दानको मान र इमानको प्रश्न



काठमाडौं । कार्यभार सम्हालेको ३ महिनासम्म हाम्रा मन्त्रीहरूमा विगतदेखि वर्तमानसम्म एउटै चरित्र र गति अनि स्वभाव देखिन्छ, त्यो हो-नखरा बढी गर्ने, सस्तो चर्चाका लागि जे पनि बोलिदिने । ‘डिजिटल नेपालको अगुवाइ गर्छु’ भन्दै निर्णय पुस्तिकामा हस्ताक्षर गर्नेदेखि लिएर ‘भत्ता लिन्नँ’, ‘तलब दान गर्छु’लगायतका ‘स्टन्ट’ मन्त्रीका देखिएकै हो ।

तर, यस्ता फन्डा लामो समय टिक्दैनन् । तिनै फन्डावाला केही महिनापछि गुमनाम हुन्छन् । कतिपयको रिपोर्ट कार्ड सुन्नलायक पनि हुँदैन । यस पटक पनि मन्त्रीहरूका फन्डा रमाइला, घतलाग्दादेखि विचारणीयसम्म देखिइरहेका छन् । पर्यटनमन्त्री सुदन किराँती पनि फन्डामै छन् तर उनको फन्डाले इमान्दारीपूर्वक निरन्तरता पाए आशा गर्ने ठाउँ भने देखिँदै छ ।

किराँतीले यस्तो बेला पदभार सम्हाले, जुनबेला उनको मन्त्रालय मातहत चल्ने वायु सेवा दुर्घटनाबाट नेपालकै इतिहासमा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए । उनले यस घटनालाई रोक्न सक्ने कुरा त भएन तर वायु सेवालाई भरपर्दो बनाउन तत्काल केही कदम चाले-निर्देशन भए पनि दिएर । सँगै उनको कुर्सी छेउ राखिएको दान पेटिकाले यतिबेला सबैको ध्यान तानेको छ । बधाईका लागि माला र खादा बोकेर पुग्नेलाई उनी दान पेटिकामा खादा, माला बराबरको दान खसाल्न आग्रह गर्छन् । साता नबित्दै यस पेटिकामा ६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ । यो रकम दुर्गम क्षेत्रका नागकिरको स्वास्थ्य र शिक्षामा खर्च गर्ने उनको बाचा छ ।

कुनै कार्यविधि नबनाई, मापदण्ड नबनाई मनमोजी दान पेटिका, त्यो पनि मन्त्रीकै कार्यकक्षमा राख्न कति उचित छ ? त्यो बहसको अर्को पाटो हो । तर, यसलाई सकारात्मक पहलका रूपमा लिने हो भने नेपालमा खादा र मालाको फजुल संस्कृति र परम्परामा बिराम लगाउन यो अभियान एउटा गतिलो सुरुआत हुन सक्छ ।

एउटा मन्त्रीको खादा, माला बहिष्कार अभियानबाट १ सातामा ६ लाख रुपैयाँ जम्मा हुन सक्छ भने २५ वटा मन्त्रालयका मन्त्री, सचिव र उच्चस्तरीय कर्मचारीका साथै संवैधानिक र राजनीतिक पदमा नियुक्त भएकाले समेत किराँतीको लय समात्ने हो भने निकै ठूलो रकम सङ्कलन भई विपन्नको जीवनस्तर उकास्न महत्वपूर्ण कदम हुन सक्छ । तर, यसका लागि कानुन, कार्यविधि र मापदण्ड भने बन्नै पर्छ । नत्र मगन्ते संस्कृति बस्ने मात्र होइन, सप्ताहमा भक्तालुले गरेको चन्दाको बाचा जस्तो फ्लप हुने खतरा पनि उत्तिकै छ । र, यसको इमानदारी निरन्तरताको अपेक्षा पनि छ ।

प्रतिक्रिया दिनुहोस्