छिमेकीसँग आर्थिक सहकार्य गर्न अमेरिकी सुझाव



काठमाडौं । सबै छिमेकीसँग आर्थिक सहकार्य गर्न अमेरिकाले नेपाललाई सुझाएको छ । सहकार्यका क्रममा सार्वभौमसत्तालाई ध्यान दिन अमेरिकी सुझाव छ। नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आर्थिक सहकार्यमा सार्वभौमसत्ता रक्षा गर्ने विषय सधैँ प्राथमिकतामा रहनुपर्ने बताएकी छिन्।

‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा पारदर्शी होस्, अर्थात् भ्रष्टाचार नहोस् । नेपालले आफ्ना सबै छिमेकीसँग बनाएको सुमधुर सम्बन्धलाई अमेरिकाले हृदयदेखि नै स्वागत गर्छ’, उनले सोमबार सञ्चारकर्मीहरूसँग भनिन् । नेपालले आफ्ना सबै छिमेकीसँग बनाएको सुमधुर सम्बन्धलाई अमेरिकाले स्वागत गर्ने बताउँदै उपमन्त्री नुल्यान्डले आफ्नो देशले नेपालमा आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको उल्लेख गरिन्।

गतिशील छिमेकीको बीचमा रहेको नेपालले आफ्नो पहिचान बनाएर सहकार्य गर्न सक्ने उनको भनाइ छ। अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामला नियाल्ने नुल्यान्ड आइतबार साँझ नेपाल आएकी हुन् । ३ दशकभन्दा बढी कूटनीतिक क्षेत्रमा आबद्ध उनी कुशल कूटनीतिज्ञ मानिन्छिन्। वर्तमान सरकार गठन भएपछि विदेशी पाहुनाको यो पहिलो भ्रमण हो।

नेपालको आर्थिक विकासमा अमेरिकाले अमेरिकी सहायता सम्झौता (एमसीसी) लगायत परियोजनामार्फत सहयोग गरिरहेको उपमन्त्री नुल्यान्डले बताइन्। उनले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमलगायत क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्। अमेरिकाको बहुपक्षीय सहयोग जारी रहने उल्लेख गर्दै नुल्यान्डले भनिन्, ‘नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने हो।’

सोमबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिन्।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मन्त्री नुल्यान्डले अन्तर्राष्ट्रिय फोरमहरूमा अमेरिकाले नेपालको साथ चाहेको बताएकी छिन्। जवाफमा प्रचण्डले नेपालले अपानाउँदै आएको पञ्चशील र असंलग्न नीतिमा अडिग रहने बताएका थिए। राजनीतिक भेटघाटपछि नुल्यान्डले अमेरिकी सहयोगमा पुनर्निर्माण भएका पाटन दरबार स्क्वायर क्षेत्रका सम्पदा अवलोकन गरिन्।

प्रतिक्रिया दिनुहोस्