शिवरात्रि : दानको महत्व र रुद्राक्षको चर्चा



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

दान र स्थानबारे

काठमाडौं । हामी शिवरात्रि–२०७९ को सेरोफेरोमा छौँ । शिव पुराणमा चर्चित केही विषयवस्तुलाई यहाँ उजागर गर्ने प्रयास गरिएको छ। घर मन्दिर हो। शास्त्रीय विधानले घरमा गरिएका पुण्य कुल, सन्तति र बितेका पितृहरूका लागि उद्धार योग्य हुन्छन् । परन्तु घरमा गरिएका दान, पुण्य, अनुष्ठान, यज्ञ आदिको फलभन्दा गौशालामा गरिएको फल १० गुणा बढी हुन्छ।

गौशालाका साथमा जलाशय, नदी, तडाग, सागर रहेछ भने गौशालामा प्राप्त हुने पुण्यको १० गुणा बढी फल प्राप्ति हुन्छ। त्यसमाथि पनि वेलको रुख, तुलसी वृक्ष, पीपल वृक्षका निकट रहेछ भने अनुष्ठानको फल अघिको फलभन्दा १० गुणा बढी पुण्य प्राप्ति हुन्छ। त्यसमा देवालय रहेछ, पवित्र देवीदेवताको मन्दिर रहेछ भने अघिको पुण्य १० गुणाले बढी प्राप्ति हुन्छ। तीर्थ भूमिमा, नदीका किनारमा तीर्थ भूमिको १० गुणा बढी, नदी किनारमा गरिएको पुण्यको १० गुणा फल बढी प्राप्त हुन्छ।

सप्तगङ्गामा, गङ्गा, गोदावरी, काबेरी, ताम्रपर्णी, सेतु, सरयु, नर्मदा आदिमा यीभन्दा बढी १० गुणा फल प्राप्ति हुन्छ। समुद्रका तटमा गङ्गासागर, रामेश्वर, कन्याकुमारी, जगन्नाथधाम आदि सागर तटमा समुद्र तटभन्दा १० गुणा फल बढी प्राप्त हुन्छ । पर्वतका शिखरमा, कैलाश पर्वत, मणिचूड पर्वत, गोसाइँकुण्ड पर्वत, मुक्तिनाथ पर्वत, उच्च भागमा उच्च स्थानमा शिवालय चढ्न मानिसहरू जान्छन्, हिमशिखरहरू चुम्बन गर्छन्।

सगरमाथाको शिखर चुम्बन गर्छन् मानिसहरू ! देश देशदेखि पर्यटक, साधु, सन्त भक्तहरू पर्वतका शिखरमा पुग्छन्। प्रत्यक्ष अप्रत्यक्ष रूपमा यो यज्ञ हो, महान् यज्ञ। सत्ययुगमा अनुष्ठानको, पुण्यको फल पूर्ण रूपमा प्राप्ति हुन्थ्यो । यज्ञ, दान, पुण्यको फल त्रेतायुगमा ३ चौथाइ मात्र प्राप्त हुन्थ्यो, द्वापरयुगमा पुण्यको फल आधा मात्र प्राप्ति हुन्थ्यो। आहिले कलियुग छ।

हामीले गरेका, निष्ठापूर्वक गरेको सुकर्म, सुधर्मको, पुण्यको फल केवल १ चौथाइ मात्र प्राप्त हुन्छ, त्यो पनि अधिक भक्ति लगाएर गरिएमा मात्र। जब आधा कलि बित्छ, त्यो फल अझ घट्छ, चौथाइको पनि १ चौथाइ मात्र। अतः जति समय बढ्दै जान्छ भक्तिप्रति बढी सजग हुनुपर्ने र कर्म सुकर्म बढाउँदै जानुपर्ने हुन्छ। जति धन वृद्धि हुँदै जान्छ, जति घर सिँगारिँदै जान्छ, जति मानप्रतिष्ठा, पद वृद्धि हुँदै जान्छ, पुण्य त्यति नै बढाउनुपर्छ।

