रामेछापका माओवादी : देश बनाउन जुट्छन्, चलाउन सधैँ छुट्छन्



काठमाडौं । माओवादीले रामेछापलाई रुकुम, रोल्पापछिको आफ्नो पकड भएको जिल्लाको रूपमा लिने गर्छ। माओवादी सशस्त्र विद्रोह छाडेर शान्ति प्रक्रियामा आएपछिका सबै निर्वाचनमा रामेछापबाट माओवादीका उम्मेदवार निर्वाचित हुनुले यसको पुष्टि गर्छ। कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाहेक रामेछाप गोरखापछिको माओवादीको पकड भएको जिल्लाको हो।

कम्युनिस्ट किल्लाको रूपमा रहेको रामेछापलाई माओवादीले पूर्वी क्षेत्रको आधार इलाकाका रूपमा लिन्छ। रामेछापमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रख्यात रहेको दोरम्बा, देउराली जस्ता हत्याकाण्ड भए। माओवादी र सरकारबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेका बेला राज्यले माओवादीका प्रमुख जिल्ला नेताहरूलाई पक्राउ गरी हत्या गरेको थियो।

देउराली हत्याकाण्डमा निहत्था नागरिकलाई सेनाले पक्राउ गरी हत्या गरेको थियो भने माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा पहिलो चरणमा पूर्वी नेपालमा बेथान चौकीमा आक्रमण गरेर सुरु गरेको थियो। जहाँ माओवादीका तर्फबाट दिलमाया योञ्जन, तीर्थ गौतम र फत्त स्माइलीको मृत्यु भएको थियो।

राज्यको यही कमजोरीका कारण रामेछाप माओवादीका लागि सुगम बन्यो। तर रामेछाप माओवादीका लागि सुगम बन्नु यो मात्र कारण होइन। रामेछाप पहिले नै जनमोर्चाको पकड क्षेत्र हो । जहाँ नारायणबाबु श्रेष्ठले जनमोर्चाको नेतृत्व गरेका थिए । त्यही पकड देखेर अमिक शेरचनले समेत रामेछापबाट निर्वाचन लडेका थिए । तर, पराजित भए।

नेपालको राजनीतिक आन्दोलनका कमान्डरहरू जन्माएको रामेछाप राजनीतिक सैद्धान्तिक हिसाबले हेर्ने हो भने मिश्रित जिल्ला हो। यहाँ कम्युनिस्टका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, गङ्गालाल श्रेष्ठ, कृष्णलाल अधिकारी र नारायणबाबु श्रेष्ठदेखि पञ्चायतकालीन समयका राष्ट्रिय पञ्चायतका प्रमुख भएका नवराज सुवेदीसमेत जन्मिए। त्यति मात्र होइन, रामेछापसँग नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालको साइनोसमेत जोडिन्छ । सिन्धुलीमा जन्मिएका कोइराला रामेछापका छिमेकी मात्र होइन, यस जिल्लासँग उनको पारिवारिक साइनो पनि छ। जसका कारण यस जिल्लामा उनको राम्रो प्रभाव थियो । यहीँका लक्ष्मण घिमिरे कांग्रेसका प्रमुख सचेतकसमेत भए ।

कम्युनिस्टका जन्मदाता जन्माएको रामेछापबाट अहिलेसम्म कम्युनिस्ट पार्टीहरूले रामेछापका सांसदलाई केन्द्रीय मन्त्री बनाएका छैनन्। राज्यमन्त्रीलाई छाड्ने हो भने माओवादीले रामेछापका सांसदलाई अहिलेसम्म प्रदेशमा पनि मन्त्री बनाएको छैन।

सत्तामा रामेछापका सांसद नपुग्दा पार्टी सङ्गठन विस्तारमा समेत समस्या परेको माओवादी केन्द्र रामेछाप नगर समितिका उपाध्यक्ष नरेशबाबु श्रेष्ठ बताउँछन्। ‘२०४८ मा जनमोर्चाको पकड रहेको रामेछापमा सशस्त्र विद्रोहको समयमा बेथान आक्रमण, दोरम्बा हत्याकाण्ड, देउराली हत्याकाण्डबाट नेता/कार्यकर्ताले ठुलो क्षति बेहोरेका छन्, तर अहिले पार्टी उपेक्षामा छ,’ श्रेष्ठ बताउँछन्।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले २ वटै निर्वाचन क्षेत्रबाट विजय हासिल गर्‍यो । जसमा २ नम्बर क्षेत्र (हालको प्रदेशसभा–२)मा देशभरका सांसदले पाएको अत्यधिक मतमध्ये यो क्षेत्रको पनि एक हो । त्यो निर्वाचनमा माओवादीले १ जना समानुपातिक सांसद पनि पायो । समानुपातिकसहित ३ सांसद भएका बेला पनि रामेछाप सांसदमै सीमित रह्यो ।

