विकासमा पुँजीको उत्पादन तथा प्रतिफल अनुपातको महत्व



  • गम्भीरबहादुर हाडा

काठमाडौं । कुनै पनि राष्ट्रको अर्थतन्त्र सन्तुलित र दिगो रूपमा अगाडि बढ्नका लागि विभिन्न तत्वहरू जिम्मेवार हुन्छन्। एउटा देशको अर्थतन्त्र वा उद्योग, कम्पनी राम्ररी सञ्चालन गर्नका लागि पुँजी आधारभूत तत्वका रूपमा रहेको हुन्छ। विश्लेषकहरू तर्क गर्छन् कि पुँजी कुनै पनि देशको अर्थतन्त्र सुदृढ गर्ने एउटा मात्र केन्द्रीय तत्व होइन तर देशको आर्थिक वृद्धिमा यसको निर्णायक भूमिका भने उच्च रहने गर्छ।

स्पष्ट छ, राष्ट्रका कम्पनी वा उद्योगको अर्थतन्त्रमा पुँजीको लगानी र आम्दानीबीच पारस्परिक सम्बन्ध रहेको हुन्छ। पुँजी निर्माण तथा लगानीपश्चात् मात्र राष्ट्रको आम्दानी, उद्योग वा कम्पनीको आम्दानीमा गतिशीलता आउने वा आय वृद्धि हुने कुरा सर्वविदितै छ। यदि कुनै राष्ट्रको अर्थतन्त्रमा वा निजी कम्पनी उद्योग, फर्म आदि क्षेत्रमा जुन तहमा पुँजी लगानी गरिन्छ, पुँजी निर्माण गरिन्छ, सोहीअनुरूप प्रतिफल प्राप्त हुनु, आम्दानी वृद्धि हुनुलाई पुँजीको प्रतिफल वा उत्पादन अनुपात भनिन्छ । स्पष्ट भन्नुपर्दा यो पुँजी लगानीको मूल्य र उत्पादन प्रतिफल मूल्यबीचको सम्बन्ध नै पुँजीको उत्पादन अनुपात हो।

कुनै पनि अर्थतन्त्रमा पुँजीको प्रतिफल लागत ५ः१ छ भन्नाले १ अनुपात प्रतिफल प्राप्त गर्न ५ अनुपात पुँजी लगानी आवश्यकता पर्छ भन्ने कुरा बुझिन्छ। पुँजी प्रतिफल अथवा उत्पादन अनुपातका प्रकारहरूमा (१) औसत पुँजी प्रतिफल अनुपात, (२) सीमान्त वा वृद्धि पुँजी–प्रतिफल अनुपात पर्छन्।

औसत पुँजी उत्पादन वा प्रतिफल अनुपात भन्नाले पुँजीको विद्यमान भण्डारण र वर्तमान प्रतिफलको ‘रिजल्ट्यान्ट फ्लो’बीचको सम्बन्धलाई बुझाउँछ। औसत पुँजी प्रतिफल अथवा उत्पादन अनुपातले विद्यमान पुँजीको मौज्दात तथा त्यसको परिणाममा भएको वर्तमान उत्पादन प्रवाहबीचको सम्बन्ध देखाउँछ। औसत पुँजी उत्पादन अनुपातले विगतमा लगानी गरिएको तथा सम्पूर्ण आम्दानीलाई जनाउँछ।
त्यसैगरी सीमान्त तथा वृद्धि पुँजी–प्रतिफल अनुपात भन्नाले प्रतिफलको वृद्धि रकम र पुँजी सञ्चयको वृद्धिमा देखापरेको परिणामबीचको सम्बन्धलाई बुझिन्छ। डी. ब्राइट सिंहको भनाइअनुसार सीमान्त वा वद्र्धनीय पुँजी–उत्पादन अनुपात भनेको एउटै समय अवधिमा पुँजीमा भएको वृद्धि तथा उत्पादनमा भएको वृद्धिबीचको सम्बन्ध हो ।