सङ्क्रान्तिमा गरेको पुण्य अन्य दिनमा गरेको भन्दा १० गुणा बढी फल प्राप्ति हुन्छ। कर्कट सङ्क्रान्तिमा गरिएको पुण्य मेष सङ्क्रान्तिको भन्दा १० गुणा बढी, मकर सङ्क्रान्तिमा गरेको पुण्य कर्कटमा गरेको भन्दा १० गुणा बढी फल दिने हुन्छ। त्यसैले हरेक सङ्क्रान्ति, साल परिवर्तन, अयन परिर्वतनका दिन थोरै भए पनि दान पुण्य गर्ने गरिएको हो। सङ्क्रान्ति सुन्ने, सङ्क्रान्तिमा व्रत, तीर्थ, दान, हवन, यज्ञ गर्नुपर्ने कारण पनि यही हो।

चन्द्र ग्रहणमा गरिएको दान अघिको भन्दा १० गुणा बढी फल दिने हुन्छ। चन्द्र ग्रहणमा गरिएको दानभन्दा १० गुणाले बढी फल सूर्य ग्रहणमा गरिएको पुण्यले प्राप्त हुन्छ। ग्रहणका बखत तीर्थ स्नान गर्ने, दान गर्ने कारण पनि यही हो । ग्रहणमा राहु दोषका कारण चन्द्र, सूर्य किरण विषाक्त हुन्छ। प्रदूषण र विषबाट कम प्रभाव पार्नका लागि पनि सचेत हुन सिकाएको हुन्छ। महापुरुष, सन्त, साधु, कृष्ण, शिव भक्त, सूर्यको उपासक, देवी, गणेश, विष्णुका उपासकका सामु बसेर गरिएका दान पुण्य अघि बताइएकोभन्दा बढी फल दिने हुन्छन्।

तपोनिष्ठ, ज्ञाननिष्ठ व्यक्ति पूजाको पात्र हुन्छ । तपमा नलागेको, ज्ञानको भण्डार प्राप्त नगरेको व्यक्तिलाई पूजा गर्ने गराउने अधिकार हुन्न । तप भनेको क्रोध, चिन्ता, आवेग, तनाव, इष्र्या, क्षिद्रान्वेषण नगर्नु नै हो । सत्ययुगमा तप केवल बल्कल वस्त्र धारण गरेर हुन्थ्यो भने कलियुगमा तप भनेको सत्य, धर्म, समयको पालन, कर्तव्यप्रति उन्मुख, जीवप्रति दया, उपकारको भाव, सत्सङ्गको प्रेरणा, भगवत् सेवा, चिन्तन, मनन, भजन, कीर्तन, प्रभुपाद चिह्नको ध्यान, योग, तनावरहित जीवन नै हो। व्यर्थ चिन्तन, व्यर्थ चेष्ठालाई छाडी जीवन भगवत्मय बनाउनु तपस्वीको लक्षण हो ।

जसले २४ लाख गायत्री मन्त्र जप गरेको हुन्छ, उ पूजाको अधिकारी हुन्छ। जात पूजाको योग्यता होइन, रूप पूजाको योग्यता होइन, धन पूजाको योग्यता होइन, पूजाको योग्य त्यही हुन्छ, जो गायत्रीको उपासक छ, प्रणव ॐ मन्त्रको उपासक छ, दीक्षा मन्त्रको जो उपासक छ, मन्त्र त्यही हो गिर्नबाट बचाउँछ, पतनबाट बचाउँछ। पतनात् त्रायते इति पात्रं शास्त्रे प्रयुज्यते। दातुँश्च पातकात्त्राणात्पात्रंमित्यभिधीयते ।। श.पु. विद्येश्वर संहिता १५ अ.ले भनेको छ । कर्म गर्नु पात्रले, दान दिनु पात्रलाई, सुपात्रलाई गरिएको दान पुण्य आफ्नो ठाउँको पहुँचमा पुग्छ।

