धर्म, संस्कृति र संस्कार



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । प्रकृतिले यथास्थितिमा प्रदत्त विषय प्राकृत हो । प्रकृतिको ईश्वरीय कृतिमा निर्मित मानवले प्रकृति प्रदत्त विषयवस्तुलाई आफूअनुकूल प्रयोग, हित हुनेगरी संस्कृत गर्‍यो, संस्कार गर्‍यो, काटछाँट गर्‍यो, परिष्कार गर्‍यो, परिमार्जन गर्‍यो, संशोधन गर्‍यो ।

उदाहरणका लागि, काठलाई संस्कार गर्‍यो, आफ्नोअनुकूल फर्निचर आदि, माटो–ढुङ्गालाई संस्कृत/संस्कार गर्‍यो घर, भवन आदि, अन्न, फलफूललाई संस्कार गर्‍यो– भण्डारणदेखि जीवनयापनसम्म आदि । यसरी नै कुटानी, पिसानी, गोडमेलदेखि तोड्नेफोड्ने यावत् क्रियाकलापबाट वस्तुहरूलाई परिष्कृत गरियो, परिमार्जित गरियो, संस्कृत गरियो । त्यति मात्र होइन, प्रकृति प्रदत्त झर्ना, ताल, कुवा, नदी आदिलाई पर्यावरण, वातावरणदेखि जलविद्युत्गृह र जीवन उपयोगी दृश्यसम्ममा प्रयोग गरियो । मानवमा भएको दिव्य वैज्ञानिक चेतनशक्ति प्रयोग गरेर मानव आफैँ सुविधा सम्पन्न, सुसंस्कृतसमेत भयो ।

संस्कृत साहित्यमा ‘संस्कार’ शब्द यत्रतत्र प्रयोग भएको देखिन्छ। मीमांसकहरूले संस्कारलाई विधिवत् शुद्धि गर्नु भन्ने अर्थमा लिन्छन्। अद्वैत्वादीहरू जीवमा हुने शारीरिक क्रिया वा शुद्धिलाई संस्कार भन्छन् । तर्कसङ्ग्रहमा संस्कार भन्नाले स्मरण शक्तिमा पर्ने प्रभाव बुझिन्छ। वैशेषिक दर्शनले मानिसका २४ वटा गुणलाई संस्कारका रूपमा बताएको नीतिज्ञहरू बताउँछन्।

शुद्ध क्रिया र शुद्ध विचार एवं शुद्ध भावना संस्कार हो । मनुस्मृतिले गर्भाधानदेखि सम्पूर्ण वैदिक कर्मलाई संस्कार भनेको छ। कर्मकाण्डले मन्त्रोच्चारण गरी गरिने शुभकार्यलाई संस्कार भनेको छ । व्यास गुरुले संस्कार भनेको शारीरिक शुद्धि क्रिया भन्नुभएको छ ।
साहित्यकारहरूको दृष्टिमा संस्कार भनेको मानवीय विचारलाई प्रकट गर्ने सामथ्र्य हो । संस्कृत साहित्यमा प्रयोग भएका शब्दहरू संस्कारका अर्थमा– स्वभाव, क्रिया, छाप, प्रभाव, स्मरण, शुद्धि क्रिया, धार्मिक विधान, विचार, भावना, धारणा, संस्करण, सौजन्य, शोभा, पूर्णता, शिक्षा, संस्कृति, विलक्षणा, जे देखिए पनि शुद्धिका लागि गरिने धार्मिक क्रिया कर्महरूलाई नै संस्कार भन्न सकिने देखिन्छ।

व्यक्तिका शारीरिक, मानसिक, आत्मशुद्धिका लागि परम्परादेखि गरिँदै आएका शुभकार्यहरूलाई संस्कार भन्न सकिन्छ । सुरुमा जेसुकै विषयवस्तु पनि सभ्य र सुसंस्कृत हुँदैनन्। पछि क्रमशः संस्कार गर्दै गएपछि सभ्य, सुसंस्कृत र परिष्कृत बन्न सक्छन् । जे होस्, मानव उदय गर्भाधान संंस्कारदेखि मृत्युपछिसम्म गरिने वैदिक सनातनीहरूमा धेरै संस्कारहरू छन् । गर्भाधान संस्कार, पुङ्सवन, सीमन्तोनयन, जातकर्म, अन्नप्रासन, कर्णभेद, चूडा, उपनयन, वेदारम्भ, समावर्तन विवाहदेखि मृत्युपर्यन्त र त्यसपछिसम्मका कार्यहरू ।

