किन घट्यो निर्यात ?



  • रमेश पौडेल

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ६ महिनामा कुल वस्तु निर्यातमा ३२ प्रतिशतले कमी आएको छ । यस अवधिमा ८० अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी निर्यात घट्नुमा भरतले नेपालसँग किनिरहेको वस्तु अन्य देशबाट किन्न थालेपछि निर्यात घट्न थालेको अर्थविद् बताउँछन्। ‘हाम्रो वस्तु धेरै मात्रामा बिक्री गर्ने भनेको भारतलाई हो,’ अर्थविद् केशव आचार्य भन्छन्, ‘भारतले नेपालको भन्दा सस्तो भन्सार दरमा मलेसिया, थाइल्यान्ड जस्ता मुलुकबाट सामान किन्न थालेको छ।’ बैंकका अनुसार भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार अहिले विश्व बजारमा मूल्य वृद्धि हुँदा पनि धेरै मात्रामा निर्यात घटेको हो। ‘मूल्य बढ्दा पनि निर्यात घटेको छ,’ अधिकारी भन्छन्, ‘हामीले वस्तुको स्केल बनाउन नसक्दा पनि निर्यातमा कमी आएको हो।’ नेपालले सामानको गुणस्तरअनुसारको ब्रान्डिङ गर्न नसक्दा पनि निर्यातमा कमी आएको उनको भनाइ छ। ‘अवैध बाटोबाट निर्यात भएका कारण पनि निर्यातको आँकडा कम देखिएको छ,’ अधिकारी भन्छन् ।

यस्तै, समीक्षा अवधिको ६ महिनामा कुल आयातमा २०.७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेसनरी सामानलगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस बिलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्टस्लगायतको आयात घटेको छ ।

निर्यात बढाउन आन्तरिक उत्पादन बढाउनुपर्ने अर्थविद्हरू बताउँछन् । ‘मूल्य र गुणस्तरलाई पनि ध्यान दिनुपर्ने अवस्था आएको छ,’ अर्थविद् आचार्य भन्छन्, ‘नेपालले खाद्यान्न र पेय पदार्थमा पनि आफैँले उत्पादन बढाएर त्यस्ता वस्तु आयातमा कमी ल्याउनुपर्छ ।’ त्यसरी खाद्यान र पेय पदार्थको आयातमा कमी ल्याउन सके आयातको मात्रा घट्ने भएकाले निर्यात बढी हुने उनको तर्क छ ।
नेपालबाट परम्परागत रूपमा भएका निर्यातका सामग्री ब्रान्डिङ गर्नेदेखि गुणस्तर बढाउनेसम्म काम गर्नुपर्ने आचार्यको भनाइ छ । ‘चिया, अलैँँची र अन्य विभिन्न आयुर्वेदिक सामानको ब्रान्डिङमा ध्यान दिनुपर्छ,’ आचार्य भन्छन्, ‘ब्रान्डिङ गरेर मात्र हुँदैन, त्यस्ता वस्तुको गुणस्तरमा पनि ध्यान दिनुपर्छ, अनि निर्यात बढ्छ ।’

निर्यात कम हुनुको कारण बुझेर समाधान खोज्नुपर्ने अधिकारी बताउँछन् । ‘कुन क्षेत्रमा निर्यात गर्ने सामानको उत्पादन कम भइरहेको छ, त्यसको पहिचान गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसलाई फोकस गरेर समाधानको बाटो खोज्नुपर्छ ।’ सरकारले लगानीको प्रत्याभूति, उच्चतम प्रविधि, कर्जाको सहजीकरण, बजारको व्यवस्था गरेमा निर्यात बढ्ने अधिकारी बताउँछन्। समीक्षा अवधिको ६ महिनामा कुल व्यापार घाटामा १९.२ प्रतिशतले कमी आई ७ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९ प्रतिशत थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब १० अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको थियो।

प्रतिक्रिया दिनुहोस्