बिहीबार श्रीलंका जाँदै मन्त्री पौडेल



काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल यही साता श्रीलंका भ्रमणमा जाने तयारीमा छिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रा दिवसमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनी बिहीबार कोलम्बो प्रस्थान गर्दै छिन्।

शनिबार श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस हो। श्रीलंका ४ फेब्रुअरी सन् १९४८मा बेलायतबाट स्वतन्त्र भएको थियो। परराष्ट्रमन्त्री पौडेलले परराष्ट्रको नेतृत्व सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हुने छ। उनलाई श्रीलंकाली समकक्षी अलि साब्रिको निमन्त्रणा गरेका थिए। भ्रमणका क्रममा मन्त्री पौडेलले समकक्षी साब्रि लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने छिन्।

साब्रिसँग श्रीलंका—नेपाल राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धका विविध पक्षबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै मन्त्रीबीच, नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक आयोजना गर्नेबारे कुराकानी हुने बताइएको छ । सन् २००९मा संयुक्त आयोग बने पनि आयोगको बैठक बस्न सकेको छैन । यसबीच, सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्री पौडेलको श्रीलंका भ्रमण स्वीकृत गरेको छ।

बौद्ध मार्गी बाहुल्य श्रीलंका र नेपालबीच पर्यटकीय सहकार्यबारे विगतदेखि नै छलफल हुँदै आएको छ । मन्त्री पौडेलले श्रीलंकाली समकक्षी र त्यहाँका व्यवसायीसँग भैरहवामा सिधा हवाइ उडान गर्न आग्रह गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्