प्रचण्ड क्याबिनेटमा दुई तिहाइभन्दा बढी नयाँ अनुहार



काठमाडौं । ५ दलको सहभागिता रहेको मन्त्रिपरिषद्मा यस पटक अधिकांश नयाँ अनुहार देखिएको छ । प्रधानमन्त्रीसहित २३ जना रहेको मन्त्रिपरिषद्मा १७ जना पहिलो पटक मन्त्री बनेका छन् । रास्वपाका ४ र जनमतका १ मन्त्री त झन् राजनीतिमा पनि नयाँ अनुहार हुन् । नयाँ दलका नयाँ अनुहार सरकारमा समावेश भइरहँदा एमाले र माओवादी जस्ता दलले पनि नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् ।

नयाँ दलका नयाँ अनुहार सरकारमा जाँदा राजनीतिमा आफ्नो हैसियत कम हुने भन्दै एमाले तथा माओवादीका केही नेताले मन्त्री पद नै अस्वीकार गरेका खबर पनि बाहिर आएका थिए । यही कारण पनि अहिलेको मन्त्रिपरिषद्मा नयाँ अनुहारको बर्चस्व रहेको आकलन गर्न सकिन्छ । तर, यसको प्रतिरक्षा गर्दै एमालेले भने नयाँ अनुहारलाई पार्टीले प्राथमिकतामा राखेको बताएको छ ।

‘२ पटक वा त्योभन्दा बढी चुनाव जितेर पनि मन्त्री बन्न नपाएकालाई यस पटक प्राथमिकतामा राख्ने विषयमा पार्टीभित्रै समझदारी भएको’ एमालेका एक नेताले बताए । अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १७ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका छन् ।

यी हुन् नयाँ अनुहार

नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले महत्वपूर्णमध्येको परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । २०३६ सालदेखि नै राजनीतिक यात्रा सुरु गरेकी उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा कामसमेत गरिकसकेकी छिन् ।

पौडेल २०७० सालमा राष्ट्रिय योजना आयोगको सदस्य भएकी थिइन् । २०७३ सालमा राष्ट्रपतिको विज्ञ सल्लाहकार बनेकी उनी २०७४ सालमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएकी थिइन् । अन्तर्राष्ट्रिय मामलाका विषयमा जानकार पौडेल नेपालको इतिहासमा परराष्ट्र मन्त्री बन्ने तेस्रो महिला पनि हुन् ।

मन्त्रिपरिषद्मा देखिने नयाँ अनुहारमा पदम गिरी पनि पर्छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका उनी एमालेका युवा नेतामा पर्छन् । २०७४ मा पनि पर्वतबाट सांसद् चुनिएका गिरी यस पटक पनि पर्वतबाटै चुनिएका हुन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै उनी मन्त्री बनेका हुन् ।

रक्षा मन्त्री बनेका हरि उप्रेती सर्लाही-३ बाट निर्वाचित एमाले नेता हुन् । २०७० सालको निर्वाचनमा पनि सांसद बनेका उप्रेती पहिलो पटक मन्त्री बनेका हुन् । उनले २०३७ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

धनकुटामा एमालेको बर्चस्व कायम राख्न अहम् भूमिका खेलेका राजेन्द्र राईलाई पार्टीले भने पहिलो पटक न्याय गरेको छ । पहिलो पटक मन्त्री बन्दै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका उनले ११ पुसमै मन्त्रीको शपथ लिएका थिए । राई २०७४ र २०७९ सालको निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका थिए । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी भगवती चौधरी पनि पहिलो पटक मन्त्री बनेका हुन् ।

माओवादीबाट सरकारमा ६ जना सहभागी छन् भने ३ जना नयाँ अनुहार छन् । जसमा सूदन किराँती, अमनलाल मोदी र सुशीला श्रीपाली नयाँ हुन् । माओवादीका किराँती पर्यटन मन्त्री बनेका छन् । भोजपुरबाट चुनाव जितेका किराँँती ३ पटक सांसद बने पनि पहिलो पटक मन्त्री बनेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका मोदी २०७० सालदेखि सांसद रहे पनि यस पटक मन्त्री बन्ने मौका पाएका छन् ।

त्यस्तै, पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पाएकी सुशीला श्रीपाली समानुपातिकबाट सांसद बनेकी हुन् । २०६८ सालमा दलित आयोगको सदस्य बनेकी उनी २०४६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी हुन् । ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रास्वपाका सभापति रवि लामिछाने आफै राजनीतिका नयाँ पात्र हुन् भने मन्त्रीमा पनि पहिलो अनुभव लिँदै छन् । चितवन-२ बाट निर्वाचित लामिछानेसँगै रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोलप्रसाद (डीपी) अर्याल र डा. तोसिमा कार्की पनि सरकारमा नयाँ अनुहार हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन् । राजनीतिमा नयाँ भए पनि उनले सम्हालेको मन्त्रालयको विषयमा उनीसँग राम्रो अनुभव छ । लामो समयदेखि उनी शिक्षा क्षेत्रमै क्रियाशील छन् ।

त्यस्तै, श्रममन्त्री बनेका अर्याल समानुपातिकबाट सांसद बनेका हुन् । उनी पनि प्रचण्ड क्याबिनेटमा नयाँ अनुहार भए पनि आफूले पाएको मन्त्रालयका बारेमा उनी राम्रै दख्खल राख्छन् । जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम पनि गरेकाले उनलाई श्रम मन्त्रालय सम्हाल्न सहज हुने अनुमान लगाउन सकिन्छ । त्यस्तै, नयाँ अनुहारमा गनिने डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन् । उनी विगत १० वर्षदेखि चिकित्सा क्षेत्रको सुधारमा विभिन्न अभियान सञ्चालन गर्दै आएकी छिन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बनेका छन् । २०७४ सालमै संसद् पुगे पनि उनी सरकारमा भने पहिलो पटक सहभागी भएका हुन् । मन्त्रालयकै अनुभव नभए पनि राज्य सञ्चालनका विषयमा उनी राम्रै दख्खल राख्छन् । २०७४ सालमा सांसद हुँदा प्रतिपक्षमा रहेर सरकारका हरेक काम कारबाहीमा प्रश्न उठाएका उनलाई बेथिति र सुधारका पाटोमा धेरै कुराको जानकारी पनि छ ।

उनीसँगै मन्त्री बनेका ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । पहिलो पटक मन्त्री बनेका प्रधानको यो पहिलो सांसदीय यात्रा पनि हो । २०५३ सालमा नेपाल प्रहरीका महानिरीक्षक बनेका प्रधान अवकाशपछि राजनीतिमा लागेका थिए । ऊर्जा राज्यमन्त्री बनेका दीपकबहादुर सिंहको यो पहिलो संसदीय यात्रा हो । मेयरका लागि वैशाखमा उम्मेदवारी दिएका सिंह पराजित भएसँगै प्रतिनिधिसभाका लागि फेरि उम्मेदवार बनेर मैदानमा आएका थिए । विभिन्न निर्वाचनमा उम्मेदवार बन्दै आएका उनी पहिलो पटक विजयी भएका हुन् । राजा ज्ञानेन्द्रको शासनकालमा मकवानपुरको जिविस सभापति बनेका उनी राप्रपाका पुराना नेतामध्ये पर्छन् ।

जनमत पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका अब्दुल खान पनि सरकारमा नयाँ अनुहार हुन् । समानुपातिकबाट सांसद बनेका खानले ११ पुसमै मन्त्रीको शपथ लिएका थिए । गठबन्धनले उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिए पनि उनले असन्तुष्टि जनाउँदै कार्यभार भने सम्हालेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्