औसत पुँजी प्रतिफल अनुपात र वृद्धि पुँजी प्रतिफल अनुपातलाई अझ बढी प्रष्ट्याउनुपर्दा पुँजीको प्रतिफल अनुपातलाई प्रभाव पार्ने तŒवहरूमा (१) उपयोग गरिएको पुँजी रकम, (२) जनसङ्ख्या वृद्धि, (३) प्राकृतिक स्रोतहरूको आपूर्ति, (४) प्रविधि विकासको तह, (५) माग ढाँचा, (६) रोजगार नीति, (७) लगानी दर, (८) साधनहरूको मूल्य परिवर्तन, (९) रोजगारीको स्थिति, (१०) शिक्षाको प्रसार, (११) आर्थिक–सामाजिक आधारशिला । प्रयोगमा ल्याइएको पुँजीको रकम पुँजी प्रतिफल अनुपात निर्धारण गर्ने महतत्वपूर्ण तत्व हो । वार्षिक रूपमा लगानी गरिएको राष्ट्रिय आम्दानीको समानुपातमा नै पुँजीको प्रतिफल उत्पादन अनुपात निर्भर रहन्छ । हेगेनका अनुसार अल्पविकसित राष्ट्रहरूमा जनसङ्ख्या तीव्र रूपमा बढिरहेको हुन्छ, जसले गर्दा पुँजीको प्रतिफल अनुपात न्यून हुन्छ।

सामाजिक खर्चका लागि पुँजीको बचत गरिन्छ। यदि बढ्दो जनसङ्ख्या कृषि क्षेत्रमा समावेश भएको छ भने पुँजी प्रतिफल अनुपात न्यून हुन्छ किनभने कृषि व्यवसाय न्यून पुँजी प्रकृतिको हुन्छ। यदि बढ्दो जनसङ्ख्या शहर केन्द्रित छ भने पुँजी प्रतिफल अनुपात निश्चित रूपमा वृद्धि हुन्छ किनभने विद्यालय, पानी, बिजुली आदि आवश्यकता पूर्ति गर्नका लागि थुप्रै पुँजी लगानी गरिन्छ। प्राकृतिक स्रोतको उपलब्धतामा पुँजी प्रतिफल अनुपात निर्भर रहन्छ । कुनै राष्ट्रमा प्रशस्त प्राकृतिक स्रोतका कारण निम्न पुँजी–प्रतिफल अनुपात हुन्छ किनभने प्राकृतिक स्रोतलाई पुँजी प्रतिस्थापन गर्ने सम्भावना हुन्छ । पुँजी स्रोतको अभावले गर्दा पनि पुँजी प्रतिफल अनुपात वृद्धि हुन्छ।

उदाहरणका लागि : नर्वेको पुँजी प्रतिफल अनुपात उच्च छ, जसमा प्राकृतिक स्रोत आपूर्तिको हात रहेको देखिन्छ । प्रविधिको विकासले पुँजीको प्रतिफल अनुपातलाई प्रभाव पार्छ। यदि प्रविधि अन्वेषणका कारण प्रविधिको प्रगति भइरहेको छ भने पुँजीको प्रतिफल अनुपात पनि वृद्धि दिशामा हुन्छ । प्राविधिक विकासको प्रकृतिले पुँजी तथा श्रम केन्द्रित अन्वेषणलाई जोड दिन्छ।

यदि प्रविधिको विकास पुँजी केन्द्रित भएमा निश्चय नै पुँजीको प्रतिफल अनुपात उच्च हुन्छ र पनि प्राविधिक विकास श्रम केन्द्रित भएमा पुँजीको प्रतिफल अनुपात न्यून हुन्छ अर्थात् घट्छ। मागको ढाँचाले पनि पुँजीको प्रतिफल अनुपातलाई प्रभाव पार्छ । पूर्ण प्रतिस्पर्धाको अर्थतन्त्रमा उल्लेखित मूल्य र आम्दानीमा नै प्राथमिकता तथा रुचिहरूमा परिवर्तन आउँछ भने समयअनुसार मागको ढाँचामा परिवर्तन आउँछ । यसले पुँजीको माग र पुँजीको प्रतिफल अनुपातमा प्रभाव पार्छ ।

रोजगार नीतिमा पनि पुँजीको प्रतिफल अनुपात निर्भर रहन्छ । उच्च जनसङ्ख्या भएको देशमा राज्यको नीति बेरोजगारहरूलाई राहत प्रदान गर्ने दिशामा हुन्छ, जसले गर्दा बाटो, पानी, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा पुँजी लगानी गर्नुपर्छ । यदि औद्योगिक क्षेत्रमा बेरोजगारहरूलाई सरकारको नीति केन्द्रित रहेको छ भने कृषि अर्थतन्त्र अवलम्बन गरेका राष्ट्रहरूको तुलनामा पुँजीको प्रतिफल अनुपात न्यून हुन्छ । पुँजीको प्रतिफल अनुपात लगानीको दरमा पनि निर्भर रहन्छ ।

