रविको अनैतिक अर्घेल्याइँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको गठन हुँदै गर्दादेखि आमनिर्वाचनमार्फत २० जना सांसद सुरक्षित गर्नेबेलासम्म मानिसहरूले राष्ट्रिय स्वतन्त्र पार्टी र यसका सभापति रवि लामिछानेमाथि ठूलो आस र भरोसा गरे। यो आस र भरोसा सो पार्टीको सरकारमा सहभागितासम्म पनि कायम छ।

परिस्थिति यस्तो आइलाग्यो, रास्वपाका सभापतिले अनधिकृत नागकिरता प्रयोग गरेको भनेर सर्वोच्चले उनको सांसद पद खाइदियो, जुनबेला उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा सरकारमा थिए। नागरिकता विवादमा उनले मन्त्री पद र सांसद गुमाए । प्रक्रिया पूरा गरेर नागरिकता ब्युँताएपछि उनी पुनः उपसहित गृहमन्त्री हुन दौडधुप र चेतावनी दिइरहेका छन्, जबकि न अदालतको पूर्ण फैसला सार्वजनिक भएको छ, न त उनीमाथि लागेको राहदानी दुरुपयोगको अभियोग किनरा लागेको छ।

राजनीतिमा नैतिकताको खडेरी देख्ने रवि छोटो समयमा सफलताको उच्चतम बिन्दुमा पुगे। यसले उनमा अस्वाभाविक महत्वाकाङ्क्षा मात्र जगाएन, आफूलाई पनि परम्परागत दलका नेताकै कित्तामा उभ्याउँदै गैरसांसदका हैसियतमा, अदालतको पूर्ण फैसला नआउँदै सत्ता ताकेर हिँडेका छन्।

आफूलाई गृहमा नफर्काए सत्ता र सरकारको समर्थन दुवै छाड्ने उनको धम्कीले रविको विगतको आदर्शको गहिराइ सतहमा आइसकेको छ। सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको सङ्क्षिप्त आदेश मात्र दिएको छ। नागरिकताका कारण पद खारेज भएपछि सोही नागरिकताका आधारमा लिइएको राहदानीका विषयमा सङ्क्षिप्त आदेशमा उल्लेख छैन। यसको पूर्ण फैसला आउन बाँकी छ। भोलिका दिनमा अदालतले यसमा व्याख्या गरेको अवस्थामा गैरसांसदका हैसियतमा पुनः सत्तामा पुग्ने उनको यात्रा दोस्रो पटक ‘ब्रेक’ पनि लाग्न सक्छ।

यसको हेक्का रविले राखेको देखिँदैन। प्रश्न उठिसकेपछि त्यसको जबाफ दिनुपर्ने दायित्वबाट भागेको मात्र नभई प्रश्नका बीच सत्तामै बस्न खोज्ने यो चरित्रले उनको पार्टीलाई समेत ‘ड्यामेज’ त गर्छ नै, आमजनताले गरेको भरोसा पनि टुट्छ। प्रधानमन्त्रीले अभियोग लागेका व्यक्तिलाई अभियोगको किनारा नलाग्दै पुनः मन्त्रीमा फर्काउँदिनँ भन्न पाउँछ। जनताले भन्ने पनि यही हो।

हो, गृहमन्त्री रास्वपाको भागमा परेको हो। त्यो भागमा हामी रविको सट्टा फलानोलाई सिफारिस गर्छौं भनेर खुलेर आए प्रधानमन्त्रीले आलटाल गर्न मिल्दैन। तर, आफैँ मन्त्री हुने र आफूमाथि लागेका अभियोगलाई पदमा पुगेर दबाउने नियतका साथ रवि र उनको पार्टीको ढिपी नैतिकता र राजनीतिक इमान दुवैको कसीमा गलत छन्।

रविले देशको सेवा गर्न चाहेका हुन्, आफूलाई इमान्दार कित्तामा उभ्याउन चाहेका हुने भने उनका बाँकी १९ जना सांसदमध्ये कसैलाई तत्काल गृहमन्त्रीका रूपमा प्रस्ताव गरून् र भनून्, ‘ममाथि अझै प्रश्नहरू बाँकी भए ती प्रश्नको निरूपण नभएसम्म म सत्ताको ढोकातर्फ आँखा लगाउँदिनँ । जनताको सेवा र राजनीतिक बेइमानीप्रति खबरदारी गरिरहनेछु ।’ नत्र उनको इमानमाथि प्रश्न खडा भई नै सक्यो ।

प्रतिक्रिया दिनुहोस्