प्रेमप्रसादको गलत नजिर !



काठमाडौं । केही दिनअघि इलामका एक जना युवा उद्यमी प्रेमप्रसाद आचार्यले राजधानीको सङ्घीय संसद्अघि नै शरीरमा आगो लगाए । उनको उपचार हुनै नपाई मृत्यु भयो । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले निकै लामो स्टाटास लेखेर आफूले अनेक ठक्कर र हण्डर खाएको, केही गर्न प्रयास गर्दागर्दै पनि नसकेको, राज्य, आफन्त कसैबाट सद्भाव र सहयोग नपाएको र आफूले जति प्रयत्न गर्दा पनि कुनै काममा सफल हुन नसकेको भन्दै समस्याका फेहरिस्त लेखे ।

२ वटी साना छोरी र श्रीमतीलाई सम्बोधन गर्दै उनले आफू ठूलो ऋणमा डुबेको र तिर्ने कुनै उपाय नभएको उल्लेख गर्दै आफू र श्रीमती दुवै जनाको अवस्था आत्महत्यामै पुग्ने देखिएकाले छोरीहरूका लागि श्रीमती नै बाँच्नु उपयुक्त हुने भन्दै आफूले आत्मदाह गरेको उल्लेख गरेका छन् ।

यस घटनाले निकै ठूलो फैलावट पाएको छ । आमजनदेखि राज्य सञ्चालकहरू समेतलाई यसले झस्काएको छ । अर्कातर्फ स्वाभाविक मानवीय मनहरूले आचार्यको परिवारको ऋण तिरिदिन र २ वटी नाबालिक छोरीलाई शिक्षा–दीक्षा तथा पालनपोषणका लागि भनेर आर्थिक सहयोग जुटाएका छन् । सम्बन्धित बैंकले निश्चित रकम नखुलाए पनि आचार्यका परिवारलाई ‘पुगिसरी हुनेगरी’ रकम सङ्कलन भइसकको जनाएका छन् ।

यो भनेको आचार्यको परिवारको ऋण तिरिसकेर पनि उनको परिवारलाई ‘व्यवस्थित’ गर्न पुग्ने रकम हो भन्ने अनुमान लगाउन सकिन्छ । बुधबारको प्रतिनिधिसभा बैठकमा समेत यस घटनाबारे सांसदहरूले प्रश्न उठाए । तर, बुधबार नै बागलुङमा अर्का एक जना ५२ वर्षीय पुरुषले आत्मदाहको प्रयास गरेका छन् । उनलाई उपचारका लागि पोखरा ल्याइएको छ । यो सम्पादकीय छापिइसक्दा उनको अवस्था के हुन्छ, थाहा छैन ।

आचार्यले आफूलाई देशका कर्मशील तर असफल युवाहरूको प्रतिनिधि पात्र बनाएर आत्मदाह गरे– राज्यलाई दबाब दिन भनेर । उनी मरेर गए । उनको परिवार सबैबाट प्रेम, सद्भाव, हार्दिकता र सहयोग पाएर केही राहतमा अवश्य गयो । तर, २ वटी नाबालिक छोरीले पिता गुमाउनुको पीडा, पितृ वात्सल्यबाट बिमुख हुनुको नमज्जा, श्रीमतीले पति गुमाउनुको असह्य दुःख त्यो सबै सद्भाव, सहयोग वा प्रेमले पूरा होला र ? यद्यपि, जे नहुनु थियो, भयो, भइसक्यो र अब मह्लम लगाउनुको विकल्प थिएन/छैन ।

यहाँ बुधबार नै बागलुङमा पनि सोही प्रकृतिको घटना दोहोरिनुले भने केही प्रश्न खडा भएका छन् । प्रेमप्रसादको ‘विद्रोह’ ‘वायु’ बनेर त सल्किएको छैन ? एक जनाले शरीरमा आगो लगाएर मरेपछि परिवारले लाखौँ रुपैयाँ सहयोग पाउनेरहेछ, परिवारलाई सुख मिल्नेरहेछ, सबैले ‘राम्रो ग¥यो’ भन्नेरहेछन् भनेर देशभर यस्तै प्रकृतिका घटना भइरहने त होइनन् ? कतै सद्भाव र सहयोगको बढी प्रचारले समाजमा नकारात्मक मनोविज्ञान त बढिरहेको छैन ? यतातर्फ विचार पु¥याउने बेला भइसकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्