लगानीको दरसँग पुँजीको प्रतिफल दरको सोझो समानुपातिक सम्बन्ध रहेको हुन्छ । उदाहरणका लागि यदि राष्ट्रमा रेलमार्ग, बाटो, विद्यालय, अस्पताल आदिमा उच्च लगानी गरिएको छ भने पुँजी प्रतिफल अनुपात उच्च रहेको हुन्छ । यदि कृषि र साना उद्योगमा लगानी गरिएको छ भने पुँजी अनुपात प्रतिफल न्यून हुन्छ। उत्पादन साधनहरूको मूल्यमा परिवर्तन हुनाले प्रतिस्थापन प्रभावद्वारा पुँजी–उत्पादन अनुपात परिवर्तन हुन्छ।

यदि ज्याला, ब्याज, कच्चा पदार्थको मूल्य वृद्धि भएमा लगानीको लागत बढ्छ र पुँजी–उत्पादन अनुपात पनि बढ्छ । देशमा बेरोजगारी अतिकम छ भने पुँजीलाई राष्ट्रिय आय वृद्धि गर्न प्रयोग गरिन्छ, जसबाट पुँजी–उत्पादन अनुपात कम हुन्छ । तर, देशमा व्यापक बेरोजगारी छ भने उपलब्ध पुँजीको अधिकांश भाग रोजगारी दिन सार्वजनिक निर्माण–कार्यमा खर्च गरिन्छ।

यसबाट विकासको दर घट्छ र पुँजी–उत्पादन अथवा प्रतिफल अनुपात बढ्छ । देशमा शिक्षा व्यापक रूपमा प्रसार भएको छ भने श्रमको कार्यकुशलता बढ्छ। यसले गर्दा उत्पादनका साधनहरू उच्चस्तरीय रूपमा प्रयोग हुन्छ र उत्पादकत्व वृद्धि हुन्छ। फलस्वरूप पुँजी–उत्पादन अनुपात घट्छ । अशिक्षा व्याप्त रहेको देशमा पुँजी–उत्पादन अनुपात बढी हुन्छ। विकासको प्रारम्भिक चरणमा आर्थिक–सामाजिक आधारशिलामा अत्यधिक खर्च गर्नुपर्छ। यसले गर्दा पुँजी–उत्पादन अनुपात बढी हुन्छ। तर, यी सुविधाहरूबाट प्रतिफल प्राप्त हुन थालेपछि पुँजी–उत्पादन अनुपात कम हुन्छ।

पुँजीको प्रतिफल अनुपातमा प्रभाव पार्ने अन्य तत्वहरू :

  • शिक्षाको विस्तार
  •  शहरीकरण
  • औद्योगिकीकरण
  • आयात र निर्यातको प्रभाव
  • सङ्गठनात्मक सीपको गुण
  • सामाजिक/आर्थिक खर्चको उपयोग ।

पुँजी उत्पादन अथवा प्रतिफल कहिले बढी हुन्छ ?

(१) यदि देशमा भारी उद्योगहरूको स्थापना गरिन्छ भने पुँजी उत्पादन अनुपात बढी हुन्छ । (२) यदि युद्धोपरान्त अथवा बाढी र भूकम्पपछि विभिन्न सार्वजनिक कार्यहरू (घर, सडक आदिको निर्माण)को अन्तर्गत धेरै लगानी गरिरहेको छ भने पुँजी उत्पादन अनुपात बढी हुन्छ । साना तथा घरेलु उद्योगहरूभन्दा ठूला उद्योगहरूको विकास र विस्तारलाई बढी महत्व दिएमा पुँजी उत्पादन अनुपात बढी हुन्छ।
कृषिमा पुँजी उत्पादन अनुपात कम हुन्छ । पुँजीगत सामानको क्षमतालाई पूर्ण उपयोग नगरिएमा पुँजी उत्पादन अनुपात बढी हुन्छ।

