असहमतिबीच ‘सहमति’को राजनीति



काठमाडौं । राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने समय नजिकिँदै जादाँ सत्ता गठबन्धन दलबीच नै कस्ता व्यक्तिलाई जिम्मेवारी सुम्पने भन्ने विषयमा विवाद बढ्न थालेको छ। सरकार गठनका लागि गठबन्धन गर्दा एमालेलाई राष्ट्रपति र सभामुख दिने विषयमा समझदारी गरेका दलहरूका बीचमा कांग्रेसको प्रवेश भएपछि समझदारीलाई सत्ता गठबन्धनका मुख्य घटक नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफूअनुकूल व्याख्या गर्न थालेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत दिएपछि दाहालले नै राष्ट्रिय सहमति कायम गरेर राष्ट्रपति चयन गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि यो विषय विवादमा आएको हो । दाहालले राष्ट्रपति चयनमा आफू राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएलगत्तै एमालेले आफूले उठाएका उम्मेदवारको पक्षमा यस्तो सहमति जुट्नुपर्ने बताएको थियो । तर, माओवादी केन्द्रको जारी स्थायी समितिको बैठकसम्म आइपुग्दा अधिकांश नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका व्यीक्तलाई राष्ट्रपतिका रूपमा समर्थन गर्न नहुने पक्षमा पुगेका छन् ।

आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमितका साथ अविश्वासबीच विश्वास खोजेर सहयात्रा थालेका एमाले र माओवादीबीच राष्ट्रपति कसलाई र कस्ता व्यक्तिलाई अघि सार्ने भन्ने विवाद बढ्दा निर्वाचनको मिति तय गर्ने विषयसमेत ओझेलमा परेको छ।

माओवादी केन्द्रका केही प्रभावशाली नेता कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण उसलाई समेत विश्वासमा लिएर राष्ट्रपति चयनको पक्षमा उभिएपछि प्रधानमन्त्री दाहाल सकसमा मात्र परेका छैनन्, सत्ता सहयात्री दल एमालेसँगको दुरीसमेत बढ्दै गएको छ।

दुरी बढ्दै जाँदा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको वैधता नरहेको फैसला गरेपछि उनले पाएको गृह मन्त्रालय कसलाई दिने विषयमा समेत २ दलबीच फरक मत छ। अदालतको फैसलापछि प्रक्रिया पूरा गरेर लामिछानेले नागरिकता पाइसकेकाले लामिछाने या उनी नेतृत्वको पार्टीले दिएको व्यक्तिलाई नै गृहमन्त्री दिनुपर्ने र राष्ट्रपतिमा एमालेले अघि सारेका व्यक्तिलाई जिताउनुपर्ने ओलीको अडान छ ।

तर, माओवादीका नेताहरू भने शक्तिशाली मन्त्रालय नभएको भन्दै लामिछानेको बहिर्गमनपछि गृह मन्त्रालय आफ्नै पार्टीलाई हुनुपर्ने र राष्ट्रपतिमा कांग्रेसले समेत विश्वास गर्न सक्ने मान्छेको खोजी गर्नुपर्ने पक्षमा छन्। उनीहरूले माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्नुपर्ने प्रस्ताव जारी स्थायी समिति बैठकमै राखेका छन्।

सरकार गठनमा नखोजिएको राष्ट्रिय सहमतिको विषयलाई सेरेमोनियल पदमा सहमति खोज्न थालेको भन्दै एमाले अध्यक्ष ओलीले आइतवार पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन्।

उनले राष्ट्रिय सहमतिको नाममा सत्ता गठबन्धन दल र विशेषगरी एमाले र माओवादीबीच भएको सहमति नलत्याउन दाहाललाई सचेत गराएको एमालेका नेताहरू बताउँछन्। तर, दाहालले भने जारी बैठकमा राष्ट्रपतिका विषयमा दलका नेताहरूको धारणा मात्र मागिएको र आफ्नो पार्टी सरकार गठनअघि भएको समझदारीबाट पछि हटी नसकेकामा ओलीलाई आश्वस्त पारेका छन् ।

कांग्रेसले राष्ट्रपति निर्वाचनमार्फत गुमेको सत्ता र गठबन्धन फर्काउने प्रपञ्च गरिरहेको भन्दै ओलीले ‘कांग्रेसको ढोक्सामा नफस्न’ प्रचण्डलाई सचेत गराएको एमाले नेताहरूको भनाइ छ। प्रचण्डले भने कांग्रेसले आफूलाई विश्वास गरेको अवस्थामा आफू नेतृत्वको सरकारलाई समेत राष्ट्रिय सहमतिको स्वरूप दिने र राष्ट्रपति निर्वाचनमार्फत यसको थालनी गर्ने प्रयास मात्र गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्