सरकार तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो दलले समर्थन फिर्ता पनि नलिने बताएका हुन्। ‘सरकार केही हुँदैन। मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने।

तर पार्टी बैठकमा भने प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको ब्रिफिङ गरेको एक नेताले बताए। सोही ब्रिफिङ गरेर प्रचण्डले शुक्रबारसम्मका लागि बैठक स्थगित गराएका थिए। यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले पेरिसडाँडामा प्रचण्डलाई भेटेका छन्।

सो क्रममा रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको परिस्थितिमा एकीकृत समाजवादीको भूमिका विषयमा छलफल भएको स्रोतले बताएको छ। सो क्रममा पौडेलले रास्वपाले जे गरेपनि सरकारलाई एकीकृत समाजवादीको समर्थन रहने विश्वास प्रचण्डलाई दिलाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्