आज पशुपति क्षेत्र आसापसमा गाडी प्रवेश निशेष, यस्तो छ ट्राफिक व्यवस्थापन



काठमाडौं । आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ । पशुपतिमा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले आवश्यकताअनुसार गाडीलाई डाइभर्सन गर्न रुटहरु निर्धारण गरिएको हो । गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ।

यस्तै मालवाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामङ्गल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ । बस तथा माइक्रोबस, टेम्पो र मालवाहक गाडीका लागि अलग अलग रुट तोकिएको छ।

ट्राफिक प्रहरीले आजका लागि तोकेको रुट यस्तो छ :

बस तथा माइक्रोबसहरू :

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल हुँदै तिलगङ्गासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने । रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने । कालोपुल हुँदै कपन चल्ने गाडीहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने ।

माइक्रोबस तथा टेम्पोहरू :

सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने । जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने ।

मालवाहक गाडीहरु:

जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्ज तर्फ जाने मालवाहक गाडीहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानु पर्ने । कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह गाडीहरु कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगञ्ज र बौद्ध जाने मालवाहक गाडीहरु गोपीकृष्णहल, कपन, महाङ्काल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने । कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु तीनकुनेसम्म जान सक्नेछन्न् ।

महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु बसुन्धारासम्म पुग्न सक्ने । कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक गाडीहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

यी ठाउँमा गर्न सकिन्छ पार्किङ :

तीलगङ्गा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरूका गाडी । देवउद्यानमा रहेको कोषको कार्यालय र भण्डारखालमा पासवाहक सरकारी र प्रहरीका गाडी । सिफल चौरमा पासवाला गाडी र स्थानीय दर्शनार्थीका गाडी । गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरूका गाडी । वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरुको गाडी, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु ।

प्रतिक्रिया दिनुहोस्