गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्डको जवाफ : बनेपछि थाहा पाउनुहुन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि बाहिरने क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारहरूले प्रश्न सोधे  गृहमन्त्री कसलाई बनाउनुहुन्छ ?  प्रधानमन्त्री दाहालले जवाफ दिए ‘ बनेपछि थाहा पाउनुहुन्छ।’

प्रधानमन्त्री दाहालले यसबाहेक थप विषयमा कुराकानी गरेनन्। पत्रकारहरूले राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोकिसकेको र तयारीबारे पनि सोधेका थिए। माओवादीले गृहमन्त्री आफूहरूसँगै राख्ने अडान राखेको छ। तत्काल प्रधानमन्त्री दाहालले नै गृह मन्त्रालय आफैँले हेर्ने गरी राख्न लागेका छन्।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा पार्टीमा आज छलफल नभएको दाबी गरे। उनले यो विषय सरकारको भएको र प्रधानमन्त्रीले नै टुंगो लगाउने प्रतिक्रिया दिए।

महराका अनुसार पार्टी संगठनकै विषयमा आज पदाधिकारी बैठकमा छलफल भयो। दुई दिन तयारी गरेर अब बुधबार स्थायी समिति बैठक गरिने उनले बताए। पदाधिकारी बैठक भने मंगलबार पनि बस्ने उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय दाबी गरिरहेको छ। सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए तर नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै गत शुक्रबार उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नेपाली नागरिकता पुनस् कायम गरिसकेका छन् भने आइतबार नै उनी रास्वपाको सभापति भइसकेका छन्। प्रधानमन्त्री प्रचण्डलाई आइतबार बालुवाटारमा भेटेर उनले गृहमन्त्रीमा पुन: नियुक्ति गर्न अनुरोधसमेत गरेका थिए। तर प्रधानमन्त्री दाहालले लामिछानेलाई यसबारेमा ठोस जवाफ एका थिएनन्।

प्रतिक्रिया दिनुहोस्