चियाको सुरूपसुरूप र इलामको सेरोफेरो



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । घरमा कोही आउँदा पहिले नै हामी सोध्ने गर्छौं, ‘तातो चिसो के ल्याऊँ ?’ बाटाघाटामा कसैलाई भेट्दा पनि उही आतिथ्य देखाउँछौँ, ‘चिया १ कप पिऊँ न।’ यो हाम्रो मन–मुटुसँग गाँसिएको संस्कृति जस्तै भइसकेको छ अहिले । देशमा चिया दिवस नै मनाइन्छ, १५ वैशाखमा हरेक वर्ष। सरकारी संस्था राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार अहिलेसम्म नेपालमा १६ हजार १२० हेक्टर जमिनमा चिया खेती गरिन्छ । यो बाली बर्सेनि वृद्धि हुँदै छ र देशका २८ वटा जिल्लामा वृद्धि भइसकेको छ ।

देशैभरि १६ हजारभन्दा बढी चिया किसान छन् र ६० हजारभन्दा बढी यसका श्रमिक पनि । चालू दशौँ योजनाको आधार वर्ष आर्थिक वर्ष २०७६÷०७७ मा १ लाख १ हजार १८५ मेट्रिक टन चिया त निकासी नै भएछ, २ अर्ब ७८ करोड रूपैयाँ बराबरको। अर्को आर्थिक वर्ष २०७७/०७८ मा देशले १ लाख १ हजार ९२० मेट्रिक टन चिया निर्यात गरेर ३ अर्ब ७९ करोड ७१ लाख रूपैयाँ कमाएछ पनि, भन्सार विभाग यही भन्छ।

मूल्य हेर्दा प्रतिकिलो १ हजार देखि सामान हेरेर ४० हजार रूपैयाँसम्म पर्छ रे ! सामान्य नेपालीलाई यो सुन्दा कानका रौँहरू ठडिन्छन् होला । नेपाली अर्थोडक्स चियाले ट्रेडमार्क पाएपछि त चिया उद्यमीहरूको भुइँमा खुट्टै पो छैन नि । सरकारले यसको निर्देशिका, २०७६ पनि जारी गरिसकेको छ।

थरिथरिका चिया छन्– ग्रिन टी, सिल्भर टी, यल्लो टी, ब्ल्याक टी । स्वाद र प्रकारअनुसार फरक। चीनको सिजुवान प्रान्तमा त चिया म्युजियम नै रहेछ– पर्यटन आकर्षणको केन्द्र बनेको। चीन, जापानमा मात्र नभएर संसारमै सभ्यताको प्रतीक भएको छ चिया। हाम्रो प्रमुख स्थल इलाममै २५ वटाभन्दा बढी चिया प्रशोधन केन्द्रहरू छन् । इलम गर, उद्यमी बन भन्ने इलामको सन्देश हो। इलाम नपुग्ने हामी सायदै कोही हौँला, यो लेखको आशय यसै सेरोफेरोभित्रको छ ।

चियाको उदय

हिजोआज चियालाई बढी उपभोगको पेय पदार्थ र सभ्यताको रूपमा लिइन्छ। सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय पदार्थ होला यो। चियाका पारखीहरूले भन्ने गरेका छन्, यसको उदय चीनबाट भएको हो, ईशापूर्व दशौँ शताब्दीदेखि नै। चीनमा ई.पू. दशौँ शताब्दीमा सम्राट सुन नुङ भन्ने एक जना शासक थिए।

उनी देवदूत सम्झन्थे आफूलाई । देवताको अंश रूप मान्ने उनले दैवी शक्तिका रूपमा आफ्ना नागरिकहरूलाई उपचार पनि गर्थे । स्वास्थ्यको फाइदाका लागि सधैँ उनी तातो पानी पिउँथे । एक दिन तातोपानी राखिएको भाँडामा सानो रूखबाट हरियो पात खसेछ। केहीबेरमै पानी ङ्ंगिएछ, बास्ना पनि मिठो आउन थालेछ। त्यो तातो पानी पिउँदा थप आनन्द भएछ सम्राटलाई। त्यसै दिनदेखि उनले दैवी चमत्कार, स्वर्गबाट पठाइएको पदार्थ चिया भनी भन्न थालेछन्।

यसपछि चियाको उपभोग बढ्दै गएछ । चियालाई एसियाकै आफ्नो उत्पादन भनिन्छ । चीनबाट घरेलु उत्पादनको रूपमा सुरु भएको चिया १६औँ शताब्दीमा चीन, कोरियालगायत जापानमा व्यापारिक खेती काम आरम्भ भएछ । पछि पोर्चुगलका व्यापारीहरूले पश्चिमी मुलुकतिर पनि यसको प्रचारप्रसार, खेती र व्यवसाय सुरु गर्न थालेछन्। सुरुमा घरेलु महिलाहरूले चीनमा चियामा चिनी वा अन्य गुलियो पदार्थ मिाएर खान थाले । महिलाकै स्वादका लागि प्रसिद्धि पाएको चियाले खासगरी स्त्रीहरूकै आहारको रूपमा लिने गरियो । प्रायः अहिले पनि फिक्का चिया बिहानै ‘बेड टी’का रूपमा लिने गरिन्छ ।

