अमेरिका–चीनबीचको प्रविधि लडाइँ



  • समिर रेग्मी

काठमाडौं । हामीमाझ नयाँ वर्षको सुरुआती अवस्था छ । तर, केही चिजहरू अझै पनि उस्तै छन्। चाहे डोनाल्ड ट्रम्पको समयमा सुरु भएको व्यापार युद्ध होस् वा साउथ चाइना सीमा देखिएको विवाद, अमेरिका र चीनबीचको सम्बन्धले सधैँ विश्वका सञ्चार माध्यमका शीर्षक आकर्षित गर्ने गरेका छन्। तर, विश्वका सुपरपावरबीचको प्रविधि युद्ध सन् २०२२ मा सर्वाधिक चर्चाको विषय बन्यो।

चिनियाँ दूरसञ्चार र मोबाइलको निर्माता हुवावे विश्वको नम्बर वान मोबाइल कम्पनी बन्ने लक्ष्य लिएसँगै र यो अवस्था नजिक पुगे सँगसँगै अमेरिकाले मोबाइल फोन निर्माण गर्न आवश्यक पर्ने सामग्री सेमिकन्डक्टर तथा चिपको निर्यातमा प्रतिबन्ध लगायो र चीनलाई निरिक्षणमै राख्ने निर्णय लियो। यसले यसै महिनाको सुरुमा लास भेगासमा आयोजना भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा चिनियाँ प्रविधि कम्पनीहरूको उपस्थिति पातलो मात्र देखियो ।

यो विषयमा साउथ चाइना मर्निङ पोस्टका प्रविधि डेस्कका प्रोडक्सन एडिटरले विश्वकै ठूलो विद्युतीय प्रदर्शनीका बारेमा आफ्नो अनुभव व्यक्त गरेका छन् र सन् २०२३ मा प्रविधि वृत्तमा अमेरिका–चीन सम्बन्ध कस्तो होला भनेर घोत्लिएका थिए । यदि वासिङ्टनले चीनका लागि सन् २०२३ मा आफ्नो पुरानो अडान फेरेन भने वा कुनै नयाँ सन्देश पठाएन भने अवस्था पुरानै हुनेछ र चीनले पनि आफ्नै अवस्थामा रहन बाध्य हुनुुपर्नेछ।

यस महिनाको सुरुमा विश्वकै ठूलो विद्युतीय प्रदर्शनीमा धेरै कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शन गरे । लसभेगासमा आयोजना भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा ठूला चिनियाँ नामहरू भनेका टीसीएल र हिसेन्से थिए । यी सबै कम्प्युटर र टीभी निर्माता थिए । अर्को शब्दमा भन्नुपर्दा बजारमा देखापरेका सबै उच्च प्रविधिका उत्पादनहरू थिएनन् ।

यो भन्नुको अर्थ यो थिएन कि यी कम्पनीहरूले यी क्षेत्रका सबै उत्पादनहरूलाई त्यहाँ ल्याएका थिएनन् । हिसेन्से र टीसीएलले सीईएसमा नयाँ प्रोजेक्टर माइक्रो एलईडी टीभी ल्याएका थिए । लेनोभोले ड्युअल स्क्रिनको योगा बुक ९ आई प्रदर्शनी गरेको थियो र यसलाई प्रविधि समीक्षकहरूले राम्रोसँग ग्रहण गरेका थिए ।

यति हुँदाहुँदै पनि अमेरिका–चीनबीचको प्रविधि लडाइँले प्रकोप नै ल्याएको छ भनेर नहेरिनु असम्भव नै हुनेछ । सीईएसमा यस वर्ष चिनियाँ प्रविधि फर्महरूको सङ्ख्या महामारीपूर्व तहको तुलनामा आधाभन्दा कम नै थिए। केही अनुपस्थितिहरू अन्यको तुलनामा बढी नै स्पष्ट थिए। विश्वमै ठूलो ड्रोन निर्माता सीईएसमा देखापरेन। यो पनि अमेरिकाले प्रतिबन्ध लगाएका कतिपय चिनियाँ प्रविधि फर्महरूमध्येको एक हो।

सीईएसले अमेरिका–चीन प्रविधि विवादलाई स्पष्ट देखाएको छ, जुन सन् २०२२ को अवधिमा देखापरेको थियो। आपूर्ति शृङ्खलादेखि सामाजिक सञ्जालसम्म अमेरिकाले चीनमाथि रहेको निर्भरता कम गर्ने प्रयासलाई जोडतोडका साथ अगाडि बढाउँदै लगेको छ। बाइटडान्सको टिकटक विशेषगरी विवादास्पद विषय बनेको छ । यस वर्ष सर्ट भिडियो एपका लागि सम्वेदनशील वर्ष हुने देखिएको छ, जसलाई अमेरिकाबाट हटाउनका लागि वासिङ्टनका राजनीतिज्ञहरूले जोड लगाइरहेका छन्।

