रास्वपाले सरकार नछाडने, दाहाल र ओलीलाई २ दिनको समय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्दै गृहमन्त्रीको विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई २ दिनको समय सदएको छ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बिहीबार साँझ बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने र आफ्नो माग पूरा गर्न प्रधानमन्त्री दाहाललाई २ दिनको समय दिएको हो । प्रधानमन्त्री दाहालले माग सम्बोधन गर्न २ दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

‘पार्टीको बैठकअघि प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले २ दिनको समय माग गरेकाले उनीहरूको आग्रह बमोजिम समय दिएका हौँं’, ढकालले बताए ।

नागरिकता प्रकरणमा अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई पटक पटक भेटेर दबाब दिँदैका थिए । तर प्रधानमन्त्रीले उनलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्