यस कारण यो मन्दीको समयमा बढी र तेजीको समयमा कम हुन्छ । कर वृद्धि, मजदुरी वृद्धि र कच्चा मालको मूल्यमा वृद्धि गरेर पुँजी उत्पादन अनुपातमा प्रतिकूल प्रभाव पार्छ । अर्थात् यस्तो अवस्थामा यो अनुपात बढ्न जान्छ । उद्यमकर्ता, प्रबन्धकर्ता र श्रमिकहरूको अकुशल भएमा उत्पादन घट्न जान्छ, जसले गर्दा पुँजी उत्पादन अनुपात बढ्छ । उत्पत्ति ह्रास नियम लागू भएमा पनि पुँजी उत्पादन अनुपात बढ्छ । दीर्घ समय अन्तराल भएको परियोजनाहरूमा पनि पुँजी उत्पादन अनुपात बढ्छ । पुँजीप्रधान प्रविधिहरू अपनाएमा पनि पुँजी उत्पादन अनुपात बढ्छ ।

पुँजी उत्पादन/अनुपात कहिले कम हुन्छ ?

(१) यदि देशमा भारी उद्योगहरूभन्दा लघु तथा घरेलु उद्योगको स्थापना र त्यसको विस्तार भइरहेको छ भने । (२) यदि देशमा श्रमप्रधान प्रविधि अपनाइरहेको छ भने । (३) यदि उद्योगहरूको समस्त क्षमताको उपयोग गरिरहेको छ भने । (४) यदि उत्पादन वृद्धि नियम लागू भइरहेको छ भने । (५) यदि देशको उद्यमकर्ता, प्रबन्धकर्ता र श्रमिक कुशल छ भने । (६) यदि कम समय अन्तराल भएका परियोजनाहरू चालू छन् भने । (७) यदि देशमा आन्तरिक र बाह्य किफायतहरू उपलब्ध छन् भने । (८) यदि देशमा नयाँनयाँ साधनहरूको खोजी गरिरहेको छ भने ।

उच्च पुँजी उत्पादन अनुपातका पक्षमा तर्कहरूमा अल्पविकसित देशमा पुँजीको प्रतिफल अनुपात उच्च हुनुपर्छ भनिन्छ किनकि यहाँ पुँजी स्रोतहरू प्रयोगहीन अवस्थामा हुन्छन् । उत्पादनको परम्परावादी सोचले गर्दा गर्दा त्यहाँ थुप्रै पुँजीका स्रोतहरू प्रयोगविहीन अवस्थामा हुन्छन्। अल्पविकसित देशमा प्राकृतिक स्रोतहरूको आपूर्ति सीमित हुन्छ र तिनीहरूलाई पुँजीद्वारा धेरैभन्दा धेरै प्रतिस्थापन गर्नुपर्छ, जसले गर्दा पुँजी प्रतिफल अनुपात वृद्धि हुन्छ । अल्पविकसित देशमा थुप्रै

सामाजिक/आर्थिक खर्चहरू : यातायात, शक्ति, शिक्षा आदिमा आवश्यक पर्छ, जुन खर्च पुँजीद्वारा प्रभावित हुन्छन् । प्राविधिक पछौटेपन उच्च पुँजी प्रतिफल अनुपातको मुख्य कारण हो, पिछडिएको प्राविधिक कारण पुँजी कम उत्पादनमुखी हुन्छ । अल्पविकसित देशमा पुँजीको प्रतिफल अनुपात उच्च हुनुपर्छ, जहाँ प्राकृतिक स्रोतहरूको उपयोग गर्नका लागि उच्च मात्रामा पुँजीको आवश्यक पर्छ ।

अल्पविकसित देशमा नयाँ मेसिन, औजार तथा इन्टरप्राइजेज हरेक कच्चा पदार्थ र पुँजी लगानीभन्दा टाढा हुन्छन्, जसले गर्दा पुँजीको प्रतिफल अनुपात उच्च हुन्छ। अल्पविकसित राष्ट्रमा पुँजीयोग्य वस्तुको, पुँजी निर्देशित वस्तुको उत्पादन गर्ने कुशलता कम रहेको हुन्छ, जसले गर्दा पुँजी केन्द्रित वस्तुको उत्पादनमा उच्च खर्च लाग्छ र पुँजीको प्रतिफल अनुपात उच्च हुन्छ। निम्न पुँजी उत्पादन तथा प्रतिफल अनुपातको पक्षमा तर्कहरूमा अस्तित्वमा रहेको पुँजीको पूर्ण परिचालनले पुँजीको प्रतिफललाई निम्न बनाउँछ । एउटा अल्पविकसित राष्ट्र पुँजीको अभावले गर्दा पुँजी बचततर्फ लागेको हुन्छ र तिनीहरूले श्रम केन्द्रित प्रविधिलाई अवलम्बन गर्छ, जसले गर्दा निम्न पुँजीको आवश्यकता पर्छ।

