माधव नेपालको नजरमा पूर्वसहयात्री : माओवादी सत्ता केन्द्रित, कांग्रेस लोकतन्त्रको रक्षक



  • रमेश पौडेल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसहयात्री नेकपा माओवादी केन्द्रलाई सत्ता केन्द्रित दलको सङ्ज्ञा दिएका छन् भने कांग्रेसलाई लोकतन्त्रको रक्षकका रूपमा चर्चा गरेका छन् । शनिबारदेखि जारी नेकपा एसको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन् ।

प्रतिवदेनमा तत्काल पार्टी एकता नगर्ने, निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारण जस्ता कुरा समेटिएका छन् । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आफ्नै पार्टीका नेता/कार्यकर्ताका कारण पार्टीले थ्रेस होल्ड कटाउन नसकेको उल्लेख गरेका छन् । ‘१ नेताले ३ मत पनि माग्न सकेनौँ, जसकारण हामी निर्वाचनमा खुम्चियौँ,’ नेपालले नेताहरूलाई सम्बोधन गर्दै भने, ‘केन्द्रीय सदस्यले नै भोट नहाल्न भनेको प्रमाण हामीसँग छ । समयमा हिसाबकिताब हुन्छ ।’

अहिले भएको सत्ता गठबन्धन राष्ट्रपति निर्वाचनसम्म नजाने नेपालको दाबी छ । सत्ता गठबन्धनमा अहिले नै खटपट देखिएको हुनाले लामो समयसम्म नजाने उनको भनाइ छ । ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो, थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला,’ तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौँ, खटपट सुरु भइसकेको छ ।’

वाम एकता नगर्ने
एसले तत्काल वाम एकता नगर्ने भएको छ । ‘नेकपा एस गैरकम्युनिस्ट पार्टी बन्न नसक्ने र पार्टी एकताका लागि नाम, मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, जनवादी केन्द्रीयताको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता र समाजवादी कार्यक्रम एवं कार्यदिशा मुख्य आधार नभई तत्काल एकता नहुने’ एसको प्रतिवेदनमा उल्लेख छ । ‘सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसका निम्ति हामीले पहल गर्नु पर्छ ।’

गठबन्धन टुट्नुको कारण

एसले आफ्नो प्रतिवेदनमा कांग्रेस, माओवादीलगायतको ५ दलीय गठबन्धन टुट्नुको ४ वटा कारण औँल्याएको छ । जसमा निर्वाचनबाट ठुलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नुलाई पहिलो कारण मानेको छ।

नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपयुक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादीको सत्ता केन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति हुनु नै कारण रहेको प्रतिवेदनमा भनिएको छ ।

अपेक्षित परिणाम नआउनुकोे कारण

नेकपा एसका अध्यक्ष नेपालले प्रस्तुत गरेको दस्तावेजमा गत निर्वाचनमा अपेक्षित परिणाम नआउनुका कारण औँल्याइएको छ । जसमा पार्टी पङ्क्ति परिचालित नहुनु, गठबन्धनका दलबाट पूर्ण सहयोग नहुनु, उम्मेदवारी नपाउनेको असन्तुष्टि हुनु, पार्टीमा अवसरवादी प्रवृत्ति हाबी हुनु, जनअपेक्षित मुद्दा उठाउन र महत्व बुझाउन नसक्नु, प्रचारको काम व्यवस्थित नहुनु, निर्वाचन ज्यादै खर्चिलो हुनु, तालमेल हुँदा समानुपातिकमा असर पर्नु, प्रत्यक्षमा केन्द्रित हुँदा समानुपातिकमा असर परेको एसको निष्कर्ष छ ।

अपेक्षित परिणाम नआउनुमा निर्वाचन आयोगसमेत हाम्रा विरुद्ध भएको पनि औँल्याएको छ। नयाँ मतदातामा ‘पुरानालाई होइन, नयाँलाई दिऊँ’ भन्ने नारालाई एसले आकर्षण गर्ने नसकेको प्रतिवेदनमा छ।

