२५ फागुनमा राष्ट्रपति निर्वाचन



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति र कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको हो। दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । विद्यमान कानुनी प्रावधानका कारण प्रदेशगत आधारमा मतदान केन्द्र भने तय गर्न नसकिएको आयोगले जनाएको छ।आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि १० फागुन बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । १३ फागुन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

१३ गते साँझ नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने र १४ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने समय निर्धारण गरिएको छ। सोही दिन उजुरीमाथि छानबिन गरी निर्णय गर्ने र १५ गते उम्मेदवारको नामावली प्रकाशित र उम्मेदवारले नाम फिर्ता लिने समय तालिका छ । १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन अघिसम्म प्रचार अभियानका लागि समय दिइएको आयोगले जनाएको छ।

उम्मेदवार बन्न चाहने व्यक्तिले प्रतिनिधिसभा या प्रदेशसभा सदस्यको समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश भएको भए यस्तो नाम फिर्ता लिएर मात्र उम्मेदवारी दर्ता गर्न पाउने आयोगले जनाएको छ। यो नियम उपराष्ट्रपतिको निर्वाचनका हकमा समेत लागू हुनेछ। उपराष्ट्रपतिको निर्वाचनका लागि २७ फागुन ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । आयोगले २७ गते नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरेको छ।

२८ गते उपराष्ट्रपति पदका लागि मनोनयन गर्दा गरेका उम्मेदवारविरुद्ध उजुरी परे सोको जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका राखेको छ। संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने उल्लेख छ। २९ फागुन, २०७४ मा भएको निर्वाचनबाट निर्वाचित वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि २८ फागुनमा सकिँदै छ।

उपराष्ट्रपति नन्दबहादुर पुन भने ४ चैत, २०७४ मा निर्वाचित भएका थिए । उनको पदावधि पनि आगामी ३ चैतमा सकिँदै छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ।

सोसम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ तथा दफा ५ को उपदफा ३ बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले सोका लागि नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउने कानुनी व्यवस्था छ। आयोगले तोकिएको मितिमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकारलाई आग्रह गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्