जनसङ्ख्याको वृद्धिले गर्दा पुँजीको प्रतिफल अनुपात घट्दो हुन्छ। अल्पविकसित देशमा पुँजी लगानीका कारण प्रतिफल बढेको पाइन्छ, जहाँ प्राकृतिक स्रोत र साधनको उच्च उपयोग गरिएको हुन्छ। स्रोत र साधनको पूर्ण परिचालनका कारण पुँजीको प्रतिफल अनुपात निम्न हुन्छ। कृषि उत्पादन तथा श्रम केन्द्रित विकासका कार्यहरू गर्ने सम्बन्धमा पुँजी प्रतिफल अनुपात न्यून हुन्छ। योजनाबद्ध अर्थतन्त्रको तुलनामा योजनाविहीन अर्थतन्त्रमा पुँजीको प्रतिएकाइ प्रतिफल न्यून हुन्छ।

पुँजीको प्रतिफल अनुपातका सीमाहरूमा विश्वसनीय तथ्याङ्कको अभाव, पुँजीको प्रतिफल अनुपात स्थिर नहुनु, विश्लेषणका विश्वसनीय सामग्री नहुनु, मन्दीमा उपयोगी हुँदैन, मानव पुँजीको बेवास्ता, प्राविधिक परिवर्तन, उपयुक्त मान्यताको अभाव, पुँजीलाई उच्च जोड, मूल्यमा उतारचढाव, क्षमताको निम्न उपयोग, परिपूरक तत्वहरूको अभाव र पुँजी र प्रतिफलको गणनामा कठिनाइ पर्छन्। जर्ज रोजनको विचारधाराअनुसार, ‘कम पुँजी–उत्पादन अनुपात आफैँमा कुनै आकर्षक कुरा होइन, जसले निवेश अथवा विनियोगको निर्णयलाई प्रभावित गर्छ। कम पुँजी उत्पादन अनुपातलाई प्राप्त गर्न उन्नत प्रविधिलाई छाडेर पिछडिएको प्रविधिलाई अपनाउन सकिँदैन ।’

बेन्जामिन हिगिन्सको विचार छ कि पुँजी उत्पादन अनुपातको प्रयोगमा अनेक कठिनाइ आउँछन्, यदि गम्भीर भूलबाट बच्नु छ भने कठिनाइहरू सावधानीपूर्वक हटाउनु आवश्यक छ। संयुक्त राष्ट्रसङ्घको एउटा रिपोर्टअनुसार यो आवश्यक छैन कि कुनै लगानीबाट पुँजी उत्पादन अनुपातकै अनुसार उत्पादन हुन्छ। यो त केवल सहसम्बन्धको प्रवृत्तिको द्योतक हो अर्थात् यसले कुनै निश्चित निष्कर्ष निकाल्न सक्दैन।

माथिका विभिन्न कमजोरीका बाबजुद पुँजीको प्रतिफल अनुपात अवधारणा योजनाहरूमा उपयोग हुने एउटा महत्वपूर्ण प्रविधि हो। नेपालमा पनि उपरोक्त महत्वपूर्ण बुँदाहरूलाई ध्यानमा राखेर आर्थिक योजना कार्यान्वयनमा ध्यान पुर्‍याउनु आवश्यक छ। विभिन्न कारणहरूले गर्दा नेपालका योजनाहरूमा पुँजी उत्पादन अनुपातलाई राम्रोसँग व्यावहारिक रूपमा कार्यान्वयन गराउन नसक्दा योजनाहरू त्यति बढी सफल भएका देखिँदैनन् । समयमा नै पुँजी उत्पादन अनुपातलाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन सकेमा योजनाको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वास गर्न सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्