बालेनका १० महिना : प्रश्नसँग भाग्ने, सडकमा जाग्ने



  • रमेश पौडेल

काठमाडौं । देशकै राजधानी भएको काठमाडौं महानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) निर्वाचित भए। निर्वाचन हुनुअघि उनले जति चर्चा कमाएका थिए, निर्वाचित भएको १० महिनामा त्यति नै आलोचना पनि खेपिरहेका छन्।

कहिले कामको सिलसिलामा आलोचना खेपेका छन् भने कहिले प्रश्न सोध्ने व्यक्तिलाई अन्टसन्ट जबाफ दिएका कारण बालेनले आलोचना खेपिरहेका हुन्। अहिले महानगरका मेयर बालेनको विषयलाई लिएर सामाजिक सञ्जालमा मानिस २ कित्ता भएर विरोध र बचाउ गरिरहेका छन्। बालेनको बचाउ गर्नेहरूले बालेनलाई अझै ‘केही समय काम गर्न दिनुपर्ने’ भनिरहेका छन् भने उनको आलोचना गर्नेहरूले ‘मिडिया स्टन्ट मात्र गर्न जानेको, तर काम भने केही नदेखिएको’ आरोप लगाइरहेका छन् ।

करिब १० महिना अवधिमा महानगरले केही राम्रा कामको पनि थालनी भने गरेको छ। तर कतिपय काममा भने मेयर बालेनसहित सिङ्गो महानगर नै आलोचनाको पात्र बनेको छ। मेयर निर्वाचित भएको केही समयमै बालेनले यमबुद्धको शालिक बनाउने भनेर गरेको निर्णयको आलोचना भयो। ठुलो आलोचना भएपछि उनले आफ्नो पारिश्रमिकबाट बनाउने निर्णय गरे । तर अहिलेसम्म पनि उनले त्यो शालिक बनाउन सकेका छैनन्।

निर्वाचित भएपछि बसेको पहिलो नगरसभामै बालेनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने आफ्नो घोषणापत्रमा भनेअनुसारकै निर्णय गरे। तर त्यो निर्णय वडाध्यक्षहरूले नै विरोध गरे। गोपनीयताको शपथ खाएको किन लाइभ गर्नुपर्‍यो ? भन्दै वडाध्यक्षहरूले प्रश्न उठाएका थिए । तर अहिले पनि नगर सभाको नियमित लाइभ भएको छैन। टुकुचा खोला खोज्ने भनेर केही ठाउँमा खनेका कारण पनि बालेन विवादमा तानिए । तर अहिले पनि त्यो खोला खोज्ने काम भने पूरा भएको छैन।

बालेनको अर्को विवादित विषय हो– सुकुमबासी बस्ती खाली गराउने अभियान। बालेनले सुकुमबासीको स्थायी समाधान नगरीकन बस्ती खाली गराउन खोजेको भनेर आलोचना भयो । तर कतिपयले भने ती वास्तविक सुकुमबासी होइनन् भनेर बालेनकै प्रशंसा र बचाउमा उत्रिए । बालेनले व्यक्तिको जग्गामा पनि डोजर चलाएको भनेर माइतीघरमा पटक–पटक विरोध प्रदर्शन भयो । त्यति मात्र होइन, फुटपाथमा व्यापार गरेका व्यक्तिलाई हटाएको भन्दै फुटपाथ व्यापारीले समेत बालेनविरुद्ध आन्दोलन गरेका थिए ।

मेयर बालेनले अहिलेसम्म आफूमाथि उठेका प्रश्नको जबाफ दिएका छैनन् । उनी निर्वाचित भएपछि अहिलेसम्म कुनै पनि सञ्चारमाध्यममा कुरा गरेका छैनन्। उनले त्यसरी कुरा नगर्नु भनेको प्रश्नसँग डराएको विश्लेषकहरूले बताउँदै आएका छन् । यिनै आलोचनाका बीच मेयर बालेनले केही राम्रा कामको थालनी पनि गरेका छन् । काठमाडौं महानगरपालिकाको सबैभन्दा ठुलो समस्याको रूपमा रहेको पार्किङको समस्या समाधान गर्न भने केही हदसम्म बालेनको प्रयास सराहनीय देखिन्छ ।

अन्डरग्राउन्ड पार्किङका लागि भनेर नक्सा पास गरेका घरमा व्यवसाय गरेको अवस्थामा खाली गरेर पार्किङकै लागि प्रयोग गराउने प्रयास गरे। कतिपय घरमा मेयर आफैँ पुगेर अन्डरग्राउन्ड खाली गराए। तर सो कामले पनि पूर्णता भने पाएको छैन । तैपनि सो कामको सुरुआत हुनु सकारात्मक रहेको र केही हदसम्म पार्किङ समस्या समाधान हुने अपेक्षा गरिएको छ।

मेयरले पैदलयात्रीलाई हिँड्नका लागि बनाइएको बाटोमा राखिएका पसल व्यवसाय हटाएका छन् । त्यसले फुटपाथमा हिँड्नेका लागि सजिलो भएको छ । चाबहिल, गौशाला, नयाँ बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा अहिले पैदलयात्रीलाई सजिलो भएको छ। सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना हटाउने काम बालेनको राम्रो कामका रूपमा चर्चामा छ । तर केही ठाउँमा भने व्यक्तिको जग्गामा पनि डोजर चलाएको भन्दै आलोचना पनि त्यत्तिकै खेपिरहेका छन्– बालेन ।

पसलअगाडि सडक नै ढाकेर सामान राख्नेहरूलाई पनि पसलभित्र मात्र सामान राख्न निर्देशनसहित नियमित अनुगमन गरेको कामलाई पनि स्थानीयले सकारात्मक रूपमा लिएका छन्। द नेपालटपले काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा– १७ का अध्यक्ष नवीन मानन्धरलाई निर्वाचित भएर आएपछि के–के काम भयो भन्ने प्रश्न गरेको थियो। जबाफमा उनी भन्छन्, ‘आवश्यकताअनुसार काम भइरहेको छ । सडकको अव्यवस्थित व्यापार र संरचना हटाउने, बाटो टाल्ने, ढलको निकास, बत्तीको समस्या समाधान गरिरहेका छौँ ।’

‘हाम्रा धेरै काम पाइपलाइनमा छ। ठुला योजनाका काम टेन्डर प्रक्रियामा छन्,’ मानन्धर भन्छन्, ‘हामीले सबै क्षेत्रलाई क्रमिक रूपमा विकास गर्दै लाने हो।’ शिक्षाको क्षेत्रमा शिक्षकहरूलाई सपोर्ट गर्नेदेखि दरबन्दी थप्नेसम्मको काम भएको महानगरको भनाइ छ। सामाजिक क्षेत्रमा भने विभिन्न सङ्घसंस्थासँग मिलेर काम गरिहेको महानगरको जबाफ छ। ‘हामीले गर्ने कामको यति छिटै मूल्याङ्कन गरिहाल्नु हुँदैन, केही समय पर्खिनुपर्छ,’ प्रवक्ता मानन्धर भन्छन्।

प्रतिक्रिया दिनुहोस्