व्यापार घाटा कम गर्न चाल्नुपर्ने कदमहरू



  • डा. सुमनकुमार रेग्मी

काठमाडौं । कुनै वर्ष अनुकूल मौसम नभएको खण्डमा नेपालको व्यापार घाटा सोही वर्ष बढ्ने सम्भावना देखिँदै आएको छ। उदाहरणका रूपमा आ.व. २०७३/०७४ मा अनूकूल वर्षा, समयमा रोपाइँ तथा खेती, रासायनिक मलको सहज उपलब्धता, कृषि प्रविधिको बढ्दो प्रयोगलगायतका कारण कृषि फसल बढी हुन गई निकासी तथा उत्पादन बढ्न गएको देखिन्छ।

कुनै वर्ष र कुनै जिल्लाबाट कृषि उपज निर्यात हुने गर्छ । नेपालबाट निकासी हुन सक्ने कृषि उपजहरूमा ताजा तरकारी, सुन्तला जातको फलफूल, हिउँदे फलफूल, वर्षे फलफूल, अदुवा, अलैँची, आलु, अकबरे खुर्सानी आदि छन् । तर, हरेक आर्थिक वर्ष नेपालले वैदेशिक व्यापारको असन्तुलन भोगिरहेको अवस्थामा निकासी व्यापारको अवस्था कमजोर हुँदै गएको छ।

नेपालको निकासी व्यापार स्थिर रहेको तथा पर्यटक आगमनसमेत बढ्न नसक्दा अर्थतन्त्रको एक मात्र आधार रेमिट्यान्समा सामान्य उतारचढावले पनि देशको सम्पूर्ण अर्थतन्त्र सङ्कटमा पर्न सक्ने अवस्था विगतमा देखिएको छ। नेपालले आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तु र सेवाहरू समेत उल्लेखनीय रूपमा आयात गर्दा पनि वैदेशिक व्यापारमा नेपाल सधैँ पछाडि धकेलिँदै आएको छ।

वैदेशिक व्यापार घाटा कम गर्नका लागि उत्पादन वृद्धिका विकल्प नभए पनि नेपालले स्वदेशमै प्रचुर मात्रामा उत्पादनको सम्भाव्यता भएका वस्तुहरूको उत्पादन वृद्धिमा सुधार ल्याउन सकिएको छैन। नेपालको कुल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन। नेपालको कुल निर्याातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन। विदेशबाट खर्बौं रूपैयाँका वस्तुहरू आयात हुँदा नेपालले एक आर्थिक वर्षमा १ खर्ब रूपैयाँका वस्तुहरू निकासी हुन सकेका छैनन् । विगत ४ वर्ष मध्ये आ.व. २०७०/०७१ मा सबैभन्दा बढी ९१ अर्ब रूपैयाँको निर्यात भएको देखिन्छ। नेपालले ६८ वटा देशमा निर्यात तथा ७४ वटा देशबाट सामान आयात गरेको देखिन्छ।

राजनीतिक दलहरूका योजना र भनाइबाट मात्र समृद्धि नहुने स्पष्ट देखिन्छ। नेपालको निर्यात पछिल्ला वर्षमा आ.व. २०७०/०७१ को भन्दा कमजोर देखिएको छ। नेपालको कुल निर्यातमा अर्ब रूपैयाँमाथि निर्यात हुने वस्तुहरू १७ वटाजति मात्र छन् । ती वस्तुहरूमा अलैँची, चिया, औषधिजन्य जडिबुटीहरू, जुस, जुट ब्याग, ऊनी ब्याग, पस्मिना शल, टुथ पेस्ट, जुत्ता, फलाम तथा स्टीलजन्य वस्तुहरू, चाँदीका गहना सामान, टेक्सटाइल, कटन धागो, फेल्टलगायतका वस्तुहरू छन् ।

निर्यात प्रवद्र्धनका लागि सरकारले चर्का नारा दिए पनि कमजोर उत्पादन, बारकोड, विश्व बजारमा फितलो प्रचारप्रसार, ब्राण्डिङका कारण नेपाली उत्पादन विदेशिन नसकेको बताइन्छ। नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेलाबखतमा प्रश्न उठ्ने गरेको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर महŒवपूर्ण कुरा हो। नेपाली उत्पादनले पहिलेदेखि नै परिमाणभन्दा गुणस्तर सुधारमा ध्यान दिँदै आउनुपथ्र्यो। नेपाल–भारत खुला सिमानाले नेपालको निर्यात व्यापारमा असर गरेको छ। सरकारी नीति र प्रतिबद्धता राम्रो भए पनि कार्यान्वयन फितलो हँुदै आएको छ । नेपाल भूपरिवेष्ठित भएका कारण उद्योगी–व्यापारीहरूले हैरानी बेहोर्दै आएका छन् ।