दाताको पातकलाई जसले त्राण दिन सक्छ, त्यही पात्र हो । उद्धार त्यसैले गर्न सक्छ, जो आफू उद्धार भएको हुन्छ। त्राण त्यसैले दिन सक्छ, जो आफूले त्राण पाइसकेको हुन्छ। आफैँ अन्धोले बाटो देखाउन सक्दैन । गायत्रीले व्यक्तिलाई शुद्ध बनाउँछ, त्राण दिन्छ । जो भोको छ, उसलाई अन्नको बढी महत्व हुन्छ । जसलाई जे वस्तुको इच्छा छ नगरी जानेर कसैले दिन्छ भने दातालाई दानको फल पूरै प्राप्त हुन्छ ।

याचना गरेर दिइएको फल आधा मात्र प्राप्त हुन्छ, आफ्ना सेवकहरूलाई पारिश्रमिकको रूपमा दिइएको दानको फल १ चौथाइ मात्र पुण्य प्राप्त हुन्छ। जातिकै कारण वृत्ति सञ्चालन हेतु ब्राह्मणलाई दिइएको दानको फल केवल १० वर्षका लागि मात्र हुन्छ । दान लिने वेदवेत्ता ब्राह्मण परेछ भने त्यो फल स्वर्गमा देवताहरूका साथ दिव्य वर्षौासम्म त्यो फल प्राप्त भइरहन्छ। चोखो मनले दिइएको दक्षिणाको फल शुद्ध द्रव्य हो, यस्तो दक्षिणाको फल अनन्तसम्म प्राप्त भइरहन्छ । दातालाई सन्तोष पनि गराउँछ यसले। शुद्ध व्यापार, शुद्ध सेवा, शुद्ध आर्जनबाट भएको धनले अनन्तसम्म पुण्य दिन्छ।

गौ, भूमि, तिल, सुवर्ण, घिउ, वस्त्र, धान्य, चिनी, चाँदी, नुन, कन्यादान मानव जीवनमा गच्छेअनुसार गरिरहनुपर्छ । दान हुनेले गर्ने हो, हुनेले नगर्दा पछि दरिद्र हुने सम्भावना हुन्छ, गोदानले कायिक, वाचिक, मानसिक पापको नाश गर्छ । भूमिदानले इहलोक र परलोक सुख हुन्छ, प्रतिष्ठा र श्रीवृद्धि हुन्छ । तिलदानले शरीरमा बल वृद्धि हुन्छ, तनमा कान्ति मनमा शान्ति हुन्छ, मृत्युको भय हुन्न । सुन दानले जठराग्निमा तेज वृद्धि भई पाचन शक्ति राम्रो हुन्छ ।

घिउ दानले शरीरमा पुष्टि हुने, वस्त्रदानले आयुवृद्धि हुन्छ र अन्नदानले समृद्धि। हामी ठुला चाडपर्वहरूमा आयु, आरोग्य, सुख, समृद्धि होस् भनेर शुभकामना आदानप्रदान गर्छौं, त्यसका अतिरिक्त समयानुसार दान पुण्य पनि गर्न सके हामीले खोजेको सुख, समृद्धि स्वतः प्राप्त हुन्छ। चिनी, सख्खर, मह, घिउ दानले व्यक्तिमा माधुर्य प्राप्ति हुन्छ। ओठमा हाँसो, मुखमा चमक, शरीरमा तेज चाहनेले मधुर रसको दान गर्नुपर्छ । चिनी दानले शरीरमा बल प्राप्ति र कन्यादानले आजीवन सुख, भोग र ऐश्वर्य प्राप्ति हुन्छ।

