हतियार देखाएर अपहरण गरी लुटपात गर्ने गिरोह पर्सा प्रहरीको नियन्त्रणमा



वीरगञ्ज । हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार सार्वजनिक गरेको छ । दिउँसै हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

गत बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित रेल्वे सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा र वडा नम्बर २४ रामगढवा निवासी बिजय महतो रहेका छन् ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी पनि पक्राउ परेको प्रहरी उपरीक्षक शाहले बताए । उनका अनुसार रामगढवाका बिजय महतो गिरोहका मुख्य व्यक्ति हुन् ।
प्रहरी उपरीक्षक शाहका अनुसार उक्त गिरोहले वीरगञ्जका बिशाल कुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो ।

पटवाको अपहरण भएको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट उद्धार गर्न सफल भएको पनि प्रहरी उपरीक्षक शाहले जानकारी दिए । गिरोहले पटवाको साथबाट ६ लाख ५० हजार रुपैयाँसमेत लुटपात गरेको थियो ।

उक्त गिरोह भारतका विभिन्न घटनाहरुमा पनि संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले उनीहरुको साथबाट अपहरणमा प्रयोग गरिएको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगदसहित ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ परेका आठै जनालाई अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्