निकासी विकासका अनेकौँ आधार तथा सम्भावना हुन्छन्। राष्ट्रिय व्यापार रणनीति, २०७३ ले राखेका १२ वटा तुलनात्मक लाभको वस्तुमा जडिबुटी पनि समावेश छ। तीमध्ये जडिबुटी एवं अनुसन्धान, उत्पादन एवं व्यावसायीकरण र संरक्षण एवं सदुपयोग गर्न सके आर्थिक–सामाजीक विकासमा नै सहयोग पुग्छ। वन नीति, २०७१ ले वनस्पति एवं जडिबुटीका नवीनतम प्रवृत्ति र क्षेत्रहरूलाई समेटेको छ । वन, वनस्पति र जैविक विविधता संरक्षण अभियान अगाडि बढाउन आव २०७१–२०८० लाई वन दशक घोषणा गरी एक घर, एक रूख, एक वन र एक नगर, अनेक उद्यान कार्यक्रमहरू कार्यान्वयनमा आउँदै गरेका छन् ।

बाणिज्य नीति, २०७२ ले १२ वटा वस्तुमध्ये सम्भावनायुतm वस्तुहरूका सूचीमा जडिबुटी तथा सारयुक्त तेललाई पनि समावेश गरेको छ। यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरूको सङ्कलन एवं प्रशोधन गरी निर्यात अभिवृद्धि गर्न, प्रशोधन केन्द्रहरू स्थापना गर्न सहयोग पुर्‍याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरूको सुदृढीकरण तथा एक्रिडिटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउद्देश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यावसायिक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने उल्लेख छ।

यसरी नै विविधताको अवसरलाई उपयोग गरी निर्यातजन्य वस्तुहरूका उत्पादन ततथा प्रशोधन बाह्य मागबमोजिमको बनाउन संवेष्ठन, लेबलिङ, भण्डारण, प्रमाणीकरणमा सहयोग पुर्‍याउने, निर्यात प्रवद्र्धनका लागि असल कृषि अभ्यास र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको देखिन्छ। समग्रमा भन्दा नेपालको आयात व्यापारलाई कम गराउन आन्तरिक उत्पादन बढाउनै पर्छ । जुन वस्तु नेपालमा बृहत् रूपमा उत्पादन गर्न सम्भव छ, त्यस्ता वस्तुहरू अत्यधिक बढाउँदै लैजानुपर्छ।

नेपालका कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादनहरू बढाउँदै जानुपर्छ। नेपालको विश्वका १८६ वटा देशसँग वैदेशिक व्यापार हुँदै आएकामा अधिकांश देशसँग नेपालको व्यापार घाटा रहिआएको छ । नेपालमा दैनिक उपभोग्य सामग्रीदेखि विलासिता र परिवार नियोजनका साधनसमेत अत्यधिक रूपमा आयात हुँदा व्यापार घाटा निरन्तर रूपमा बढ्दै गएको छ । त्यसर्थ अर्थतन्त्र उकास्न र निकासी बढाउन उत्पादनशील र निर्यातउन्मुख लगानी बढाउन अत्यन्त आवश्यक देखिन्छ ।

देशलाई आवश्यक परेका वस्तुहरूका आयात कल्पनै गर्न नसकेर ह्वात्त बढेको र अन्धाधुन्ध ती आयात गरिएका वस्तुहरू नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड मान्यताप्राप्त निकायको अभावमा त्यस्ता मानव हितविपरीतका वस्तुहरू सहज रूपमा आयात गर्नु नै हो भनेर ठोकुवा गरेर भन्न सकिन्छ। अर्कातर्फ, जुन उद्देश्यले नेपालमा विदेशबाट सामान आयात गरिन्छ, त्यही उद्देश्यका लागि अर्थात् उद्योगका कच्चा पदार्थका रूपमा उपयोग नभई त्यस्ता वस्तुहरूको दुरूपयोग हुनुले आयात बढ्दै गएको हो। आयात गरिएका वस्तुहरूका उद्देश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यक्तिलाई कारबाही पनि भएको देखिँदैन । अनि त सहज रूपमा नेपालमा आयात दिन दुई गुणा, रात चौगुणा बढेर गएको छ।

भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो । हालका वर्षमा ३० अर्ब रूपैयाँभन्दा बढीको विदेशी चामल नेपालमा आयात हुँदै आएको छ। नेपालमा इन्धन मात्र बर्सेनि १ खर्ब ४० अर्ब रूपैयाँको खपत भइआएको छ । बर्सेनि ३२ अर्ब रूपैयाँको सुन–चाँदी र २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल सेट आयात भइरहेको छ।

नेपालबाट सबैभन्दा बढी निकासी भएका वस्तुमा भटमासको तेल, पाम आयल, सन फ्लावर तेल देखिएका छन् । आ.व. २०७८/०७९ मा करिब १३ अर्ब रूपैयाँभन्दा बढीको पाम आयल निकासी भएको छ। त्यस्तै, ३६ अर्ब रूपैयाँभन्दा बढीको सनफ्लावर तेल निर्यात भएको छ । नेपालबाट ५३ करोड रूपैयाँभन्दा बढीको अम्रिसोको कुचो निकासी भएको देखिन्छ। वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापार भएका कारण देशको व्यापार घाटा बढ्दो छ । विगतमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने इन्धन पदार्थ आयात अत्यधिक हुँदै आएको छ।

निर्यातजन्य वस्तुको पहिचान, प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि व्यापार घाटा बढेको सरोकारहरूको भनाइ छ। व्यापार घाटा टिठलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता छ । देशको एक आर्थिक वर्षको बजेट बराबरको प्रतिवर्ष व्यापार घाटा बेहोर्नु लाज मर्नु अवस्था हो। त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रवद्र्धन गर्नु सख्त आवश्यकता देखिन्छ।

व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रवद्र्धनमा सघाउ गराउन कााम अघि बढाउन आवश्यक देखिएको छ। नेपालले पेट्रोलियम पदार्थ, फलाम, स्टील, धातुजन्य पदार्थ, सुन आदिलगायत वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका वर्षमा वार्षिक १ खर्ब रूपैयाँको खाद्यान्न आयात गर्नुपरेको अवस्था छ।सन् १९८० अगाडि दाल, चामल, ऊन, जुट, अलैँची, काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ।

हालका वर्षमा पेट्रोल मात्र २५ अर्ब रूपैयाँभन्दा बढीको आयात भइआएको छ। सुनको आयात पनि त्यतिकै हुुने गरेको छ। सम्भावना रहेका पस्मिना, गलैँचा जस्ता वस्तुका उत्पादन बढाई बजारीकरण नहुँदा नेपालको बाह्य बजार सहभागी अंश कमजोर हुँदै छ । अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन र निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता छ। नेपालको वैदेशिक व्यापारमा निर्यात–आयात अनुपात बर्सेनि बढेर गएको छ । विश्व बजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ।

त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ। राजनीतिक दलहरूको ध्यान पनि व्यापार घाटातर्फ गएको देखिँदैन किनभने देशमा सधैँ व्यापार घाटा भइरहेको छ । तर, उनीहरू प्रभावकारी योजना बनाएर व्यापार घाटा घटाउन सफल भएका देखिएका छैनन्। नेपालमा करौडौँ रूपैयाँ मात्र होइन, अर्बाैं–खर्बौं रूपैयाँमा व्यापार घाटा सदाबहार रहँदै आएको छ। प्रत्येक वर्ष नेपालले आफ्नो वार्षिक बजेट बराबरभन्दा बढी रकमको व्यापार घाटा बेहोर्दै आएको छ । नेपालको व्यापार घाटा वार्षिक ९ खर्ब रूपैयाँ नाघिसकेको छ तर पछिल्ला वर्ष अझ व्यापार घाटा बढेर गएको छ।

भनिन्छ कि मानिसहरूले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको हो। यदि सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजाने हो भने जुन वस्तु तथा सेवामा नेपाल परनिर्भर छ, त्यस्ता वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्छ। यसका लागि दीर्घकालीन सोच, ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ अनि मात्र देशको व्यापार घाटा घट्न सक्छ।

प्रतिक्रिया दिनुहोस्