धर्म र नामकरण संस्कार

शिशुले आमाको गर्भ प्रवेशपूर्व नै गर्भाधान संस्कार गर्नुपर्ने विधान भए पनि यसलाई त्यति चल्तीमा ल्याइएको पाइँदैन । स्त्री रजस्वलापछि ४, ६, ८, १०, १२, १४, १६ अर्थात् जोर रात्रिको गर्भाधानबाट पुत्रको उदय र ५,७, …, १५ आदि बिजोर रात्रिको गर्भाधानबाट पुत्रीको उदय हुने कुरा धर्मशास्त्रहरूमा वर्णित छ। दशमास पूर्ण गरी जन्मिएको शिशुलाई संस्कार कार्यअन्तर्गत नामकरण गरिन्छ।

बच्चा जन्मिएको १० दिनसम्म सूतक लाग्ने र ११औँ दिन न्वारन (हवनादि नामकरण कार्य)पछि शुद्ध हुने चलन छ। नाम कर्म संस्कारमा जन्मबेला, समय, नक्षत्र हेरी कुलाचारअनुसार बाबु एवं गुरु पुरोहितबाट यज्ञादि कार्य सम्पन्न गरी नामकरण संस्कार पूरा गरिन्छ । इष्टदेव, कुलदेव, पितृदेव, नान्दीमुखी श्राद्ध आदि विधानले गरिन्छ। वर्णभेदअनुसार क्षत्रीय भए १६ दिनमा, वैश्य भए २० दिनमा, शूद्र भए २२ दिनमा नामकरण गर्ने विधान भए पनि सबै वर्णलाई सजिलो होस् भनी ब्राह्मण कार्यअनुसार जन्मेको ११ दिनमा न्वारन कार्य सम्पन्न गर्न सकिने विधान छ ।

नामकरण गर्नुको अर्थ उसको त्यस कुलमा परिचय हो र दिन, मास, ऋतु, सम्बत्सर, सूर्य आदिबाट आशीर्वाद र ‘अमृततत्व प्राप्तितर्फ तिमी अग्रसर होऊ’ भनी अग्निदेवलाई साक्षी राखी यज्ञको विधिले न्वारन कार्य गरी गहुँत आदि खाएर सूतक चोख्याउनेसमेत कार्य गरिन्छ। नाम कर्मबाट शिशुले आयु, बल, तेज प्राप्त गर्ने सांसारिक, व्यावहारिक सिद्धितर्फ उन्मुख हुने र धर्मचतुष्ठय– धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका चरणहरूमा प्रविष्ट हुने हुन्छ । नामबाट नै व्यक्तिले कीर्ति पनि प्राप्त गर्ने हुनाले कुल परम्पराअनुसार नाम राख्ने चलन हाम्रो संस्कार आदिमकालदेखि नै प्रचलनमा आएको देखिन्छ।

नामाकरण कार्यमा भद्रा विचार गर्नुपर्ने, ११ दिन भए पनि औँशी, सङ्क्रान्ति, भद्रा, व्यतिपात, वैधृतियोगमा नामकरण निषेध भएको कुरा धर्मसिन्धुले उल्लेख गरेको छ। त्यस्तै अपराह्न र रात्रि समय पनि निषेध छ । संस्कार र शब्दले नै शुद्धि या पवित्रता भन्ने बुझिने हुँदा माता–पिताको रजवीर्यको संयोगले बनेको पिण्ड मानव देहलाई विस्तारै त्यो मलीनताबाट, मलबाट शुद्धि गर्दैै ल्याउनुपर्छ । शुभकर्मका लागि योग्य बनाउने क्रममा १६ संस्कारलाई मुख्य मानिएको हो । गर्भाधान, पुङ्सवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्रासन कार्य वीर्यदोषका निवारक हुन् । चूडा, व्रतबन्ध, विवाह भने आफ्नो सामाजिक योग्यता र प्रतिष्ठा कायम राख्न सहायक सिद्ध हुन्छन् ।

धर्म र अन्नप्रासन संस्कार

अन्नप्रासनको सामान्य अर्थ शिशुलाई पहिलो पटक भात खुवाउने कार्यलाई भनिन्छ। त्यसो त अन्नप्रासन गिलो र सजिलो खाना शिशुले दाँत नउम्रीकनै पनि खाइरहेको हुन्छ। पास्नी शब्द प्रासनबाटै अपभ्रंश भएको हुनुपर्छ । अन्नप्रासन गर्ने समय छोराको भए छैठौँ महिना र छोरीको भए पाँचौँ महिना तोकिएको छ। यो हाम्रो संस्कारगत मान्यता हो।