त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले क्षेत्र–२ बाट मात्र विजय हासिल गर्‍यो। क्षेत्र–१ बाट कांग्रेसका उम्मेदवार विजयी भए। पहिलो पार्टीबाट तेस्रो पार्टीमा खुम्चिन पुगेको माओवादीले देशभर धेरै स्थान गुमाउँदा रामेछाप जोगिएको थियो।

रामेछापबाट निर्वाचित सांसद श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री भए । पार्टीकै सिनियर नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा श्रेष्ठ केवल थपना मात्र रहेको नेताहरू बताउँछन् । पहिले उनलाई सामान्य प्रशासन मान्त्रालयको जिम्मेवारी दिने निर्णय भए पनि शपथ लिने समयमा उनलाई राज्यमन्त्री बनाइएको थियो । राज्य पुनर्संरचनापछि एउटा सङ्घीय निर्वाचन क्षेत्र भएको रामेछापमा २०७४ को निर्वाचनमा माओवादीले उम्मेदवारी दियो ।

माओवादी र नेकपा एमालेले गठबन्धन गरेको उक्त निर्वाचनमा पुनः श्रेष्ठ सांसदमा दोहोरिए । तर, यो पटक पनि उनको नामले मन्त्रीमा चर्चासमेत पाएन । गत ४ मङ्सिरमा भएको निर्वाचनमा माओवादीले कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लड्यो । जसमा सङ्घीय निर्वाचन क्षेत्र कांग्रेसलाई छाडेर २ वटै प्रदेशसभामा माओवादी उम्मेदवार विजयी भए । अहिले दुवै निर्वाचन क्षेत्रबाट माओवादीका सांसद छन् । दुवै सांसदले प्रदेशको मन्त्री बन्ने दौडधुप गरे पनि अन्तमा दुवैले मन्त्री पाएनन् ।

निराश कार्यकर्ता, घट्दो जनमत

रामेछापेली जनताले निरन्तर माओवादी उम्मेदवारलाई निर्वाचित गरेर पठाए पनि पार्टीले आफूहरूले जिताएको सांसदलाई मन्त्री नबनाउँदा माओवादी पार्टीप्रति आकर्षण घट्दै गएको छ। आफूहरूले निरन्तर सांसद बनाउने तर पार्टीले बेवास्ता गर्ने गरेका कारण अहिले पार्टीप्रति जनताको विश्वास र आकर्षण घटेको माओवादी केन्द्र लिखु तामाकोसी गाउँपालिका सचिव हेमन्त पौडल ‘निकास’ बताउँछन्।

उनका अनुसार पहिलेको भन्दा अहिले पार्टीप्रति जनताको आकर्षण कम हुँदै गएको छ। जनतामा आफूले जिताएको सांसदलाई पार्टीले कुनै भूमिका नदिने, मन्त्री पनि नबनाउने भन्ने परेका कारण ‘माओवादीलाई जति गर्दा पनि हुन्न’ भन्ने परेको उनले बताए । पौडेलले रामेछापलाई पार्टीले नकारात्मक रूपमा बुझेको बताए।

उनले आफूले निर्वाचित गराएका सांसद पनि जिम्मेवार छैनन् कि भन्ने आशङ्कासमेत व्यक्त गरे । ‘पार्टी नेतृत्वले रामेछापलाई जे गर्दा पनि हुन्छ भन्ने बुझेको छ। किनकि रामेछापका नेताहरू इमानदार र पार्टीप्रति उत्तरदायी छन्,’ पौडेल भन्छन्। तर, गोकुलगङ्गा गाउँपालिकाका अध्यक्ष विशाल तामाङ भने जिल्लाका नेताबीच भएको विवाद र गुटगत राजनीतिका कारण माओवादी सांसद सत्ता चलाउने ठाउँमा पुग्न नसकेको बताउँछन्।

पार्टीमा विवाद र गुट हुने भए पनि पार्टीले मिलाएर लाने क्षमता नराखेको उनको गुनासो छ। पार्टीभित्र नेताहरूको लडाइँलाई केन्द्रले बेवास्ता गर्ने र त्यहीबीचमा खेल्ने गरेको उनले बताए । यसको मुख्य दोष सांसदहरूले नै लिनुपर्ने उनी बताउँछन् ।

त्यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय नेता कृष्ण थापा मगरले भने पार्टीलाई जनताले धेरै माया गर्दासमेत पार्टीले बेवास्ता गरेको बताए । उनले भने, ‘रामेछाप कम्युनिस्टको संस्थापक नेता जन्मिएको स्थान हो, नेताहरूले धेरै मतान्तरमा निर्वाचन जित्छन्, तर नेतृत्वले बेवास्ता गर्नु जनमतको अपमान हो।’ यस विषयमा केन्द्रीय नेतृत्वले ख्याल नपु¥याएको प्रदेश (१) बाट निर्वाचित सांसद तारानारायण श्रेष्ठ बताउँछन् । धेरै प्रतिक्रिया दिन नचाहेका उनले भने, ‘यस विषयमा पार्टीले ख्याल गर्नुपथ्र्यो, गरेन।’

प्रतिक्रिया दिनुहोस्