प्रकाशकीय : जिम्मेवार पत्रकारिताको प्रण



काठमाडौं । १ वर्षअघि आजैका दिन एउटा विश्वाससहित प्रतिबद्धता गरेका थियौँ– निष्पक्ष र व्यावसायिक पत्रकारिताबाट आमजनलाई सुसूचित गर्ने दायित्वबाट चुक्दैनौँ । जिम्मेवार पत्रकारिता मात्र देशको समृद्धि, शान्ति तथा स्थिरताका लागि अर्थपूर्ण हुने हाम्रो दृढ विश्वास छ।

पहिलो वार्षिकोत्सव मनाइरहँदा त्यसबेलाको हाम्रो आत्मविश्वास र प्रतिबद्धता अझ ओजिलो बनेको छ। डिजिटल मिडियाप्रति उपभोक्ताको चासो र रुचि बढिरहेका बेला छापा संस्करणमार्फत पाठकमाझ पुग्ने हाम्रो अठोटले १ वर्ष पूरा गरेपछि हामी भन्न सक्ने भएका छौँ– छापा पत्रकारिता बहसमा आएजस्तो दस्तावेजीकरण मात्र होइन, सूचना, विचार र समाज निर्माणको मार्गदर्शकसँगै जनअधिकारका सवालमा खरो उत्रन सक्ने सशक्त माध्यम पनि हो।

केन्द्रबाट स्थानीय भूगोल र नीति नियाल्ने परम्परागत दृष्टिबाट माथि उठेर स्थानीय भूगोल र आवश्यकताका आँखाबाट केन्द्रीय नीति तय हुनुपर्छ भन्ने पक्षमा हामी १ वर्ष निरन्तर लागिरह्यौँ। व्यावसायिकदेखि राजनीतिकसम्मका स्वार्थ समूहबाट बचेर सूचना प्रवाहमा स्वतन्त्र बन्न सक्नु यस अवधिको हाम्रो उपलब्धि ठानेका छौँ । यसलाई हामी भविष्यमा पनि निरन्तरता दिने प्रण गर्दछौँ।

आलोचनात्मक चेतसँगै समाज र राजनीतिलाई मार्गनिर्देश गर्न पर्याप्त बहस गर्ने र पत्रकारितामार्फत सिर्जनात्मक योगदान गर्ने लक्ष्य भेट्ने हाम्रो अबको प्रतिबद्धता हो । यसका लागि हामी समृद्धि र सुशासनका सवालमा सम्झौताहीन छौँ । संविधानले दिशानिर्देश गरेको समाजवाद उन्मुख लक्ष्यमा पुग्न समावेशी लोकतन्त्रलाई मजबुत पर्ने र समुन्नत नेपाल निर्माणमा बहस–पैरवी गर्ने हाम्रो ध्येयप्रति हामी अविचलित छौँ ।

बामे सर्दै गरेका नेपाली छापा माध्यमको संरक्षण र निरन्तरताका लागि राज्यले बनाएका कतिपय कानुनी प्रावधान संशोधन गर्नै पर्ने अवस्था छ। वर्गीकरणका नाममा लगाइएको कानुनी अङ्कुशका कारण भोलिका दिनमा नेपाली छापा माध्यम उठ्नै नसक्ने अवस्थामा पुग्छन् कि भन्ने चिन्ता निजी क्षेत्रसँगै राज्यका नियमनकारी निकायमा पनि हुनै पर्छ।

पहिलो वर्ष पूरा गर्दै गर्दा हामीसँगै हिँड्ने, हामीमाथि विश्वास गर्ने पाठक, विचारक, हाम्रा सहकर्मी, विज्ञापनदाता र शुभेच्छुकप्रति आभारी छौँ । आगामी दिनमा खबरदारीसहित साथको अपेक्षा गर्दै प्रेस स्वतन्त्रता र ‘भुइँमान्छे’का पक्षमा सम्झौताहीन सामग्री पस्कने प्रण गर्दछौँ ।

अमरेश कान्त झा
अध्यक्ष
नेपालटप मिडिया प्रा.लि.

प्रतिक्रिया दिनुहोस्