आमाको गर्भमा रहँदा शिशुले फोहोर खाना पनि खाएको हुन्छ । त्यसपछि पनि खानाको संस्कार शुद्ध र परिष्कृत भएको होस् भनी अन्नप्रासनको आरम्भ गरिएको हुनपर्छ। अन्नप्रासन गर्दा वैदिक यज्ञदेखि नान्दी श्राद्ध, पितृस्मरण गर्नुपर्ने हुन्छ । दाँत निस्केपछि सामान्यतया अन्नको अधिकारी हुने र यसक्रमले हेर्दा अन्नप्रासनको समय १ वर्षसम्म गर्न सकिने कुरा नारद पुराणमा उल्लेख छ।

पाचन शक्तिको क्षमता आमाको स्वास्थ्यको स्थिति हेरेर यसभन्दा घटाउन, बढाउन पनि सकिने देखिन्छ । जुन महिनामा गरे पनि विशेष साइत जुराई छोराको भए जोर र छोरीको भए बिजोर महिनामा गर्नु उत्तम हुन्छ। अन्न जीवात्माको रक्षक हो । अन्नद्वारा बालकको बल, बुद्धि, तुष्टि, पुष्टि होस् भनी अन्नप्रासन गराइन्छ । आयु वृद्धि र अन्तःकरण शुद्धि गर्ने अन्नमा ब्रह्मभाव हुन्छ । त्यसबाट मनमा ब्रह्मभाव वृद्धि होस् भनी कामना गरिन्छ । अन्नप्रासनमा गोरससहित मिष्ठान्नहरू हुन्छन् ।

पिता, माता, गुरुद्वारा अन्नप्रासन गराइन्छ । अन्नप्रासनका बेला जीविकाका प्रतीक सरस्वतीका चिह्नहरू पुस्तक, कलम, कागज, भाँडाकुँडा, सुन, चाँदीदेखि धन, हतियार आदि राख्दा बालकले जुन सामग्री पहिलो स्पर्श गर्छ, त्यसैबाट उसले जीविकोपार्जन गर्छ भन्ने सङ्केतसमेत मिल्ने कुरा मुहूर्त चिन्तामणिले दिएको छ। शुभमुहूर्तमा वैदिक मन्त्र उच्चारणसहित प्रासन गराइएको अन्नबाट शिशुको शारीरिक एवं मानसिक तेज वृद्धि हुने विश्वासका साथ विधिपूर्वक यसो गर्ने संस्कार सुरु भएको हो।

पुत्रको भए आठौँ महिना र पुत्रीको भए सातौँ महिनामा पनि नक्षत्र, स्थान, शुद्धि गरी अन्नप्रासन गर्न हुने र पहिले कोबाट प्रासन गराउने भन्ने सम्बन्धमा घरतिर या मावलीतिरकी हजुरआमाबाट सम्भव भएसम्म प्रासन सुरु गर्ने र क्रमशः अन्यले सुरु गर्ने परम्परा छ। धर्मसिन्धु, कर्णवेध प्रकरणले शिशुको कर्णवेध (कान छेड्ने) सकेसम्म जन्म महिनामा निषेध भए पनि जन्म महिनाको १०, १२, १६औँ दिन शुभ मानेको छ । समवर्षमा निषेध छ ।

धर्म र व्रतबन्ध संस्कार
पुर्वीय दर्शनमा व्रतबन्ध संस्कारलाई जीवनको उत्कृष्ट संस्कारको रूपमा लिइन्छ। व्रतका लागि योग्य, गुरु सेवाका लागि योग्य, मातापिता र आचार्य सेवाका लागि योग्य पार्ने व्रतबन्ध संस्कार धार्मिक कार्यसँग जोडिएको छ । उपनयन संस्कारको नामले प्रचलित व्रतबन्धपछि व्यक्ति ब्रह्मगायत्रीका लागि पनि योग्य हुन्छ।

व्रतबन्धपछि विशेष व्रतमा, निष्ठामा बस्नुपर्ने भएकाले यसलाई व्रतबन्धन भनिएको र केही नियममा बाँधिनुपर्ने भएकाले सामाजिक बन्धनमा राखी अनैतिक र उच्छृङ्खल कार्यबाट रोक्ने प्रयास स्वरूप प्राचीन ऋषिमुनिहरूले समाजलाई स्वस्थ र नैतिकवान् बनाउने प्रयास स्वरूप पनि यस्तो संस्कार आरम्भ गरिएको मानिन्छ।

व्रतबन्धबाटै व्यक्ति गुरुकुलका लागि योग्य हुने र वेदारम्भपछिदेखि अध्ययनमा स्नातकसम्म हुने सङ्केत स्वरूप व्रतबन्धका दिन अलगअलग यज्ञवेदी राखी चूडा, उपनयन, वेदारम्भ एवं समावर्तनसम्म एकै दिन सक्ने चलन छ। यद्यपि, चूडा कार्य भने बालकको यसअघि नै भइसकेको पनि हुन सक्छ।