अरूको डरबाट धर्म पालना गर्नु, श्रद्धा गर्नु कनिष्ठ श्रेणीको लक्षण हो, स्वःफूर्त ढङ्गबाट धर्मको परिपालन गर्नु श्रेष्ठ लक्षण हो, त्यसका लागि पहिले श्रवण नै गर्नुपर्ने हुन्छ । श्रवणपछि देख्नुपर्ने हुन्छ, सुनेपछि, देखेपछि प्रमाण हुन्छ । भक्तिको सोपान तयार हुँदै जान्छ । भक्तिको अन्तिम सोपान दास्य भाव हो र अन्त्यमा आत्म निवेदन हो । मन्त्र, स्तोत्र पाठ, जप, ध्यान, पूजा, चिन्तन, मनमा वाणीद्वारा गर्ने कर्म, आँखाबाट स्वरूप दर्शन, ज्ञानबाट सुन्ने कार्य, जिब्रोबाट भगवत् रसस्वादन, अङ्गहरूले तीर्थको सेवन, हातहरूले पूजा, भजनमा ताली, भगवान्मा जयजयकार गर्नाले बिस्तारै शरीर निर्मल हुँदै जान्छ ।

रुद्राक्षको चर्चा

भगवान् शिव पार्वतीलाई भन्नुहुन्छ– हे देवी ! तिमीलाई रुद्राक्षको महिमा बताउँछु । रुद्राक्षको महिमा श्रवण गर्नाले भक्तकोे इच्छा पूर्ण हुन्छ । एकपटक शिवजी मनलाई संयम गरी तपस्यामा रत हुनुभएछ । तपबाट निद्रा खुल्दा नेत्रपुटबाट जलका थोपा झरेछन्। शिवका आँखाबाट झरेका आँसुबाट रुद्राक्ष नामक वृक्ष पैदा भएछ, भक्तका अनुग्रहका लागि स्थावर भावमा प्राप्त भएको रुद्राक्ष, भगवान्ले वैष्णवहरूलाई बाँडिदिनुभएछ।

४ वर्र्णका सबैलाई बाँडिएछ । प्रिय रुद्राक्ष भगवान्ले गौड देशमा उत्पन्न गराउनुभएको हो। मथुरा, अयोध्या, लंका, मलयाचल, महागिरि, काशी र अन्यत्र क्षेत्रमा त्यो वृक्षको अङ्कुर बढ्न थाल्यो, हामीकहाँ पूर्वतिर धेरै रुद्राक्ष पाइन्छ । वर्ण भेदअनुसार ब्राह्मणलाई सेतो, क्षत्रीयलाई रातो, वैश्यलाई पहेँलो र शूद्रलाई कालो वर्णको रुद्राक्ष उत्तम हुन्छ । रुद्राक्षको धारणले भोग र मोक्ष दुवै मिल्छ ।

आकारमा रुद्राक्ष अमलाको आकारको श्रेष्ठ हुन्छ, बयरको गेडा जत्रो रुद्राक्ष मध्यम, चनाको आकारको रुद्राक्ष निम्न कोटीको हुन्छ । बयरको गेडा आकारको रुद्राक्ष मध्यम भए पनि यसले सुख र सौभाग्य प्राप्ति गराउँछ । अमलाको गेडा आकारको रुद्राक्षले सबै अरिष्ठको नाश गर्छ । सानो आकारको रुद्राक्षले सिद्धि प्राप्त गराउँछ । जति रुद्राक्ष सानो हुन्छ, त्यति यसको फल बढी हुन्छ । रुद्राक्ष धारण गर्नाले शरीरका पाप नाश हुन्छन् । सबै किसिमका अभीष्ट मनोरथ पूर्तिका लागि साधकले रुद्राक्षको धारण गर्नुपर्छ ।

सानो दानावाला हेर्दा काँडा जस्तो देखिने रुद्राक्षले अभिलक्षित फल दिन्छ । टुटेफुटेको किराले खाएको प्वाल परेको पूरै गोलाकार नभएको यस्तो रुद्राक्षलाई स्वीकार्नु हुँदैन । रुद्राक्षमा जसले प्वाल पारेको हुन्छ, त्यो मध्यम श्रेणीको हुन्छ । ११ सय रुद्राक्ष धारण गर्ने व्यक्तिको त सयौँ वर्षसम्म पनि पुण्य वर्णन गर्न सकिँदैन । साढे ५ सय रुद्राक्षको दानाको मुकुट बनाएर शिरमा धारण गर्नाले साढे ३ सय दानाको हार बनाएर माला लगाउनाले, जनै बनाएर लगाउनाले साँच्चै शिवमय बनिन्छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले मदिरा, मांस भक्षण गर्नुहुन्न ।