पङ्क्तिकार चियाको पारखी होइन तर भर्खरै पेटको अपरेसनपछि मलाई अस्पतालमा ‘१ कप फिका चिया दिनू है’ भनियो रुङालुलाई । चिया बोट र यसको हरियालीबारे इलाममा लामो समय बसेरै पङ्क्तिकारले यसको अनुसन्धान पनि गरेको थियो जीवनको उर्बर बेला । अब त बूढ्यौली लाग्यो, प्लेन चढ्नै सातो जान्छ, पोखराको दृश्य हेर्दा ।

हो, कसैले फिक्का, कसैले दूध हालेर, कसैले हरियो चिया, कसैले हर्बल चिनी हालेर वा नहालेर पिउने गर्छन् धेरै ठाउँका मानिसहरू । जति सानो पातबाट चिया बनाइन्छ, त्यति यसको मूल्य बढी पर्ने गर्छ। हरियो र फिक्का चियाले क्यान्सर रोगबाट टाढा राख्छ भनिन्छ । सबैभन्दा बढी चिया पिउने त आयरल्यान्डका मानिस हुन्, औसत ४ कप दैनिक ।

अन्यत्रतिर

चिया उपभोग गर्ने विश्वकै राष्ट्रहरूमध्ये भारत अग्रस्थानमा छ। अमेरिका र क्यानाडामा भने हामीले पिएझैँ तातो चिया पिउने गरिँदैन। यहाँ ८० प्रतिशत आइस टी अर्थात् बरफ चिया पिउने गरिन्छ।उत्पादनको दृष्टिले हेर्दा सबैभन्दा बढी चियाको उत्पादन एसिया एवं अफ्रिकी देशहरूमा नै हो। बर्मामा त चियाको अचार खाइन्छ। सन् १९०३ मा अमेरिकी व्यापारीहरूले निचियाँ सिल्क भागमा चिया राखी बिक्री गर्न सुरु गरे तर व्यावसायिक रूपमा यसले सफलता हासिल गर्न सकेनन्।

पछि अमेरिकी नागरिक विलियम हर्मान्सले आधुनिक चिया ब्यागकै सुरुआत गरे र सन् १९३० मा एउटा चिया कम्पनीलाई आफ्नो पेटेन्ट राइटको सम्पत्ति संरक्षण अधिकार बिक्री पनि गरे। दोस्रो विश्वयुद्धपछि सन् १९५३ मा टेट्ले नामक एक बेलायती कम्पनीले व्यावसायिक टी व्याग बजारमा ल्यायो र बेलायती बजारमा यसपछि चिया फक्रियो। स्विट्जरल्यान्डमा सन् १९८३ देखि बोतलमा भरेर चिसो चियाको औद्योगिक उत्पादन सुरु भयो।

सन् १९८१ देखि जापानमा तयारी चियाको बिक्री अत्यधिक हुन थाल्यो । युरोपमा दूध हालेको चिया खाने चलन सन् १६८० देखि प्रारम्भ भयो । हिमाली भेगमा चौँरीको घीउ र नुन मिलाएर पिउने चलन छ हामीकहाँ । बेलायत, अमेरिकामा अलैँची, दालचिनी, सुकुमेल आदि मसला मिसाई पिउने चलन छ । अल्जेरिया, लिबिया, मोरक्को, उत्तर अफ्रिकी आदि देशहरूमा चियाको गिलासमा फिँज आउनेगरी माथिबाट चिया खन्याउने गरिन्छ ।

हामीकहाँ सूर्याेदय नै सायद चियाले गराउँछ, इलाम, झापामा पहिलो घाम झुल्केजस्तै गरी। फिक्कल र श्रीअन्तु डाँडामा धेरै समय रमाएको छ पङ्क्तिकार, दार्जिलिङ त पारि भइगयो, त्यहाँ नपुग्ने नेपाली पनि धेरै कम होलान्।

एकैछिन दार्जिलिङतिर

झापाको चारआली, बिर्तामोड, उकाली चढ्दै फिक्कलको चिया बगानको आनन्द लुट्दै, हर्कटे बजार, त्यहाँबाट इलाम जाने बाटो छाड्दै पशुपतिनगर भन्सारबाट साँघुरो तर पिच, जङ्गलै जङ्गलको बाटो भई दार्जिलिङ पुगिन्छ। जोरपोखरी र बाक्ला रूखहरू देब्रेतिर नेपाली सिमाना, दाहिनेतिर भारतीय, घमाइलो दृश्यबीच त्यहाँ पुगिन्छ।