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकलाई अमेरिकामा लगातार सञ्चालन गर्न दिनका लागि सुरक्षा सम्झौता गर्नुपर्ने आवाज उठाइरहेका बेला कंग्रेसका केही सदस्य र सरकारी विभागहरूले यस एपबाट लगातार राष्ट्रिय सुरक्षामा त्रास आउने आवाज उठाइरहेका छन् । डिसेम्बरमा फ्लोरिडा सिनेटर मार्को रुबियोले टिकटकसँगको कारोबार रोक्नका लागि कानुन नै ल्याएका थिए ।

यसैबीच बढ्दो सङ्ख्याका राज्यहरू र सरकारी एजेन्सीहरूले सरकारी संयन्त्र (डिभाइस)मा यो एप (टिकटक)को प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् । यस्तो घटना अमेरिकामा मात्र नभई अन्य देशमा पनि भएको छ। ताइबानले पनि सरकारी संयन्त्रमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसका साथै यसको चिनियाँ भर्सन डोयुयिन र सोसल प्लेटफर्म सियाहोङसुमा पनि प्रतिबन्ध लगाइसकेको छ।

ताइबानले पनि चिनियाँ प्रविधिलाई प्रतिबन्ध लगाउनुका पछाडि स्पष्ट कारण छ। ताइबानको चासो भनेको अमेरिकासँग साँठगाँठ गर्नु हो। यो साँठगाँठ ऊ सन् २०२२ मा भन्दा पनि बढाउन चाहन्छ। ह्वाइट हाउसकी सभामुख न्यान्सी पेलोसीले बेइजिङको चेतावनीलाई बेवास्ता गर्दै ताइबानको भ्रमण गरेपछि अमेरिका–चीनबीचको तनाव झनै बढेको र ताइबान पनि अमेरिकासँग नजिकिएको थियो।

चीनले ताइबानी मामिलामा अमेरिकालाई धम्क्याउँदै आगोसँग नखेल्न चेतावनी दिँदै आएको थियो भने यदि यसो हो भने हामी पनि आगोसँग खेल्नका लागि तयार छौँ भन्ने जबाफ फर्काउँदै ह्वाइट हाउसकी सभामुख न्यान्सी पेलोसीले ताइबानको भ्रमण गरेकी थिइन्। उनी ताइबान भ्रमणबाट फर्किएपछि स्वशासित टापु ताइबानको सेरोफेरोमा चीनले मिसाइल प्रहारको अभ्यास गरेको थियो।

गत वर्ष ताइबानसँगको ठूलो प्रविधि समाचार भनेको सेमिकन्डक्टरकोे छ। वासिङ्टनले चीनमाथि उसको आधुनिक चिप्सको उत्पादन गर्ने क्षमता नियन्त्रणका लागि निर्यात प्रतिबन्ध अगाडि बढाएको थियो, जुन उद्योगको क्षेत्रमा ताइबानी फर्महरूको बर्चस्व रहँदै आएको छ। अमेरिकाले केही चिप उत्पादलाई प्रोत्साहन दिएर अन्यत्र सार्न खोजिरहेको छ।

यसमा ५३ अर्ब डलरको चिप्स एन्ड साइन्स एक्ट पनि समावेश छ । अमेरिकाले चिनियाँ फर्महरूमाथि प्रतिबन्ध पनि विस्तार गरिरहेको छ। सबैभन्दा ठूलो धमाका अक्टोबरमा आएको थियो। उक्त समयमा ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटीले आफ्नो परीक्षण नभएको सूचीमा थप ३१ वटा कम्पनीलाई थपेको थियो । यसमा आगामी दिनमा व्यापक प्रतिबन्धको सम्भावनालाई पनि समावेश गरिएको छ ।

यसपछि याङ्जे टेक्नोलोजिज कर्पोरेसन (वाईएमटीसी)लाई के भयो होला ?, जुन चीनकै ठूलो मेमोरी चिप निर्माता हो । डिसेम्बरमा यसलाई पनि प्रतिबन्धात्मक सूचीमा समावेश गरिएको थियो, जसले स्वीकृतिबिना अमेरिकी कम्पनीहरूसँग कारोबार गर्न प्रतिबन्ध लगाएको थियो ।

जब एप्पलले कम्पनीको मेमोरी चीनमा बिक्री हुन आई फोनहरूमा प्रयोग गर्ने योजना बनाएको समाचार बाहिरियो, वाईएमटीसी यस वर्षको सुरुमा समाचारको शीर्षक बन्यो। अमेरिकी राजनीतिज्ञहरूबाट जब यसको विरुद्धमा चर्को आवाज आयो, एप्पलले उक्त योजनाहरू त्यागेको थियो र वाईएमटीसी प्रतिबन्धको निशाना बन्न सक्ने स्पष्ट देखियो।

