमा कथा (पूजा) राखिन्छ । पूजामा नजिकका २०–३० जना आफन्तलाई फेरि पनि बोलाएर खुवाउने चलन छ।

रत्यौलीको रातिदेखि कथाको दिनसम्म ब्राह्मणले ठाउँठाउँमा यो र त्यो नाममा चढाउन लगाउने पैसाबाहेक उनीहरूलाई दिनुपर्ने दक्षिणा पनि कम छैन। इमोसनल ब्ल्याकमेल भनेजस्तै ब्राह्मणहरूले पनि चान्समा कसरी लुट्नुपर्छ भन्ने जानेका हुन्छन्। कतिपय ब्राह्मणहरूले दाजुभाइ वा दिदीबहिनीको बिहे एउटै मण्डपमा हुन सक्दैन भन्ने गरेका छन् भने कतिपयले एकै दिन वा एक दिन बिराएर पनि गर्न सुझाएका हुन्छन्।

पार्टीलगायत अन्य खर्चहरू घटाउन कतिपयले एकै दिन वा दिन बिराएर घरका २ जनाको बिहे गर्न चाहे पनि ब्राह्मणहरूले गर्न सम्भव नभएको, अनिष्ट हुने डर देखाउँदा स्थगन गर्नुपरिरहेको देखिन्छ। यो पनि ब्राह्मणहरूको व्यस्ततामा भर पर्ने गर्छ। बेहुली पक्षतिर आफूले सकेजति वा चलनचल्तीअनुसार दाइँजो दिने चलन रहेकाले खर्च धेरै नै हुन्छ। बेहुला पक्षलाई पनि बेहुलीको घरमा मण्डपमा फेरा लगाउने समयमा बेहुलाले बेहुलीका लागि के–कस्ता गहना, कति महँगा लुगाफाटा किनेर ल्याएको छ भन्दै ठुल्ठुला आँखाले हेर्ने चलनले झनै खर्च बढाएको छ। बेहुला पक्षलाई बेहुलीको घरमा जुत्ता लुकाउनेलाई दिने पैसासँगै बेहुलीका साथीसङ्गी छुटाउन पनि पैसा दिनुपर्छ ।

साथै आफ्नै घरमा पनि गाउँभरिका छोरीबेटीलाई गच्छेअनुसार दक्षिणा दिनुपर्छ। ती भाइको बिहेमा पनि बिहेमा आउने आफन्त र ससुरालीमा जोडिएका नयाँ–नयाँ नातेदारका लागि दिन भन्दै भारतको मुम्बईबाट आफन्तसँग साडीमात्रै ३० वटा मगाएको देख्दा तीनछक परेँ। ५ वर्षअघि महँगो ब्याजमा ऋण काढेर बाजागाजासहित धूमधामले बिहे गरेका एकजना भाइ अहिले ऋणको बोझले घर न घाटका भएका छन् । पैसा माग्न आउनेहरूलाई ऋण लिएको पैसा फिर्ता गर्न नसक्दा उनी पत्नीसहित घर छाडेर अन्यत्रै हिँडेका छन् । अहिले उनले बिहेमा निकालेको ऋणको बोझले आमाबुबालगायत स्कुल पढ्ने भाइबहिनीहरूलाई समेत पिरोल्ने गरेको छ ।

यो एउटा उदाहरणमात्रै हो । गाउँदेखि शहरसम्मै बिहेमा अनावश्यक खर्च गर्दा कतिपयलाई लामो समयसम्म पछुताउनु परिरहेको छ। बिहे भएकामा खुसी नभई ऋणको बोझमा बाँच्नुपर्दा जीवन निरस र अशान्त हुन पुग्छ। आफन्तबाट लिएको ऋणमा बाँच्नुपर्दा पलपल मरेर बाँच्नुपरिहेको हुन्छ। हुनेखानेहरूले बिहे, भोज, भतेरको निहुँमा जति खर्च गरे पनि फरक पर्दैन । मरेर के नै लानु छ र भन्दै धनीहरूले खर्च गर्ने निहुँ खोजिरहेका हुन्छन् । धनीहरूबाट त्यसरी मनलाग्दी गरिने खर्चले समाजमा विकृति फैलाइरहेको उनीहरूलाई पत्तै हुँदैन।

एउटै समाजमा पनि कोही धनी, कोही गरिब हुन्छन्। एउटाले लाखौँ, करोडौँ खर्च गरेर बिहेबारी गर्दा त्यही समाजमा बस्ने अर्काको पालो आउँदा के गर्ने भन्दै पिरोलिएका हुन्छन् । यसकारण धेरै खर्च गर्न सक्ने आफ्नो हैसियत नभए पनि समाजमा टिकिराख्न चर्को ब्याजमा ऋण काढेर बिहे गर्नेहरूको कलेजो खाइरहेको हुन्छ। ओढ्ने हेरेर मात्रै खुट्टा तन्काउनुपर्छ भनेझैँ गरिबहरूले पनि अरूको देखासिकी नगरी आफ्नो हैसियतअनुसार खर्च गर्नुपर्छ। शहरभन्दा पनि यस्ता विकृतिहरू गाउँघरतिर बढी देखिन थालेका छन्।

शहरमा चिनेजानेका पनि थोरै हुने र नसक्नेले मन्दिरमा गएर थोरै खर्चमा बिहे गर्ने गरेका छन्। तर गाउँघरतिर आफूले खर्च जुटाउन नसक्दा मन्दिरमा गएर बिहे गर्नुको सट्टा ऋण काढेर बिहे गर्ने चलन छ। यसले गाउँका मानिस लामो समयसम्म ऋणको बोझमा बाँच्न बाध्य भइरहेका छन्। त्यसैले सक्नेले पनि बिहे भोजभतेरहरूमा अनावश्यक खर्च नगर्दा सबैको भलाइ हुन्छ।

कसैको मनोरञ्जनका लागि गरिने अनावश्यक खर्चले समाजमा पार्न सक्ने नकारात्मक असरहरूलाई पनि मनन गर्नुपर्छ । खर्च गर्ने अन्य थुप्रै ठाउँहरू छन् । गरिब, दीन दुःखीहरूलाई दान गर्न सकिन्छ । वृद्धाश्रममा बस्ने आमाबुबाहरूलाई एक छाक मिठो खाना खुवाउन सकिन्छ। बाल आश्रममा पैसा दान गरी त्यहाँ आश्रित बालबालिकाको उचित पढाइलेखाइमा खर्च गरी उनीहरूको भविष्य उज्ज्वल बनाउन सकिन्छ।

गाउँघरमा पाटीपौवा, कुवा, अस्पताल, स्कुल निमार्णका लागि मद्दत गर्न सकिन्छ। महामारी, बाढी पहिरोको समयमा गरिब, अशक्तहरूको नाना, खाना र औषधि उपचारका लागि खर्च गर्दा सबैभन्दा ठुलो धर्म हुन्छ । नचाहिँदो खर्चभन्दा मरेर पनि अमर हुने विभिन्न सामाजिक सेवाका काममा खर्च गर्न सकिन्छ। धन हुनेले खर्च गरे पनि हुँदा खानेले भने अर्काको सिको पटक्कै गर्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस्