बर्ड फ्लु र जनस्वास्थ्य



  • डा. केदार कार्की

काठमाडौं । बर्ड फ्लु एउटा भाइरसका कारण हुने रोग हो, जुन पक्षीहरूबाट मानिसमा सर्छ । यसैले यो रोग मानिसहरूका लागि खतरनाक साबित हुन सक्छ । यो रोग एच-५एन-१ भाइरसका कारण फैलिन्छ, जसलाई एभिएन इन्फ्लुएन्जा पनि भनिन्छ । यस्ता भाइरस धेरै प्रकारका हुन्छन्, जसमा सबैभन्दा धातक एच-५एन-१ लाई मानिन्छ । एभिएन इन्फ्लुएन्जा भाइरस सामान्यतया पानीमा बसोबास गर्ने पक्षीहरूमा पाइन्छ, जसलाई रोगबाहक मानिन्छ । तर, यो भाइरस घर पालुवा कुखुरा एवं अन्यमा सजिलै फैलिन्छ ।

कुखुरामा लक्षणहरू

कुखुरामा यो रोग सामान्य वा गम्भीर हुन सक्छ । सधैँजसोझैँ कुखुराको पखेटा लत्रिने, फुल पार्ने कम हुने गर्छ । यस प्रकारका लक्षणहरू धेरै मानवीय हस्तक्षेपबिना नै चाँडै ठिक हुने गर्छन् । इन्फ्लुएन्जाको अर्को रूप एच-५ एवं एच-७ को प्रकारका कारण हुन्छ । यसमा बाहिरी लक्षणहरूका साथै तीव्र मृत्यु हुने गर्छ । एभिएन फ्लुको भाइरसले शरीरको तन्त्रिका तन्त्रलाई बढी प्रभावित गर्छ । यसैले कुखुराको बथानमा हिँड्दा ढलमलिने, लड्ने, घाँटी एवं पखेटा बटार्ने, लत्र्याउनेजस्ता लक्षण देखिन्छन् ।

चारो कम खाने, ज्वरो ४४ डिग्री सेल्सियस हुने, प्यास कम लाग्ने एवं छालामुनि हावा भरिने हुन्छ । सङ्क्रमणको सुरुमा लगभग २० घन्टा पहिले कुखुराहरू झोक्राउने, आँखा बन्द गर्ने एवं गहिरो सास लिने गर्छन् । सिउर एवं लोती कालो हुने श्लेष्मा झिल्लीमा रातो हुने गर्छ ।

उपचार : कुखुराका लागि हालसम्म उपचार सम्भव भएको छैन ।

बर्ड फ्लुका लक्षणहरू
मानिसमा
सामान्यतया कोरोना भाइरस एवं बर्ड फ्लुका लक्षणहरू धेरै हदसम्म मिल्दाजुल्दा हुन्छन् । तर पनि बर्ड फ्लु भाइरस अर्थात् एच-५एन-१ को सङ्क्रमण भएका बेला लक्षणहरू निम्न हुने गर्छन् । सामान्य रुघा–खोकी, खोकी लाग्नु, नाक बग्नु, घाँटी खसखस हुनु, ज्वरो आउनु, टाउको दुख्नु, मांशपेसीहरू दुख्नु, बेचैनी इत्यादि प्रमुख मानिन्छन् ।

बर्ड फ्लु कसरी फैलिन्छ ?

बर्ड फ्लु फैलिने कारणमा सङ्क्रमित पक्षी प्रजातिहरूको विष्टा, नाक, मुख, आँखाको स्रावसँग सम्पर्कमा आउनुलाई जिम्मेवार ठहर्‍याउन सकिन्छ । अधकल्चो पाकेको कुखुराको मासु एवं फुल खानाले पनि यो रोग लाग्न सक्छ । सामान्यतया यो घरेलु कुखुराको माध्यमबाट फैलिन्छ । मानिसमा बर्ड फ्लु भाइरसको सङ्क्रमणमा २-४ दिनको उष्मायान अवधि हुने गर्छ, जुन १६ दिनसम्म जान सक्छ ।

बर्ड फ्लुबाट कसरी बच्ने ?

बर्ड फ्लु अर्थात् एच-५एन–१ भाइरसको रूपमा जीवित वा मरेको पक्षी प्रजातिहरूको सम्पर्कमा आउनाले हुने गर्छ । यसबाहेक दूषित वातावरणको सम्पर्कमा आउने पनि बर्ड फ्लुको खतरा बनिरहन्छ । जनसमुदायमा यसको सङ्क्रमण सजिलै हुन सक्छ । त्यसैले कुखुराका बथानमा यस रोगको सङ्क्रमण देखिँदा मानिसमा रोग फैलिने सम्भावना बढेर जान्छ । यी सबै कुराहरू दृष्टिगत गर्दै हामीले बर्ड फ्लु भाइरसको खतराबाट बच्नुपर्ने हुन्छ, जसले गर्दा यस बर्ड फ्लुबाट सुरक्षित हुन सकौँ । यसका लागि तल दिइएका केही महत्वपूर्ण बुँदाहरू अनिवार्य अवलम्बन गर्नुपर्ने हुन्छ ।

१) पक्षी प्रजातिको सम्पर्कबाट बचौं
पक्षीहरूबाट मानिसहरूमा भाइरस फैलिन्छ । यसबाहेक पक्षीहरूको नाक, कान, मुखबाट निस्कने स्राव एवं विष्टाबाट पनि फैलिन सक्ने हुँदा यी सबैको सम्पर्कबाट बच्नुपर्ने हुन्छ ।
२) सरसफाइमा ध्यान दिने
पक्षीहरूलाई नाङ्गो हातले नसमात्ने एवं तिनीहरूबाट दुरी बनाई राख्ने, जसले गर्दा एच–५एन–१ बाट बच्न सकियोस् किनभने बर्ड फ्लु भाइरस लगभग ९–१० दिनसम्म विष्टा एवं र्‍यालद्वारा फैलिन सक्छ ।
३) कुखुराको मासु, फुल नछुनुहोस्
काँचो मासु एवं फुलले पनि मानिसलाई सङ्क्रमण गराउन सक्छ । यसैले कुखुराको मासु, फुल धुँदा हातमा पञ्जा एवं मुखमा मास्क अनिवार्य लगाउनुपर्छ किनकि दूषित भुइँतलका माध्यमबाट पनि भाइरसको सङ्क्रमण हुन सक्छ ।
४) कुखुराको मासु, फुल राम्रोसँग पकाएर खानुहोस्
कुखुराको मासु एवं फुललाई करिक ६० डिग्री सेल्सियसमा पकाएर खानुपर्ने हुन्छ, जसले गर्दा भाइरस नष्ट होस् । अन्तमा, मुख्य कुरा विचार गर्नुहोस्, कुनै पनि कुखुरा फार्ममा काम गर्दा मास्क एवं हातमा पञ्जा, खुट्टामा बुट एवं एप्रोन लगाउनु अत्यन्त आवश्यक हुन्छ । रोग प्रभावित क्षेत्रहरूमा जानबाट बच्नुपर्ने हुन्छ । कुखुरा पालन, कुखुराजन्य व्यवसाय गर्ने मानिसहरूसँगको लसपसबाट टाढा बस्दा बेस हुनेछ । यदि हामीले माथि उल्लेखित बुँदाहरूका आधारमा बर्ड फ्लुबाट आफ्नो बचाउ गर्‍यौं भने यस भाइरसबाट सुरक्षित हुन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्