एक मुखे रुद्राक्ष शिवको साक्षात् स्वरूप हो, यसले भोग र मोक्ष दिन्छ । जहाँ रुद्राक्षको पूजा हुन्छ, त्यहाँ लक्ष्मी स्थिर हुन्छिन्, रुद्राक्ष वरिपरि रहेका सारा उपद्रवहरू नाश हुन्छन् । २ मुखे रुद्राक्षलाई देवेश्वर भनिन्छ, यसले कामना तृप्ति गराउँछ । ३ मुखे रुद्राक्षले साधनको फल दिन्छ, यसबाट विद्या प्रतिष्ठित हुन्छ । ४ मुखे रुद्राक्ष स्वयं ब्रह्माको रूप हो, यसको दर्शन, स्पर्शले शीघ्र धर्म, अर्थ, काम, मोक्ष, प्राप्त हुन्छ।

५ मुखे रुद्राक्ष कालाग्नि रुद्र हो, यसले सबै कार्य सिद्धि गराउँछ, मनोवाञ्छित फल दिन्छ, जीवको सबै पाप हरण गर्छ । ६ मुखे रुद्राक्ष कार्तिकेयको रूप हो । दायाँ हातमा यसलाई धारण गर्नाले ब्रह्महत्या दोष मेटिन्छ । ७ मुखे रुद्राक्ष अनङ्ग स्वरूप हो, यसले दरिद्रता नाश हुन्छ, व्यक्ति एैश्वर्यशाली बन्छ । ८ मुखे रुद्राक्ष अष्टमूर्ति भैरवको रूप हो, जसले पूर्ण आयु दिन्छ, मृत्युपछि जीव शूलधारी शिव हुन्छ । ९ मुखे रुद्राक्ष भैरव र कपिलमुनिको प्रतीक हो, जसले माहेश्वरी देवी दुर्गा प्रसन्न हुन्छिन् । १० मुखे रुद्राक्ष विष्णुको रूप हो, जसले कामना तृप्ति हुन्छ।

११ मुखे रुद्राक्ष रुद्र स्वरूप हो, यसले सर्वत्र विजयी गराउँछ, यो आदित्य स्वरूप हो । १३ मुखे रुद्राक्ष विश्वदेव हो, जसले अभीष्ट पूर्ति हुन्छ, सौभाग्य र मङ्गल पनि । १४ मुखे रुद्राक्ष परम् शिवमय हो, यसले सबै पाप नाश हुन्छ ।

१४ किसिमका रुद्राक्ष धारणाका अलग मन्त्रहरू छन् । १ मुखेका लागि ॐ हीं नमः, २ मुखेका लागि ॐ नमः,३. मुखेका लागि ॐ क्लीं नमः, ४ मुखेका लागि ॐ हीं नमः, ५ मुखेका लागि ॐ हीं नमः, ६ मुखेका लागि ॐ हीं हुं नमः, ७ मुखेका लागि ॐ हुं नमः, ८ मुखेका लागि ॐ हुं नमः, ९ मुखेका लागि ॐ हीं हुं नमः, १० मुखेका लागि ॐ हीं नमः, ११ मुखेका लागि ॐ हीं हुं नमः,१२ मुखेका लागि ॐ क्रौँ, क्षौँ, हौं नमः,१३ मुखेका लागि ॐ हीं नमः, १४ मुखेका लागि ॐ नमः र रुद्राक्षको धारणले पाञ्चायन देवता– शिव, गौरी, गणेश, विष्णु, सूर्य खुसी भई पञ्चतत्वको शरीर शुद्धि हुन्छ।

प्रतिक्रिया दिनुहोस्