यसैगरी कम्प्युटर निर्माता डेलले यसै महिना आफूले सन् २०२४ देखि चिनियाँ चिप्सको प्रयोग बन्द गर्ने बताइसकेको छ र प्रतिद्वन्द्वी हिउलेट प्याकार्ड बेइजिङमा रहेको सेमिकन्डक्टर फर्म सिंघुवा युनिग्रुपसँगको सहकार्य र सहलगानीबाट हट्न सक्ने बताइसकेको छ। आपूर्ति शृङ्खलाको प्रवृत्तिमा एप्पल भावी विकासको नेताको रूपमा देखापरेको छ।

त्यसैले उसले आफूलाई चीनसँगको दुरी कायम राख्न चाहन्छ, जुन गत वर्षको उल्लेख्य विषय भएको थियो। आई फोन निर्माताले आफ्नो भारतमा हुने उत्पादनलाई बढाउन खोजिरहेको छ, जबकि ताइवानी निर्माता फक्सकनले पनि भारतमा ५० करोड डलर लगानी गरिरहेको छ। एप्पलको अर्को रोजाइको देश भियतनाम पनि छ । यति हुँदाहुँदै पनि विद्युतीय आपूर्तिको सञ्जाल चीनसँग सम्बन्धित भएका कम्पनीहरूलाई पूर्ण रूपमा चीनबाट बाहिरिनका लागि लगभग असम्भव देखिन्छ ।

वासिङ्टनमा चीनविरुद्धको भावनाको आँधी नै आइरहे पनि देशमा इलेक्ट्रोनिक्सको एसेम्बल कहिले पनि समस्याको विषय भएको छैन । यीमध्येका धेरै कामहरू दशकौँसम्म एसियामा आउटसोर्स भइरहेका छन् । एसियामा हुने म्यानुफ्याक्चरिङ सस्तो भएकाले नै धेरैजसो अमेरिकी कम्पनीहरूले एसियामा आफ्नो उत्पादन गरिरहेका छन् । वासिङ्टनको प्रमुख चासोको विषय के हो भने, चीनले पनि जापान, दक्षिण कोरिया र ताइबानले यसअघि गरेजस्तै गर्ला भन्ने हो । यी देशहरूले चिप उत्पादन एसेम्ब्लीलाई प्राविधिक लाभको रूपमा लिएका थिए र उनीहरूले पछि अमेरिकालाई नै चुनौती दिएका थिए ।

अत्याधुनिक सेमिकनडक्टरले प्राविधिक जटिलताको शिखरको प्रतिनिधित्व गर्छ र वासिङ्टनले यस क्षमतालाई आफ्नो मित्र राष्ट्रहरूमा स्थानान्तरण होस् भन्ने चाहन्छ। यद्यपि, प्राविधिक विकासको अवस्था सुस्त हुने देखिन्छ । अगस्टमा सांघाईमा रहेको सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्प ७– न्यानोमिटर चिप्स बनाउन सफल भएको समाचार बाहिरिएको थियो । यद्यपि, यो ठूलो परिमाणमा भने थिएन । गत वर्ष हुवावेले अति अल्ट्राभायोलेट लिथोग्राफ्री (ईयूभी)को पेटेन्ट दर्ता गरेको थियो । यो प्रक्रिया, जसलाई ७– न्यानोमिटर चिप्सको उत्पादनका लागि प्रयोग गर्न सकिन्छ।

अमेरिकाले प्रतिबन्ध लगाउनुअघि हिसिलिकन सहुलियतको माध्यमबाट आफ्नो चिप ढाँचाका लागि धरातल निर्माण गर्न सफल भएको थियो । ईयूभी लिथोग्राफ्रीको पेटेन्टको अर्थ यो हासिल गर्न सकिन्छ भन्ने होइन । यद्यपि, डच फर्म एएसएमएलको यस किसिमको उपकरणमा हाल एकाधिकार रहँदै आएको छ।

चिनियाँ अधिकारीहरूले उनीहरू भूतपूर्व नेता देङ सियापिङको बलियो पक्षलाई लुकाएर समयमा बाजी मार्ने नीतिमा टाँसिन सक्ने समय पनि आउन सक्छ । तर, चीनसँग सम्बन्ध भएका प्रविधिका सबै टुक्राहरू निगरानीमा छन् । यस्तो देखिन्छ कि लुकाउने कुनै ठाउँ नै छैन र पछाडि कुरा काट्नेको आवाज झनझन ठूलो हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्