यो पहाडी क्षेत्र हो, सबैतिर बाटो साँघुरो छ, भिरालै भिरालो वस्तीबीच दार्जिलिङले आफ्नो नाम कमाएको छ– तीन टीले । टी अर्थात् चिया, टी अर्थात् टुरिजम र टी अर्थात् ट्रान्सपोर्टेसन। ओरालो घरघरै रेल चल्छ त्यहाँ र विद्युतीय बस पनि । बृटिश इन्डियाकै पालामा वातानुकूलित शहरको रूपमा चिनिएको दार्जिलिङको महत्व अहिले पनि घटेन। मिलेका चिया बगान, अङ्ग्रेज शासनकालका दरबारहरू, राम्रा स्कुल, कलेज, सङ्ग्रहालय र घरका दैलादैलामा रेल त्यहाँका विशेषता।

इलामकै चर्चा

आधुनिक चिया कुनै स्थान विशेषको मात्र छैन, यसले विश्व बजार ढाकेको छ। २००७ सालपछि यसले नेपाली संस्कृतिको रूपमा प्रश्रय पायो। त्यसो त करिब डेढ सय वर्ष पहिले गजराजसिंह थापाले उही चीनबाट उपहार स्वरूप चियाको बिउ ल्याई इलाममा रोप्न लगाए।

सन् १८६२ मा नेपालमा चिया खेती आरम्भ भए पनि व्यावसायिक खेती भने सन् १९६० देखि मात्र भयो। पछि झापा, पाँचथरतिर पनि यसको खेती सुरु भयोे र हाल यसले अन्य क्षेत्रमा पनि प्रश्रय पायो।इलामको फिक्कल चियाको प्रसिद्ध क्षेत्र हो। नगदे बालीका रूपमा लिइएको चियाले डलरको खेती पनि हुने सम्भावना देखेर राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई सन् १९८० मा चिया क्षेत्र घोषणा गरे।

हाम्रो देशमा १२४ वटाभन्दा बढी चिया बगान र ५० वटाभन्दा बढी प्रशोधन काराखाना छन् । तर, विश्वका अन्य देशको तुलनामा हाम्रो चिया उत्पादन नगन्य छ। आर्थिक वर्ष २०५७/०५८ देखि देशभर चिया निकासी हुन थालेको हो । विगतमा १० वर्षको अवधिमा झण्डै २ अर्ब रूपैयाँभन्दा बढीको चिया निर्यात भइसकेको छ।

आ.व. २०५७/०५८ तिर त देशमा ९ करोड ८० लाख रूपैयाँभन्दा बढीको चिया आयात नै हुन्थ्यो, अहिले त्यो आँकडा घटेको छ। चियामा लगानी ठूलै छ, लाखौँ किसानहरू चिया खेतीमा संलग्न छन्, चिया पनि गुणस्तरीय छ र विश्व बजारमा नेपाली चियाले उचित बजार भने पाइसकेको छैन। इलामका पूर्वी पहाड कन्याम, सोक्तिम, चिलिमकोट, जसवीरे, पानीटार, पाँचथरका कन्चनजङ्घा, पाथीभरा अनि झापाका बुधबारे, बर्ने, टोकलालगायत धेरै ठाउँमा पुग्दा जोकोहीलाई पनि चियाले नै मन लोभ्याउने गर्छ । यहाँका चिया बगानका फाँट हेर्दा जोकोहीको मन कल्पिन पुग्छ ।

सामान्यतया मिठो चिया उत्पादनका लागि उचित भू–बनोट, पहाडी क्षेत्र ७ हजार २०० फिटसम्मको उचाइ राम्रो मानिन्छ । चिनियाँ र आसाम गरी चियाका २ प्रकार छन्। स्वाद फरकफरक हुने यस्ता चिया चिसो पहाडी क्षेत्रमा रोपिन्छ। पातलाई नरम बनाई रोलिङ गरी ड्राइङपछि ग्रेडिङ गरिन्छ। यसपछि सीटीसी चिया तयार हुन्छ। कट टियर कर्ल पद्धतिद्वारा उत्पादित चिया सीटीसी चिया हो। अर्थाेडक्सबाट बचेको डाँठलाई समेत प्रयोग गरी सीटीसी चिया बनाइन्छ ।

चियाको २ पत्ता सुइरोबाट पहिले ड्राई वा स्टिम गरिन्छ। यसरी तयारी भएको चियालाई ग्रिन टी भनिन्छ। अरू टीभन्दा ग्रिन टी महँगो हुन्छ । ग्रिन टीले मोटोपना रोक्ने, बूढेसकालका फुर्ती दिने भनी अमेरिकी जर्नल क्लिनिकल जर्नल अफ न्युट्रिसनमा प्रकाशित छ । ग्रिन टी उपभोग गर्ने व्यक्ति शारीरिक रूपमा तन्दुरुस्त तथा सक्रिय र स्वस्थ रहेको पाइएको कुरा सो अमेरिकी जर्नलले पुष्टि गरेको छ।

विश्वमा अचेल दैनिक ४ अर्ब कपभन्दा बढी चियाको खपत हुने गरेको छ। नेपालमा चियाको व्यावसायिक खेती गरिनुअघि भारतको दार्जिलिङमा चियाको व्यावसायिक खेती गरिएको होे। चियाको सरदर आयु १०० वर्षको भए पनि ९ देखि ४० वर्षको उमेरको चिया बढी गुणस्तरीय हुन्छ।

प्रतिक्रिया दिनुहोस्