गाईवस्तु चोरलाई समातेपछि भारतीय समूहले नेपालीमाथि चलायो गोली



सप्तरी । सप्तरीमा गोली चलेको छ। बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीकाअनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो। कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरूषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो।

आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आएको प्रहरीले जनाएको छ । उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए।

गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ। ‘सामान्य चोट लागेको छ। घरमै बस्छु भन्नुभएको छ,’ उनले भने। घटनास्थल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टबाट टाढा भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्