सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम नल्याउने



काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दैै सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने बताएका हुन् ।

अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने पनि अर्थमन्त्री पौडेले बताएका छन् । त्यस्त आयोजना कार्यान्वयनमा लैजानुपूर्व सम्बन्धित मन्त्रालयले पुन अर्थ मन्त्रालयको सहमति लिनुपर्ने पनि मन्त्री पौडेलले बताए ।

हालसम्म मापदण्ड, कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रम पूर्ण वा आंशिक रुपमा स्थगित गर्ने पनि अर्थमन्त्रीले बताएका छन् । ती आयोजना स्रोतको उपलब्धताका आधारमा क्रमशः फुकुवा गर्दै जाने योजना रहेको उनले सुनाए ।

मापदण्ड कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत भएर पनि पूर्व तयारी पूरा हुन नसकी कार्यन्वयनमा नगएका कार्यक्रमहरु औचित्य हेरी पूर्ण वा आंशिक रुपमा रोक्का राख्ने अर्थमन्त्री पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्