पार्टी कमिटी र पार्टी सम्बद्ध जनसङ्गठनहरूमा सङ्गठित नेता तथा कार्यकर्ताहरू नै पैसा नपाई प्रचारमा नहिँड्ने प्रवृत्ति देखिएको समेत प्रतिवेदनमा छ। ‘सरकारमा पठाइएका कमरेडहरूबाट पार्टी निर्णयको अवज्ञा गर्नेजस्ता कार्यसमेत भए । सरकारमा रहेर जनतामा सकारात्मक प्रभाव पर्ने गरी काम हुन नसक्नु र पार्टी निर्णयको अवज्ञा गर्नेजस्ता कार्यहरू भए,’ एसको प्रतिवेदनमा छ, ‘हाम्रा विरुद्ध चर्को प्रहार हुनु, हाम्राविरुद्ध चर्को प्रहार र ठुलो धनराशिको प्रयोगसमेत भएपछि निर्वाचन अपेक्षित आएन ।’

नेकपा एसको नजरमा अन्य दल

अध्यक्ष नेपालले प्रस्तुत गरेरको राजनीतिक प्रतिवेदनमा नेकपा एमालेलाई संविधान मास्न लागेको आरोप लगाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।’

नेकपा (माओवादी केन्द्र)लाई भने सत्तामा केन्द्रित हुँदै आएको, स्वार्थका लागि जे पनि गर्न सक्ने भएको औँल्याइएको छ । ‘सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ,’ माओवादीलाई भनिएको छ, ‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ । तर सत्ता स्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।’

प्रतिवेदनमा कांग्रेसलाई भने संविधान र लोकतन्त्रको रक्षाका लागि लागिपरेको बताएका छन् । ‘पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ।’ नेपालको प्रतिवेदनमा उल्लेख छ । गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा स्पष्ट नरहेको तर यो पार्टी पुँजीपति वर्गको चरित्र भएको नेपालले औँल्याएका छन्।

रास्वपाको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि नभएको र संविधानको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताको विषयमा स्पष्ट नभएको नेपालको प्रतिवेदनमा छ। प्रतिनिधिसभा विघटन र नेकपा विभाजनले रास्वपालाई जन्माएको नेकपा एसको धारणा छ। ‘सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्छ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ,’ रास्वपाप्रति नेपालले भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने यो समाजको अवशेषका रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि गर्ने पार्टीको सङ्ज्ञा दिइएको छ । ‘राप्रपा संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो,’ एसको प्रतिवेदनमा उल्लेख छ, ‘यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनस्र्थापना गर्न चाहन्छ ।’

प्रतिवेदनमा जनता समाजवादी पार्टीले मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गरेको औँल्याइएको छ । जनमत पार्टी पृथकतावादी सोच अँगालेको पार्टी भएको तर अहिले संविधान मान्ने र त्यसअन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको नेपालले औँल्याएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्र भएको र मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि गर्ने पार्टी रहेको नेपालको बुझाइ छ।

नेपालको नजरमा नेपाल मजदुर किसान पार्टी श्रमजीवी वर्गको पक्षमा उभिने पार्टी हो। तर नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र सङ्कीर्णताले गर्दा निरन्तर खुम्चिँदै गएको औँल्याएको छ। यिनीहरूलाई संविधान, सङ्घीयता र गणतन्त्र मानेको पार्टीको रूपमा चर्चा गरेको छ । राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)लाई खुला राजनीतिक सङ्गठनसहित संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर सङ्घीयता नमानेको पार्टीका रूपमा चर्चा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले थारू जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएको तर स्पष्ट धारणा नभएको प्रतिवेदनमा उल्लेख छ।

न्यौपानेको फरक प्रतिवेदन

नेकपा एसका नेता मुकुन्द न्यौपानेले केन्द्रीय कमिटी बैठकमा फरक प्रतिवेदन पेस गरेका छन् । शनिबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा असहमति जनाउँदै न्यौपानेले फरक प्रतिवेदन पेस गरेका हुन् ।

उनले प्रतिवेदनमा पार्टीमा ५० प्रतिशत युवा सहभागिता हुनुपर्ने, एमालेसँग तालमेल गर्नुपर्ने उल्लेख छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई कुहिएको फलफूल भएको उनले बताएका छन् । एमालेको ‘सुकेलुतो’ आफ्नो पार्टीमा पनि सर्न थालेको भन्दै उनले आलोचनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्