फागुन तेस्रो साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण यही फागुन तेस्रो साता हुने भएको छ। भारतले १७ देखि २० फागुनमा भ्रमणको मिति प्रस्ताव गरेको हो। राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण हुने चर्चा भइरहेका बेला निर्वाचनअगावै भ्रमण हुने सम्भावना बढेको हो।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिन र नेपाल–भारत सहकार्यका विविध पक्षमा छलफल गर्न सोमबार काठमाडौं आएका छन्। परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावास भ्रमणको तयारीमा जुटे पनि मिति भने तय भएको छैन। ‘परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुन आए पनि भारतीय सचिव क्वात्रा प्रधानमन्त्रीको भ्रमणको औपचारिक निमन्त्रणा दिन काठमाडौं आएका हुन्, सम्भवतः भोलि (मङ्गलबार) भ्रमणको औपचारिक घोषणा हुने छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । राष्ट्रपतिको निर्वाचनभन्दा १ साताअगावै प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव आएको मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । क्वात्रा नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा सोमबार बिहान नेपाल आएका हुन् । उनी वर्तमान सरकार गठन भएपछि नेपाल आउने पहिलो भारतीय उच्च अधिकारी हुन् । विदेश सचिव नियुक्त भएपछि क्वात्राको यो पहिलो नेपाल भ्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र मानिने क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत थिए। राजदूतको कार्यकाल समापन हुनुभन्दा अगावै फिर्ता बोलाएको भारतले उनलाई विदेश सचिव नियुक्त गरेको थियो । विदेश सचिव नियुक्त हुनुअघि क्वात्रा ३ दशक बढी भारतीय कूटनीतिक सेवामा आबद्ध थिए।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए। २ दिने भ्रमणका लागि नेपाल आएका क्वात्रा सोमबार अबेरसम्म भेटवार्तामा व्यस्त रहे।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी र्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । क्वात्राले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री पौडेलसँगको भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिलगायत क्षेत्रमा विगतमा भएको सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको छ ।

परराष्ट्रमन्त्री पौडेलले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुने गरी थप नयाँ हवाई रुटको स्वीकृति दिन क्वात्रालाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव पौडेलसँगको सचिवस्तरीय वार्तामा बंगलादेश, भुटान, भारत र नेपालबीचको उपक्षेत्रीय सहकार्य (बीबीआईएन)मा छलफल भएको बताइएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) भित्रको उपक्षेत्रीय सहकार्य बीबीआईएनअन्तर्गत सडक, हवाई सञ्जाल र जलमार्ग, विद्युत् व्यापार जस्ता सहकार्यको अवधारणा हो।

सोमबार नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक बसेको छ। बैठकमा भारतीय राजदूत श्रीवास्तवलगायत दूतावासका अधिकारी संलग्न थिए। भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान नियाल्ने डिभिजन सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी क्वात्रासँगै काठमाडौं आएका छन्।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकले विगतमा भएका सहमति सम्झौताको समीक्षा गर्दै सहमति कार्यान्वयनमा भएका ढिलासुस्ती र कार्यान्वयनको विकल्प सुझाउने गर्छ । यसअघि यस्तो बैठक २८ र २९ भदौ, २०७८ मा भारतको नयाँ दिल्लीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्