मनुस्मृतिले शिशुकी आमालाई सावित्री र पितालाई आचार्यका रूपमा हेरेकाले आमा, दिदी–बहिनी, पिता, मामा र आफन्तहरूको विशेष उपस्थितिमा समाजयोग्य शिशुको परिपक्वताको सङ्केत दिने व्रतबन्ध उत्सव वैदिक विधानले गर्ने चलन छ। समान्यतः आमाको रजस्वला अवस्थामा व्रतबन्ध कार्य निषेध भए पनि मुहूर्तको अभावमा शान्ति गराएर व्रतबन्ध गर्न हुने बताइएको छ। चूडा कर्मबाट व्यक्तिलाई यश प्राप्त हुनेहुँदा बद्धशिखाद्वारा गरिएको कार्यले शुभफल दिन्छ। बृहस्पति सिंह राशिका बखत चूडा निषेध, माता रजस्वला भए त्यसपछि र गर्भवती भए ५ महिनाभित्र चूडा गर्नु हुने विधान छ।

सामान्यतयाः पुत्रीको पनि चूडा गरिनुपर्ने नभए विवाहका समय त्यसको प्रायश्चित गर्नुपर्ने कुरा धर्मसिन्धुले स्पष्ट पारेको छ। स्त्रीको विवाहका बखत वैदिक यज्ञमा दीक्षासमेत लिई व्रतबन्धको संस्कारलाई विवाहको रूपमा स्वीकार गरिन्छ। बालक घरको मात्र नभएर समाज र राष्ट्रकै एक होनहार, योग्य, कुशल व्यक्ति होस् भनी गुरुको आशीर्वचनका साथ संस्कारमा आवद्ध गराउने एक विशेष पर्व नै हो व्रतबन्ध। गुरुलाई विद्याका खानी बृहस्पति समान रूपमा हेरिन्छ । विद्या, बल, आयु, तेज वृद्धिका लागि र सुयोग्य नागरिक तयार पार्ने क्रममा व्रतबन्ध संस्कारलाई लिइन्छ। प्राचीन विद्वान्हरू गुरुकुलबाटै शिक्षित, दीक्षित र प्रशिक्षित भएका हुन्।

विद्यालयमा, महाविद्यालयमा नैतिक र चारित्रिक विद्यार्थी तयार पार्न घरको संस्कार, त्यसमाथि व्रतबन्धको संस्कारले अहं भूमिका निर्वाह गर्छ। ब्राह्मणको व्रतबन्ध ८ वर्षमा, क्षेत्रीयको ११ वर्षमा, वैश्यको १२ वर्षभित्र शुभ मानिन्छ। सो समयभित्र हुन नसके क्रमशः ८–१६, ११–२२ र १२–२४ सम्म पनि मध्यम मानिएको छ।

व्रतबन्धका लागि चैत्रदेखि आषाढ अर्थात् मीन राशिका सूर्यदेखि मिथुन राशिका सूर्यसम्मलाई उत्तम मानिन्छ । सर्वोत्तमचाहिँ मीनका सूर्य चैत्रलाई मानिन्छ। जन्म महिना नै भए पनि व्रतबन्धका लागि रिक्तातिथि (४, ९, १४) कृष्णपक्षका एकादशीदेखि औँशीसम्म र क्षय तिथि निषेध छ। नक्षत्र भने भरणी, कृतिका, मघा, विशाखा, जेष्ठा, शतभिषालाई निषेध गरिएको छ । त्यस्तै, प्रदोषकाल, अपराह्न र रात्रि एवं शनिबार पनि निषेध छ । एक बटुकका लागि एक आचार्यद्धारा व्रतबन्ध गर्नु उत्तम हो । आचार्य भिन्न भए सहोदरबाहेक अरूको पनि व्रतबन्ध गर्न सकिन्छ।

आजभोलि चलेका सामूहिक व्रतबन्ध वैदिक विधिसम्मत छैनन् । यज्ञ, अनुष्ठानहरूमा व्रतबन्ध आदि कार्यले पनि व्रतबन्धको मूल मर्मलाई खिच्न सक्दैन। विधिपूर्वक लिइएको ब्रह्मसूत्र (जनै)ले ब्रह्मतेज प्राप्ति हुन्छ। अत्यावश्यक पर्दा पनि जनै त्याग गर्नुहुँदैन। झुक्किएर त्यागिएमा १ हजार गायत्री मन्त्र जपेर पुनः लगाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्