‘पूजारीहरु नै पापी भएपछि मन्दिरको के दोष’



वीरगञ्ज । जनकपुरधामको जानकी मन्दिर सौन्दर्यकरणको नाममा करोडौको भ्रष्टाचार भएको आरोप प्रतिनिधि सभा सदस्य मनिष झाले लगाएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै झाले जानकी मन्दिर परिसरमा मार्बल लगाउन र विद्युत जडानमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘जानकी मन्दिर सौन्दर्यकरणको नाममा दशकौँ पूराना ढुङ्गा हटाएर आधुनिक कमशल मार्बल लगाइयो । विद्युत जोड्ने बहानामा करोडौँको भ्रष्टाचार भयो ।’ मन्दिरको संरक्षण गर्ने जिम्मा पाएका पूजारीहरुले नै पाप गर्न थालेको बताउँदै उनी भन्छन्, ‘पूजारीहरु पापी भएपछि मन्दिरको के दोष ?’

एक जना एनआरएनले मन्दिरमा विद्युत जडान गर्न २ करोडको अवधारणा प्रस्तुत गरेपनि त्यसलाई लत्याएर बृहत्तर जनकपुर विकास परिषद्ले १२ करोड प्रयोग गरेकोमा व्यापक अनियमितता भएको सांसद् झाको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मार्बल र विद्युत जडानको छानविन गरेपनि प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेकोमा आपत्ती जनाउँदै उनले संलग्नहरुलाई कसैको संरक्षण भएको हुन सक्ने आशंका व्यक्त गरे ।

आक्रमणमा भत्किएको बाराको सिम्रौनगढ मन्दिर ८ सय बित्दा पनि पुर्ननिर्माणतर्फ सरकार अग्रसर नरहेकोमा उनले असन्तुष्टी पोखे । पुर्ननिर्माणको नाममा त्याहाँको ऐतिहासिक पोखरीमा माछापालन गर्नुका साथै कंक्रिटको जंगल बनाइदै गरेकोमा उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सप्तरीको छिन्नमस्ता, सलेहेश र दिनाभद्रीको गाथासँगै महोत्तरीको रौजा मजार, मठियानी मठ, रौतहटको लडैया समनपुर गढी सर्लाहीको मुर्तीया, धनुषाको जनकपुरधाम, पर्साको पारसनाथ, भिस्वा डाँडा लगाएका ऐतहासिक स्थलहरु संरक्षणको अभावमा जिर्ण बनीरहेको झाले बताए । सम्पदा र संस्कारको संरक्षणले नै पर्यटनमा सघाउ पुग्ने र पर्यटनको प्रवद्र्धन भएमा मात्रै देशले प्रगति गर्ने उनको बुझाई छ ।

विगतमा अध्यात्मको राजधानीको रुपमा परिचित मधेशको परिचय फेरिँदै गएको र परिचय फेरिएसँगै अस्तित्व पनि कमजोर बनेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्